भद्रपुर । उच्च अदालत विराटनगरको इलाम इजलासले २० लाख रुपैयाँ धरौटी लिएर बिर्तामोडका पूर्व नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई छोड्न आदेश दिएको छ ।
घरेलु कामका लागि राखिएकी बालिकामाथि जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका शिवाकोटीलाई न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले बिहीबार सो आदेश दिएको हो । उच्चको आदेशपछि शिवाकोटी आइतबार थुनामुक्त हुने भएका छन् । बिहीबार कागजपत्र मिलाउन समय नपुगेको, शुक्रबार कानुन दिवस र शनिबार बिदा परेकाले आइतबार थुनामुक्त हुने शिवाकोटीका तर्फबाट वकालत गर्दै आएका कानून व्यवसायी अशोक पोखरेलले जानकारी दिए ।
गत पुस २२ गते झापा जिल्ला अदालतले शिवाकोटीलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भए पनि शिवाकोटी ५ महिनादेखि बिर्तामोडको बीएन्डसी अस्पतालमै रहेका छन् । त्यसअघि २४ मङ्सिरमा पक्राउ परेदेखि नै शिवाकोटी अस्पतालमा बस्दै आएका छन् । उनी पक्राउ परे पनि एक दिन प्रहरी हिरासत बसेनन् । जिल्ला अदालतले उनको स्वास्थ्य अबस्था ख्याल गर्न आदेश दिएपछि उनी एकदिन पनि कारागार गएनन् । जिल्ला अदालतको आदेशविरुद्ध शिवाकोटीले पुस अन्तिममा बाहिरै बसेर मुद्दा लड्न पाउनेगरी उच्चमा पुनरावेदन गरेका थिए ।
उच्च अदालतको सो आदेशप्रति पीडित बालिकाको परिवारले आपत्ति जनाएका छन् । उनीहरूले बलात्कारजस्तो जघन्य अपराधका अपराधीलाई न्यायालयले उन्मुक्ति दिनु उचित नभएको बताउँदै त्यस आदेशविरुद्ध माथिल्लो निकायमा जाने प्रतिक्रिया दिएका छन् । पूर्वी सीमा नाका काँकरभिट्टाबाट उद्धार गरिएकी १५ वर्षीया बालिकाको बयानका आधारमा प्रहरीले शिवाकोटीलाई गत मङ्सिर २४ गते पक्राउ गरेको थियो । सीमामा रहेर चेलिबेटी बेचबिखनविरुद्ध काम गरिरहेको संस्थाले शङ्कास्पद लागेर बालिकालाई सोधपुछ गरेको थियो । त्यसक्रममा उनले बिर्तामोड नगरपालिकाका पूर्व प्रमुख शिवाकोटीको घरमा बस्ने गरेको तर, पटक–पटक करणी गरेपछि भागेर हिँडेको बताएकी थिइन् ।
कलेज ड्रेसमै रहेकी उनले शिवाकोटीबारे बताएपछि संस्थाले इलाका प्रहरी कार्यालय धुलाबारी लगेको थियो । त्यहाँ महिला प्रहरीसँग पनि उनले त्यही अनुसारको बयान दिएपछि इलाका प्रहरी कार्यालय बिर्तामोड ल्याइएको थियो । बुबाआमा नभएका पीडितलाई घरको काम गरिदिने र पढाइदिने शर्तमा शिवाकोटीले घरेलु कामदारका रूपमा राखेका थिए । घरमा रहेका बेला करणी गरेको पीडितको प्रारम्भिक बयान थियो । त्यसपछि इलाका प्रहरी कार्यालय बिर्तामोडले उनलाई पक्राउ गरेको थियो । शिवाकोटी २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा (एमाले) बाट बिर्तामोड नगरपालिकाको प्रमुखमा निर्वाचित भएका थिए ।