विराटनगर ।  मोरङको सुन्दरहरैँचा नगरपालिका–१ स्थित हरैँचा बजारमा शुक्रबार बिहान भएको सवारी दुर्घटनामा एक जनाको ज्यान गएपछि क्षेत्र तनावग्रस्त बनेको छ । टिपरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो ।

मोरङ प्रहरीका अनुसार बिहान करिब १०ः५० बजे विराटचोकबाट विराटनगरतर्फ आउँदै गरेको ना १ क ६२७० नम्बरको टिपरले सोही दिशाबाट गइरहेको प्रदेश १–०२–०५३ प ७०१० नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिएको थियो । ठक्करबाट मोटरसाइकल चालक, सुनसरीको दुहबी नगरपालिका–९ निवासी ४० वर्षीय महमद हासिम मियाँको घटनास्थलमै मृत्यु भएको  प्रहरी प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

दुर्घटनापछि स्थानीयवासीहरू घटनास्थलमा भेला भए । मृतकको शव सडकमै राखेर प्रदर्शन सुरू गरे । भीडले टिपरको तीव्र गति र बेवास्ताका कारण दुर्घटना भएको भन्दै आक्रोश पोखेका छन् । आन्दोलित स्थानीयले सवारी रोक्का गर्दै प्रदर्शन चर्काउँदै लगेका छन् ।

भीड झन आक्रामक हुँदै गएपछि प्रहरीले ठूलो संख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र ट्राफिक प्रहरी परिचालन गरेको छ । भिडले टिपरमा आगजनी गर्ने प्रयाससमेत गरेको जानकारी दिँदै डीएसपी जोशीले भने, ‘टिपरलाई सुरक्षाका बीच घटनास्थलमै सुरक्षित राखिएको छ। भिडलाई नियन्त्रणमा लिन प्रहरी टोली जुटिरहेको छ ।’

प्रदर्शनकारीहरूले मृतकको परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, दुर्घटनामा संलग्न टिपर चालकलाई कडा कारबाही गर्नुपर्ने, तथा टिपर सञ्चालनमा नियन्त्रण गर्नुपर्ने माग अघि सारेका छन्। उनीहरूको आरोप छ कि हरैंचा बजार क्षेत्रमा टिपरहरू तीव्र गतिमा गुड्ने, नियम उल्लंघन गर्ने प्रवृत्ति बढ्दो छ र यसले सर्वसाधारणको ज्यान जोखिममा पारिरहेको छ।