विराटनगर । सार्वजनिक लेखा समितिकी सभापति ऋषिकेश पोखरेलकी श्रीमती अञ्जला कोइरालासहित ६ जनालाई जिल्ला अदालत मोरङले गरेको आदेश बदर गरी थुनामै राखेर अनुसन्धान गर्न माग राख्दै सरकारी वकिलको कार्यालयले उच्च अदालत विराटनगरमा पुनरावेदन दिएका छन् ।
मोरङको धनपालथान गाउँपालिका–४ स्थित उमागौरी सहकारी संस्थाको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरी सहकारीको रकम अपचलन गरेपछि सहकारी ऐन अन्तर्गतको कसूरमा मोरङ अदालतमा दर्ता भएको मुद्दाको बहसपछि तत्कालीन न्यायाधीश उद्धवप्रसाद भट्टराईको इजलासले पुस २४ गते कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो । जिल्ला अदालत मोरङको सोही आदेश बमोजिम २४ पुसमा कोइरालाले १० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएकी थिइन् ।
जिल्ला अदालतमा धरौटी बुझाएको दुई महिनापछि फागुन २५ गते जिल्ला अदालतको आदेश बदर गरी थुनामा राखेर अनुसन्धान गरी पाऊँ भन्दै सरकारी वकिलको कार्यालयले पुनरावेदन निवेदन दिएका हुन् । कोइरालासहित रङ्गेली–२ का ४३ वर्षीय सन्तलाल खवास, सोही ठाउँका ४० वर्षीया ज्योति बाँस्कोटा, धनपालथान–६ का ४२ वर्षीय लक्ष्मीदेवी कार्की राजवंशी, सोही ठाउँका ४६ वर्षीय सुमन लोहनी र पूर्व सञ्चालक समिति सदस्य ४३ वर्षीय मनोजकुमार सोनीको हकमा पनि जिल्लाको आदेश बदर गरी थुनामा राखेर पुर्पक्ष गरी पाऊँ भन्दै उच्च अदालतमा निवेदन दर्ता गराएको उच्च अदालत विराटनगरका रजिष्ट्रार जगदीशप्रसाद भट्टले जानकारी दिए । बाँस्कोटा, राजवंशी, लोहनी र सोनीलाई उच्च अदालतले जनही ५–५ लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको थियो ।
‘जिल्ला अदालतबाट भएको बेरितको आदेश बदर गरी निज प्रतिवादीहरूलाई मुद्दा पुर्पक्षका लागि थुनामा राख्ने आदेश गरी पाउन सम्मानित अदालतमा समक्ष सादर अनुरोध गरिन्छ’–वादी नेपाल सरकारको तर्फबाट पैरवी गर्ने उच्च अदालत विराटनगरका उपन्यायाधीवक्ता लेखनाथ ढकालले दिएको निवेदनमा उल्लेख छ । अञ्जलासहित ६ जना प्रतिवादीहरूको हकमा वैशाख २५ गते उच्च अदालत विराटनगरले पेशी तोकेको छ । त्यसदिन गोलाप्रथाबाट इजलास तोकिनेछ । गत मङ्सिर २७ गते सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना प्रकरणमा अञ्जलासहित २६ जनालाई प्रतिवादी बनाएर मोरङ अदालतमा मुद्दा दायर गरेको थियो ।
अदालतले ३ पुसमा उनीसहित २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनले पढाउने विराटनगरको महेन्द्र रात्रि मा.वि.मा बिदा लिएर फरार भएकी थिइन् । विद्यालयमा बिदा लिएर फरार भएको तीन सातापछि पुस २४ गते बिहान १० बजे अदालतमा सुटुक्क उपस्थित भइन् । करिब ढेड घण्टा १ नम्बर इजलासमा इन्कारी बयान दिएपछि थुनछेक बहस सुरु भएको थियो । थुनछेक बहसअगाडि अदालतमा बयान दिँदै अञ्जलाले कुनै दायित्व आफूसँग नरहने गरी सहकारीको सञ्चालक समितिबाट राजीनामा दिएको तथा सञ्चालक समितिको कुनै पनि माइन्युटमा हस्ताक्षर नगरेको दाबी गरेको आदेशमा उल्लेख छ । सहकारीबाट राजीनामा दिँदा कुनै दायित्व नरहने गरी प्रतिवादी अञ्जालाले राजीनामा दिएकोले थुनामा राखेर पुर्पक्ष गर्नुपर्ने नदेखिएको आदेशमा उल्लेख छ ।
अञ्जलाको तर्फबाट बहस गर्ने ९ जना वरिष्ठ अधिवक्ता र ११ जना अधिवक्ताहरूले बहस गरेका थिए । सहकारी ठगी मुद्दामा सहकारी अध्यक्ष शम्भुप्रसाद रौनियार र धनपालथान–४ का पूर्व वडाध्यक्ष रोशन राजवंशी पुर्पक्षको लागि कारागार चलान भएका छन् । अदालतमा उपस्थित भएका अन्य धरौटीमा छुटेका छन् । यो मुद्दामा अझै एक दर्जन बढी फरार रहेका छन् ।
दायर भएको अभियोग पत्रअनुसार प्रतिवादीहरूले बचतकर्ताहरूले लिने गरेको ऋणमा हेरफेर गरी पूरा ऋण प्रवाह नगरेको उल्लेख छ । उनीहरूलाई बढीमा ८ वर्ष कैद सजाय र हिनामिना भएको बिगो रकम असुल गर्नुपर्ने माग गरिएको छ । उमागौरी कृषि सहकारीमा ८ हजार ८ सय ४२ जना शेयरसदस्य थिए । शेयर बापत ३ करोड ८ लाख ९० हजार रहेको खुलाइएको छ । सहकारीमा ७ सय ७ जना ऋणीहरूका नाममा २४ करोड ३० लाख २२ हजार ८ सय रुपैयाँ ऋण परिचालन भएको उल्लेख छ । सहकारी अहिले बन्द छ ।
अध्यक्षसहित पाँचजनाले मागे साधारण तारेख
अञ्जला कोइराला र उमागौरी बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष शम्भूप्रसाद रौनियारसहित पाँचजनाले जिल्ला अदालत मोरङको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्दै पुनरावेदन गरेका छन् । उच्च अदालत विराटनगरमा पुनरावेदन गर्ने रोशन राजवंशी, ज्योति बाँस्कोटा र सन्तलाल खवास रहेका छन् ।
जिल्ला अदालत मोरङका तत्कालीन न्यायाधीश अरुणकुमार झाको इजलासले सहकारीको अध्यक्ष शम्भुप्रसाद रौनियारलाई माघ २० गते पुर्पक्षको लागि थुनामा पठाउने आदेश गरेको थियो । पुनरावेदन गर्ने अन्यको हकमा भने धरौटी रकम तोकेको छ । जिल्लाको आदेश बदर गरी साधारण तारेखमा रिहा गर्नुपर्ने माग राख्दै अञ्जलाले फागुन १५ गते, रोशन राजवंशीले माघ ९ गते, सहकारी अध्यक्ष रौनियारले माघ २४ गते, ज्योतिले माघ २१ गते र खवासले पुस २६ गते पुनरावेदन गरेका थिए ।