धरान।धरानमा मिटर ब्याजको नाममा महिलाहरूमाथि ठगी र मानसिक यातना दिनेसम्मका घटना दिनानु दिन बढ्न थालेको पाइएको छ । पछिल्लो समय सतहमा आएका घटनाले १३ जना महिलाहरू मिटर ब्याजको सञ्जालमा फसेर आर्थिक र मानसिकरूपले मर्कामा परेको तथ्य खुलेको छ । ठगीको आरोपमा संलग्न धरान –१० की रीता श्रेष्ठविरुद्ध इलाका प्रहरी कार्यालय धरानमा उजुरीसमेत परेको छ । महिलाहरूको पैसा लिएर उनी हाल फरार रहेको पीडितहरूको भनाइ छ ।
शुक्रबार धरान–११ मा रहेको सुनौलो सक्षम महिला समूहको आयोजनामा पीडित महिलाहरूले पत्रकार सम्मेलन गर्दै आफूहरू वर्षौंदेखि ठगिएको सार्वजनिक गरेका छन् । उनीहरूका अनुसार रीता श्रेष्ठले एउटाबाट ऋण लिएर अर्को व्यक्तिमा लगानी गर्छु भन्दै लोभ देखाएर रकम उठाउने, त्यसपछि ब्याजका नाममा रकम अस्वभाविक रूपमा बढाउँदै जाने, अन्ततः रकम फिर्ता माग्दा धम्की दिनेजस्ता क्रियाकलाप गर्दै आएको पीडितहरूले बताएका छन् ।
रीता श्रेष्ठ र उनका श्रीमान् सुधीर श्रेष्ठ मिलेर ठगी गरेको उनीहरूको भनाइ छ । श्रीमान् भने गत चैतमा मृत्यु भएको बताइएको छ ।
धरान–१८ की ज्ञानपञ्च गुरुङले २०७५ सालमा रीता श्रेष्ठबाट ६० हजार रुपैयाँ ऋण लिएकी थिइन् । महिनैपिच्छे ब्याज तिर्दै जाँदा पनि ऋण सकिनुको साटो अझै २ लाख पुगेको भन्दै धम्की आइरहने गरेको उनको भनाइ छ। उनले सुन र जमिन धितो राखेर दिएको ७ लाख नगद र २ लाख बराबरको सुनको सट्टा अहिले ६५ हजार मात्र फिर्ता पाएको उनले पत्रकार सम्मेलनमा बताइन् ।
‘पैसा माग्दा उल्टै म झुण्डिएर मर्छु, तेरो टर्चरले भनेर मानसिक तनाव दिन थालिन्’–गुरुङले पीडा पोखिन् । रीताले सोझासिधा महिलाहरूबाट ब्याजको प्रलोभनमा पारेर पैसा उठाउने र अन्य व्यक्तिहरूलाई महँगो ब्याजमा पैसा लगाउने गरेको ती महिलाहरूले पत्रकार सम्मेलनमा रहस्य खुलाए ।
रीता श्रेष्ठबाट पीडितहरू धरान–९ की अर्पणा श्रेष्ठ, धरान–१९ की पदमकुमारी लिम्बू, धरान–८ की समिक्षा बस्नेत, धरान–१० की सुरेखा लिम्बू, धरान–१३ की शिला प्रधान, धरान–१९ की सरिता लिम्बू, कीर्तिमाया राई, कौशीला लिम्बू, धरान–१० की कृष्णकला मादेन, धरान–१५ की अम्विका श्रेष्ठ, रुमादेवी विश्वकर्मा, गीतादेवी निरौला श्रेष्ठलगायत छन् ।
रीता श्रेष्ठले एक लाखको ऋण चुक्ता भएपछि पनि ५ लाख बाँकी देखाएर धम्की दिने र नक्कली हिसाब देखाएर ठगी गरेको उनीहरूको भनाइ छ । उनीहरूले आफूलाई ठगी गरेको भन्ने लागेपछि यति बेला आफ्नो रकम माग गर्दा फोन अफ गरेर फरार भएको पीडितहरूले बताएका छन् ।
पीडित महिलाहरूले इलाका प्रहरी कार्यालय धरानमा उजुरी दिँदै रीता श्रेष्ठलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउन माग गरेका छन् । शुक्रबार उनीहरूले सामूहिकरूपमा उजुरी दिएका हुन् । पीडितहरूलाई रीता श्रेष्ठले विभिन्न बहाना र भावनात्मक प्रवृत्तिले प्रभावित पार्दै नगद, बैङ्क ऋण र खाली चेकमा हस्ताक्षर गराएर लेनदेनका नाममा ठगी गरेको बताए।
तर कतिपय पीडित अझै पनि प्रहरीमा उजुरी गर्न डराइरहेका छन् । कोही ‘पैसा नउठ्ला कि ?’ भन्ने डरले चुपचाप सहन बाध्य छन् भने कसैले सामाजिक बदनामीको डरले समस्या लुकाइरहेका छन् । यसले धरानमा मिटर ब्याजको कालो कारोबार मौलाउँदै गएको देखाउँछ ।
कृतिमाया लिम्बूले आपत परेर रीतासँग एक लाख लिएकी थिइन् । तिर्न नसकेपछि दुई लाख भएको थियो तर आफूलाई पाँच लाखको कागज गराएको उनले पत्रकार सम्मेलनमा बताइन् । रीता श्रेष्ठले आफूबाट खाली चेकसमेत लगेको उनले बताइन् ।
खाली चेकमा १० लाखको चेक बाउन्स गराएको उनले बताइन् । सोही कसूरमा प्रहरीमा समेत लगेको उनले बताइन् । रीताले नै बैङ्कमा खाता खोलेर चेक लगेको उनले सुनाइन् । ‘एक लाख ऋण लिएको थिएँ तर कति पैसा बुझाएँ बुझाएँ हिसाबकिताब छैन । अझै पाँचलाख तिर्न बाँकी छ भन्ने गरेकी छे’ कृतिमायाले भनिन्, ‘पैसा तिर्न जाँदा हामी सोझासिधालाई एक्लै आउनू, यसबारे कसैलाई नभन्नू पनि भन्ने गरेकी थिई ।’
बैङ्क तथा वित्तीय संस्थाबाट सहज ऋण पहुँच नहुने कारणले धेरै महिला वैकल्पिक उपायमा निर्भर हुन बाध्य छन् । तर, यस्ता अनौपचारिक वित्तीय प्रणालीले उनीहरूलाई शोषणको चक्रव्यूहमा पारिरहेको छ।
सामाजिक अभियन्ताहरू भन्छन्, ‘मिटर ब्याज एक प्रकारको सङ्गठित आर्थिक अपराध हो। राज्यले यस्ता गैरकानूनी क्रियाकलापमा संलग्न व्यक्तिहरूमाथि कठोर कानूनी कारबाही नगरेसम्म यस्ता पीडाहरू निरन्तर बढ्दै जानेछन् ।’
यता रीताको ठगीधन्दाको विषयमा इप्रका धरानमा उजुरी आएको इप्रका धरानका डिएसपी प्रकाश जवेगुले जानकारी दिएका छन् । ठगी र चेक दिएको विषयमा उजुरी परेको र यस विषयमा अनुसन्धान भइरहेको डिएसपी जवेगुले बताएका छन्।