धनकुटा । धनकुटाको छथर जोरपाटी गाउँपालिका–२, फलैँचाबाट धनकुटा प्रहरीले हत्या आरोपमा पाँच जनालाई नियन्त्रणमा लिएको छ ।
स्थानीय ३८ वर्षीय खेमबहादुर दर्लामी मगरको हत्याको आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको हो । स्थानीय ३८ वर्षीय खेमबहादुर दर्लामी मगरको वेवारिसे अवस्थामा बिहीबार बिहान शव फेला परेको थियो । मृतकको शरीरका विभिन्न भागमा चोट देखिएको र घटनास्थलको प्रकृतिका आधारमा हत्या गरिएको हुन सक्ने अनुमानसहित प्रहरीले प्रारम्भिक अनुसन्धान अगाडि बढाएको थियो ।
प्रारम्भिक अनुसन्धानको क्रममा प्रहरीले मृतकको कान्छी श्रीमती जितमाया लिम्बूसहित पाँच जनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ । प्रहरीका अनुसार उनको १६ वर्षीय नाबालक छोरा, १९ वर्षीय ईन्द्रबहादुर तामाङ, ३२ वर्षीय चेतुलाल मगर र ३१ वर्षीय दाछिरी शेर्पालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी ओमप्रकाश खनालले जानकारी दिए ।
‘शवको प्रकृति हेर्दा शरीरमा चोटपटक लागेको र घाँटीमा डामसमेत रहेकोले शङ्कास्पद पाइयो’ उनले भने, ‘कर्तव्य गरी हत्या गरेको हुन सक्ने भएकोले पाँच जनालाई नियन्त्रणमा लिइएको छ ।’ उनीहरूलाई जोरपाटी र धनकुटा बजारबाट नियन्त्रणमा लिई अनुसन्धान प्रक्रियाअघि बढाइएको जनाएको छ ।
प्रारम्भिक अनुसन्धानमा मृतक खेमबहादुरले पत्नी जितमायालाई दिनहुँजसो कुटपिट र घरेलु हिंसा गर्ने गरेकोले प्रतिशोधमा हत्या गरिएको हुन सक्ने प्रहरीको अनुमान छ । गत बुधबार अपरान्हसमेत कुटपिट गरेपछि कान्छी श्रीमतीसहितले बाँसको लट्ठीले पेट, ढाँडलगायत विभिन्न स्थानमा प्रहार गरी घाँटी थिचेर हत्या गरेको हुनसक्ने प्रहरीको भनाइ छ ।
अचेत अवस्थामा घरबाट करिब दुई सय मिटर पर घिसार्दै लगेर बाटोमाथि चौतारोनजिक छोडी फरार भएको सूचनाका आधारमा संलग्न व्यक्तिहरूलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । घटनास्थलबाट लठ्ठीलगायत सामग्री बरामत भएको जनाइएको छ । घटनाबारे थप अनुसन्धान भैरहेको प्रहरीले उल्लेख गरेको छ । घटना पछि मगरको शवलाई पोस्टमार्टमको लागि जिल्ला अस्पताल धनकुटा ल्याइएको थियो । शवको शुक्रबार पोस्टमार्टम गरिएको छ ।