धरान । सरकारले ‘नो केबलकार समूह’ लाई फेरि वार्ताका लागि बोलाएको छ ।
गृह मन्त्रालयले गठन गरेको वार्ता समितिले पाथीभरा मन्दिर क्षेत्रमा पुग्नका लागि निर्माण गर्न लागिएको केबलकारको विरोध गर्दै आन्दोलित समूहलाई शुक्रबार वार्ताका लागि बोलाएको हो । वार्ता समितिका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईले मुक्कुमलुङ ताङसेःप चुम्भो र मुक्कुमलुङ अन्तरदलीय सङ्घर्ष समिति ताप्लेजुङलाई सम्बोधन गरी वार्ताका लागि आह्वान गरेका हुन् । यसअघि नो केबलकार समूहको आन्दोलनलाई सहजीकरण गर्न बनेको प्राज्ञ अम्बर तुम्याहाङको संयोजकत्वमा गठित समितिसँग गत माघ २२ गते वार्ता गरेको थियो ।
उक्त समितिसँगको वार्ताबाट माघ २७ गते मन्त्रिस्तरीय समितिसँग वार्ता गर्ने मिति तय भएको थियो र आन्दोलन स्थगित भएको थियो । तर, माघ २७ गते मन्त्रिस्तरीय समिति नभई मन्त्रालयका सहसचिव भट्टराईकै संयोजकत्वमा बनेको समिति वार्ताका लागि आए पछि स्थगित आन्दोलन अगाडि बढेको थियो ।
वार्ताका लागि ताप्लेजुङका स्थानीय प्रतिनिधिलाई पनि आमन्त्रण गरिएको छ । उक्त आह्वान गरिएको पत्रमा माघ २२ गतेदेखि नै निरन्तर वार्ता भइरहेको स्मरण गराएको छ । पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा उत्पन्न समस्या र विवादलाई वार्ता साथै संवादको माध्यमबाट शान्तिपूर्ण तरिकाले समाधान गर्नुपर्ने जनाएको छ ।
पत्रमा भनिएको छ, ‘आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायका स्थानीय मागका सम्बन्धमा स्थानीय सरोकारवालासँग वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्ने विषयमा वार्ताका लागि ताप्लेजुङ जिल्लाका स्थानीय प्रतिनिधिहरूलाई आमन्त्रण गर्दछु ।’ समूहलाई यसअघि पनि तीन पटक वार्ता गर्नका लागि आह्वान गरिसकेको प्राज्ञ अम्बर तुम्याहाङले जानकारी दिए । तर, यसअघिका वार्ताहरू औपचारिकता मात्रै पूरा गर्ने उद्देश्य रहेकाले यसपटकको वार्ता फलदायी बन्नेमा शङ्का रहेको उनले फोनमार्फत जानकारी दिए ।
आन्दोलनरत समूहले भने मन्त्रिस्तरीय वार्ता समितिसँग मात्रै छलफल गर्ने जनाउँदै आएको छ । समूहले राजनीतिक मुद्दा भइसकेकाले पनि राजनीतिक सहमतिका लागि मन्त्रिस्तरीय वार्ताको आवश्यकता रहेको आन्दोरतरत समूहले जनाउँदै आएका छन् ।
त्यस्तै आन्दोलनको क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्ने, निर्माण कार्य बन्द गर्न, पाथीभरा क्षेत्रबाट सशस्त्र र जनपद प्रहरी फिर्ता हुनुपर्ने माग गर्दै आएका छन् । प्रहरीले चलाएको गोलीका कारण आन्दोलनरत पक्षधरका पाँच जना घाइते भएका थिए भने त्यसमध्ये तीन जना गम्भीर घाइते भई उनीहरूको काठमाडौँमै उपचार भइरहेको थियो । हाल प्रहरीले १८ जना विरुद्ध मुद्दा चलाएको आन्दोलरत पक्षले जनाएको छ ।