धरान । ‘इन्स्पेक्टर’ रहेको भन्दै लागूऔषध मुद्दामा अनुसन्धानमा रहेका एक अरोपितलाई छुटाइदिने नाममा आफन्तबाट रकम लिँदै गर्दा एक युवालाई सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । 

सुनसरी इनरुवा नगरपालिका–६ घर बताउने २२ वर्षीय आकाश भनिने विनोद दाहाललाई जिल्ला प्रहरी कार्यालय सुनसरीले १५ हजार रुपैयाँ लिँदै गरेको अवस्थामा आइतबार नियन्त्रणमा लिएको हो । 

उनले इलाका प्रहरी कार्यालय पकलीको हिरासतमा रहेका आरोपित हेमन विश्वकर्मालाई छुटाइदिने भन्दै आमा लीला विश्वकर्मासँग २५ हजार रुपैयाँ लिइसकेको र थप १५ हजार रुपैयाँ लिने क्रममा प्रहरीले नियन्त्रणमा लिन सफल भएको हो । आरोपित विश्वकर्माको लागूऔषधको मुद्दा अनुसन्धानको क्रममा रहेको छ । 

 प्रहरीका अनुसार उनले २५ हजार रुपैयाँ लिइसकेको र थप १५ हजार रुपैयाँ लाग्छ भन्दै रकम मागेको भनी प्रहरीलाई आफन्तबाट सूचना आएपछि पैसा लिँदै गर्दा रामधुनी नगरपालिका–५ लगौना मोडबाट पक्राउ गरिएको हो । उनलाई ठगी कसूरमा सात दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।