विराटनगर । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेड, सञ्चालन तथा सुपरिवेक्षण कार्यालय विराटनगर अन्तर्गतका ४२ वटा शाखा कार्यालयहरुको त्रैमासिक समिक्षा गोष्ठी सम्पन्न भएको छ ।

आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक समिक्षा, चौथो त्रैमासिक लक्ष्य निर्धारण तथा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट र वार्षिक कार्ययोजना सम्बन्धी एक दिवसीय गोष्ठी आइतबार विराटनगरमा सम्पन्न भएको हो ।

गोष्ठीको उद्घाटन संस्थाका प्रमुख कार्यकारी अधिकृत श्याम कुमार कटुवालले गरेका हुन् । कार्यक्रमको सभापतित्व सुपरिवेक्षण कार्यालयका प्रमुख गोविन्द प्रसाद ढुङ्गेलले गरे । कार्यक्रम सञ्चालन सहायक प्रबन्धक दिपक खवासले र स्वागत मन्तव्य प्रबन्धक कुमुद मोहन झाले गरे ।

कार्यक्रममा प्रमुख अतिथि कटुवालले ग्रामीण विकास लघुवित्तले देशका दुर्गम तथा ग्रामीण क्षेत्रका जनतालाई लक्षित गरी विना धितो र धितोमा आधारित कर्जा तथा बचत सेवाका साथै सामाजिक उत्तरदायित्व पूरा गर्ने कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताए ।

उक्त कार्यक्रमले संस्थाका आर्थिक, सामाजिक र व्यवस्थापकीय पक्षहरूलाई सुदृढ बनाउने रणनीति तय गर्न मद्दत पुगेको सहभागीहरूले प्रतिक्रिया दिएका छन् ।