नेपालमा फेरि एकपटक सरकार फेरिएको छ, गत साउन १८ मा । २००७ सालपछि कुनै पनि सरकारले ५ वर्षे अवधि पूरा गर्न पाएका छैनन् । सरकार ढलेका छन् वा भनौँ ढालिएका छन् । २०४६ सालको परिवर्तनपछि गिरिजाप्रसाद कोइरालाको प्रथम प्रधानमन्त्रीत्व कालमा बाहेक कुनै एउटा पार्टीले बहुमत प्राप्त गरेको छैन । यो अवधिमा मनमोहन अधिकारीको ९ महिने साशनकालबाहेक अन्य सबै सरकार गठबन्धनका सरकार बने । गठबन्धनको सरकार बन्नु एउटा स्वाभाविक प्रक्रिया हो । आज पनि धेरै मुलुकहरु भारत तथा युरोपियन युनियनका करीब २० वटा देश र अन्य धेरै देशमा गठबन्धन सरकार छन् । हामीकहाँ झन् माथि उक्लिएर राष्ट्रिय सहमतिको कुरा गरिन्छ जुन सुन्दा र पढ्दा राम्रो लाग्छ । प्रयोगमा भने अत्यन्तै गाह्रो र दुर्लभ हुन जान्छ । त्यसकारण अवस्थाअनुसार बढीभन्दा बढी पार्टीलाई समाहित गरेर गठबन्धन सरकार निर्माण गर्नु प्रायः दलहरुको उद्देश्य हुन्छ । नेपालको संविधान २०७२ ले निर्वाचन प्रणालीबारे स्पष्ट उल्लेख गरेको छ । हामी समानुपातिक र प्रत्यक्ष निर्वाचन प्रणालीबाट पार्टी र नेता छान्दैछौँ । यी दुवै प्रणालीका आ–आफ्नै फाइदा वा बेफाइदा छन् जुन छुट्टै बहसको विषय हो । हामीले थ्रेसहोल्ड राख्न सकेनौँ । पार्टी खोल्ने प्रावधानहरुसमेत अत्यन्तै सरल छन् । त्यसकारणले गर्दा साना दलहरु बढ्दै जाने र ठूला दलले बहुमत ल्याउने सम्भावना धेरै कम छ । यस अवस्थामा गठबन्धन सरकार निर्माण हुन्छन् । नेपालमा भर्खरै संविधान जारी भएको छ । संविधान जारीपछि देशको करीब एक तिहाइ भू–भाग विद्रोहमा छ । नयाँ संविधानमा लेखिएका मूल विषयहरु सङ्घीयता, धर्मनिरपेक्षता र गणतन्त्रप्रति नै विरोध जनाउँदै विभिन्न सङ्गठनहरु फरक–फरक ढङ्गले आन्दोलन गरिरहेका छन् । हामी सङ्क्रमणकालीन अवस्थामा छौँ । यस्तो विषम अवस्थामा राष्ट्रिय समस्या वा सङ्कटहरु समाधान गर्नसमेत सम्भव भएसम्म राष्ट्रिय सहमतिको सरकार नभए अधिकतम दलहरुसहितको गठबन्धनको सरकार निर्माण आवश्यक छ । त्यसकारण राजनैतिक दलहरुले गठबन्धनमा बस्ने र मिलेर काम गर्ने संस्कारको विकास गर्नुपर्दछ । नेपालमा गणतन्त्र स्थापनापछि सातवटा सरकार निर्माण भए । यसबीच सर्वोच्च अदालतका प्रधानन्यायाधीश खिलराज रेग्मीको अध्यक्षतामा गठन भएको सरकारबाहेक अन्य सबै गठबन्धन सरकार हुन् । बहुमत पु¥याएर सरकार निर्माण भए पनि ती कुनै सरकार दुई वर्षसमेत टिक्न सकेनन् । प्रचण्ड नेतृत्वमा पुनः एकपटक गठबन्धनको सरकार निर्माण भएको छ । प्रचण्ड पहिलोपटक प्रधानमन्त्री हुँदा प्रधानसेनापति काण्डमा एमालेले साथ नदिएर उनले प्रधानमन्त्रीको पद छोड्नु प¥यो । यसपटक एमाले सरकारलाई दिएको समर्थन प्रचण्डले कुनै खास मुद्दाविनै फिर्ता लिँदा केपी ओलीले सरकार छोड्नु प¥यो । काङ्ग्रेसको समर्थनमा प्रचण्ड ३९ औँ प्रधानमन्त्रीका रुपमा पुनः प्रधानमन्त्री पदमा पुगेका छन् । गठबन्धनको विघटन ः गणतन्त्र स्थापनापछि काङ्ग्रेस, एमाले र माओवादीबीच शक्तिको दौड चलिरहेको छ । यिनै दलहरुबाट सरकार बनिरहेका छन्, गठबन्धनको सरकार । यद्यपि यी दलबीच असमझदारी बन्दा गठबन्धनहरु विघटन भइरहेका छन् । गठबन्धन किन विघटन भइरहेका छन् ? किन सरकार सधैँ ढलमलमा छन् ? भन्ने विषयमा दलहरुबीच बहस हुनु जरुरी छ । गठबन्धन सरकार निर्माण र सञ्चालनमा धेरै चुनौतीहरु छन् । विशेषतः दलहरु क्षणिक मुद्दा आपूmअनुकूल हुनेबित्तिकै गठबन्धन निर्माणको बाटोमा कुदिहाल्छन् । यो समझदारीले लामो बाटो तय गर्न सक्छ वा सक्दैन भन्ने विषयमा कम विश्लेषण गर्दछन् । त्यसो हुँदा प्रत्येकपटक नयाँ मुद्दामा सहमति नबनेमा यसले बिस्तारै–बिस्तारै मन्दविषले जसरी गठबन्धनलाई कमजोर बनाउँछ । यति मात्र होइन, हाम्रा नेताहरु आत्मकेन्द्रित छन् । सबै काम आपैmँले गर्नुपर्छ भन्ने सोच्छन् । साथै, सबै कामको जस आपैंmले लिनुपर्छ भन्ने ठान्छन् । हाम्रा नेताहरुको अपरिपक्वता, अनावश्यक महत्वाकाङ्क्षा र राजनैतिक संस्कारको कमीले समेत जनताले अस्थिर सरकार भोग्नु परिरहेको छ । देशभित्रका प्रमुख राजनैतिक शक्तिहरु कमजोर हुँदा देशबाहिरका शक्तिकेन्द्रहरुले समेत अनावश्यक चलखेल गरेको अनुमान लगाइने गरिन्छ । यसले गर्दा दलहरु जहिले पनि बाहिरी शक्तिकेन्द्रको छायामा रहने र सरकार फेरबदल भइरहने दृश्य नेपाली नागरिकले देखिरहेका छन् । गठबन्धनमा रहँदा ठूला दलहरु साना दलप्रति नरम रुपमा प्रस्तुत नहुने र साना दललाई दिइएका जिम्मेवारीमा ठाडो हस्तक्षेप गर्ने परिपाटीसमेत दलहरुभित्र मौलाउँदो विकृति हो । यसले ठूला दलभित्रको मपाइँत्वलाई सतहमा ल्याउँछ । यिनै कारणहरुले गठबन्धनलाई कमजोर पारिरहेको छ । हाम्रा बहुमत प्राप्त सरकारहरु परिवर्तन भइरहेका छन् । अब के ? संविधान कार्यान्वयनको दिशामा हिँड्नुपर्ने र विकासको बहस चल्नुपर्ने समयमा हामी अभैm सङ्क्रमणकालीन राजनैतिक दृश्यको छायामा परिरहेका छौँ । सबै किसिमका विकासहरु राजनैतिक, सामाजिक, सांस्कृतिक, मानवीय र आर्थिक विकासको कडी स्थिर सरकार र स्वस्थ राजनीति हो । स्थिर सरकार र सभ्य राजनीति नभएसम्म हाम्रा मुद्दाहरु जहाँका त्यहीँ रहन्छन् । अबको सरोकार कसरी स्थिर सरकार बनाउने भन्ने हो । हामीलाई थाहा छ– स्थिर सरकारको लागि बहुमत प्राप्त पार्टी हुनुपर्छ । हाम्रा राजनैतिक दलहरुले संविधान घोषणा गरे तर केही प्वालहरु छोडे । जस्तोः थ्रेसहोल्ड राखेनन् । प्रत्यक्ष निर्वाचित कार्यकारी हुने व्यवस्था गर्न सकेनन् र मिश्रित निर्वाचन प्रणाली राखे । यसले बहुमत प्राप्त सरकार हेर्ने जनताको धोको पुग्न केही हदसम्म गाह्रो छ । हाम्रा दलहरुले ठूला दलले पाएको मतको सम्मान गर्दै अर्को निर्वाचनसम्म पर्खने र आपूmलाई प्रमाणित गर्ने परिपाटीको विकास गरेर लोकतान्त्रिक मान्यताको पक्षमा आपूmलाई उभ्याउन सकून् । सबै दलहरुमा यो राजनैतिक नैतिकता हुनुपर्छ । त्यसो नहुँदा गठबन्धन सरकार निर्माण हुन्छन् । यति बेला गठबन्धनमा बस्ने दलहरुले अब जवाफदेहीपूर्ण ढङ्गले चल्नुपर्दछ । गठबन्धन दलहरुले आधारभूत मान्यताहरुलाई पालना गर्नुपर्छ । जहिलेसुकै दलहरुले गठबन्धन छोड्न तयार हुँदा दलहरु स्थिर सरकार चाहने जनताप्रति जवाफदेही हुनुपर्छ कि पर्दैन ? यो प्रश्नको उत्तर दलहरुले दिनुपर्छ । दलहरुले जहिले पनि आपूmअनुकूल परिस्थितिलाई व्याख्या गर्ने परिपाटी बन्द गर्नुपर्छ । टिममा बसेर काम गर्ने संस्कारको विकास हुनुपर्छ । मैले नै सबै गर्ने होइन, अरुले गर्दा हामीले सहयोग गर्नुपर्छ भन्ने विषयमा दलहरु संवेदनशील भएमा असल राजनैतिक संस्कार देखिन्छ । दलगत स्वार्थभन्दा राष्ट्रिय स्वार्थको महत्व हेक्का राखेर दलहरु अघि बढून् भन्ने जनता चाहन्छन् ।