धरान । आफ्ना वडामा भएका टोलहरूको विकास निर्माण, प्राकृति विपद्, स्वास्थ्य समस्यालगायत समसामयिक विषयलाई धरान १५ नं. वडा कार्यालयले टोल विकास संस्थाहरूसँग छलफल गरेको छ ।
बिहीबार वडा कार्यालयमा वडामा भएका ४० वटा टोलविकास संस्था (टिएलओ) का पदाधिकारीहरूसँग छलफल गरिएको हो । छलफलमा टोलका समस्या, वडाले गरेका कामको समेत समीक्षा गरिएको वडाध्यक्ष नरेशकुमार इवारमले जानकारी दिए । वडाध्यक्ष इवारमका अनुसार आगामी दिनमा आउने विपद् न्यूनीकरणका लागि प्रत्येक टोलबाट दुईजना सूचक छानिएका छन् ।
यो समय डेङ्गु सङ्क्रमण हुने समय भएकाले प्रत्येक टोलमा लामखुट्टेका लार्भा नष्ट गर्ने, नियन्त्रण गर्ने अभियान चलाउन टोल विकास संस्थालाई जिम्मेवारी दिएको अध्यक्ष इवारमले जानकारी दिए । ‘टोलको विकास, त्यहाँ नागरिकमा आइपर्ने समस्याको समाधान टिएलओले नै गर्छ । त्यसको सहजीकरण वडाले गर्नेछ’ वडाध्यक्ष इवारमले भने, ‘स्थानीय सरकारको जनतासँग प्रत्यक्ष सरोकार राख्ने निकाय टिएलओ भएकाले उनीहरूलाई वडाबाट हामीले जिम्मेवार र जवाफदेही बनाएका छौँ ।’
छलफलमा यही जेठ ३१ गते बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा हुने बृहत् निःशुल्क स्वास्थ्य शिविरमा सहभागिताका लागि सबै टोलवासीलाई सूचना गर्ने जिम्मेवारी पनि टिएलओलाई दिइएको वडा कार्यालयले जनाएको छ । छलफलमा धरान उपमहानगरपालिका कार्यपालिका सदस्य सिर्जना नेपाल, वडा सदस्यहरू रङ्गलाल गिरी, बादल भट्टराई, रचना नेपालीलगायतको सहभागिता रहेको थियो ।