विराटनगर । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) मोरङको अध्यक्षमा जगतबहादुर बस्नेत निर्वाचित भएका छन् ।

विराटनगरमा शुक्रबार राति सम्पन्न १६ औं जिल्ला अधिवेशनबाट १ सय १० मत प्राप्त गर्दै बस्नेत अध्यक्ष निर्वाचित भएका हुन् । निकटतम प्रतिद्वन्द्वी सुरेन्द्र सुवेदीलाई १७ मतान्तरले पराजित गर्दै बस्नेत प्याब्सनको जिल्ला नेतृत्वमा पुगेका छन् ।

अन्तिम मतपरिणाम अनुसार सुुवेदीले ९३ मत ल्याए । बस्नेत र सुवेदी प्यानल नै बनाएर निर्वाचनमा होमिएका थिए । सात जनाको पदाधिकारीमा बस्नेत समूहबाट अध्यक्षसहित तीन जना र सुवेदी समूहबाट वरिष्ठ उपाध्यक्षसहित चार जना निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा मोहन बुढाथोकी निर्वाचित भएका छन् । १ सय ६ मत प्राप्त गर्दै बुढाथोकी वरिष्ठ उपाध्यक्ष निर्वाचित भइरहँदा उनका निकटतम प्रतिद्वन्द्वी उपेन्द्र कँडेलले ९६ मत ल्याएका थिए ।

बुढाथोकी भने अध्यक्षमा पराजित भएका सुवेदीको प्यानलबाट उम्मेदवार बनेका थिए । उपाध्यक्षमा विष्णु डंगोल निर्वाचित भएका छन् । बस्नेत प्यानलका डंगोलले १ सय ४ मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी भूपाल बस्नेतले ९९ मत ल्याए । सचिवमा सुवेदी प्यानलका देवी सिटौला निर्वाचित भएका छन् । उनले १ सय ६ मत ल्याउँदा प्रतिस्पर्धी बस्नेत प्यानलका विकर्ण कार्कीले ९७ मत प्राप्त गरे । कोषाध्यक्षमा मणिराज भट्टराई निर्वाचित भएका छन् । प्रतिस्पर्धी नगेन्द्रप्रसाद ढकाल (विवेक)सँग बराबरी १०१–१०१ मत ल्याएपछि गोलाप्रथाबाट भट्टराई विजयी भएका हुन् । गोलाप्रथाबाट विजय भएका भट्टराई  बस्नेत समूहका हुन् ।

सह–सचिवमा सुवेदी प्यानलका दीपेन्द्र राई (दिपेन) निर्वाचित भएका छन् । राईले १ सय ९ मत प्राप्त गर्दा प्रतिस्पर्धी बस्नेत प्यानलका मनोज रेग्मीले ९२ ल्याए । सह–कोषाध्यक्षमा केदार पौडेल १ सय २२ मतका साथ निर्वाचित भएका छन् । पौडेल सुवेदी प्यानलका उम्मेदवार थिए । उनका प्रतिस्पर्धी बस्नेत प्यानलका जितेन्द्रकुमार दासले ८० मत मात्रै ल्याए ।

प्याब्सन मोरङको सदस्यमा महेन्द्र मण्डल, नन्दलाल मण्डल, तेजबहादुर खत्री, रुद्र थापा, इन्द्रकुमार राई, हिराबहादुर मगर र तिलक राई निर्वाचित भएका छन् । सुवेदी प्यानलबाट नन्दलाल, इन्द्रकुमार, हिराबहादुर र तिलक उम्मेदवार बनेका थिए । प्याब्सनको जिल्ला अध्यक्षमा सुवेदी पराजित भए पनि कार्यसमितिमा उनको प्यानलको स्पष्ट बहुमत छ ।