बिश्वमा सडक यातायातको थालनीसँगै शुरू भएको सडक दुर्घटना सडकमा गुड्ने यातायातका साधनको गतिमा वृद्धिसँगै बढ्दै गएको छ । सडक सञ्जालको विकाससँगै दुर्घटना विश्वभरि नै हुन्छन् । यसलाई पूर्ण रूपमा रोक्न सम्भव छैन । विश्वमा वर्षेनी लाखौँ व्यक्तिले सडक दुर्घटनामा ज्यान गुमाउँछन् । सडक दुर्घटना विश्वभरि नै हुने भए पनि बढी सडक सञ्जाल र सवारी साधनको अत्यधिक घनत्व रहेको युरोप र उत्तरी अमेरिकाभन्दा कम सडक सञ्जाल र सवारी साधनको कम घनत्व रहेको एशिया, अफ्रिका, दक्षिण अमेरिकामा सवारी दुर्घटनाको अनुपात निकै बढी रहेको छ । सन् २०१३ को विश्व तथ्याङ्कलाई हेर्ने हो भने अमेरिकामा प्रतिलाख जनसङ्ख्यामा दुर्घटना अनुपात १५.९ रहेको छ भने युरोप र एशियामा क्रमशः ९.३ र १७ रहेको छ । त्यसैगरी, प्रतिलाख सवारी साधनमा यो अनुपात अमेरिका, युरोप र एशियाका लागि क्रमशः ३३, १९ र १०१ रहेको छ । यसरी हेर्दा प्रतिलाख जनसङ्ख्या दुर्घटना अनुपातभन्दा पनि सवारी साधन दुर्घटना अनुपात अमेरिका र युरोपमा भन्दा एशियामा निकै बढी रहेको तथ्याङ्कहरूले देखाएका छन् । जनसङ्ख्या अनुपातमा धेरै फरक नदेखिएको कारण एशियामा जनसङ्ख्याको अनुपातमा सवारी साधन कम भएकोले हुन सक्छ । देशको कुरा गर्दा संयुक्त राज्य अमेरिका र बेलायतमा जनसङ्ख्याको दुर्घटना अनुपात प्रतिलाखमा क्रमशः १०.६ र २.९ रहेको छ । यही अनुपात दक्षिण एशियाका देशहरू भारत, पाकिस्तान, बङ्लादेश, भुटान, श्रीलङ्का र नेपालमा भने क्रमशः १६.६, १४.२, १३.६, १५.१, १७.४ र १७ रहेको छ । त्यसैगरी, सवारी साधन सङ्ख्याको अनुपातमा प्रतिलाख सवारी साधनमा भारत, पाकिस्तान, बङ्लादेश, भुटान, श्रीलङ्का र नेपालमा भने क्रमशः १३०.१, २८३.९, १०२०.६, १६७.२, ७०.९, र ३९९.८ रहेको छ । यसरी माथिका तथ्याङ्कहरूलाई केलाउने हो भने प्रतिलाख सवारी साधनमा अमेरिका र युरोपको भन्दा एशियामा कैयौँ गुणा बढी छ । जनसङ्ख्याको हिसाबले दुर्घटना अनुपातमा कम फरक देखिएको कारण एशियामा जनसङ्ख्याको अनुपातमा सवारी साधनको कम उपलब्धता हो । दक्षिण एशियाली देशहरूलाई हेर्ने हो भने पनि सबैभन्दा कम सवारी दुर्घटना अनुपात श्रीलङ्कामा प्रतिलाख ७०.९ र सबैभन्दा बढी बङ्लादेशमा १०२.६ रहेको छ । सबैभन्दा धेरै जनसङ्ख्या र सवारी साधन रहेको भारतमा भने यो अनुपात १३०.१ रहेको छ । यता नेपालमा भने प्रतिलाख सवारी साधन दुर्घटना अनुपात ३९९.८ रहेको छ, जुन दक्षिण एशियामै दोस्रो ठूलो हो । त्यसैगरी, दुर्घटनामा मारिनेको अनुपात पनि नेपाल दक्षिण एशियामा श्रीलङ्का (प्रतिलाख १७.४) पछिको दोस्रो (प्रतिलाख १७) रहेको छ । नेपाल विश्व र दक्षिण एशियामा पनि उच्च सवारी दुर्घटना अनुपात रहेको देशमा पर्छ । केही दिनअघि मात्र काभ्रेमा भएको बस दुर्घटनामा तीन दर्जन यात्रुको ज्यान गयो भने दर्जनौँ घाइते भए । सो दुर्घटनाको भोलिपल्ट नै बैतडीमा भएको अर्को बस दुर्घटनामा तीनजनाको ज्यान गयो । यी त उदाहण मात्र हुन् । हरेक हप्ता कुनै न कुनै ठूलो दुर्घटनाको समाचार सुन्नु परिरहेको छ । यति धेरै दुर्घटना हुँदा एउटा सवाल टड्कारो रूपमा उभिएको छ, आखिर यति धेरैे दुर्घटनाका लागि जिम्मेवार को ? सरकारले यातायात व्यवसायी र चालक दललाई दोष दिने, व्यवसायी र चालकले बाटोको दुरवस्थालाई दोष दिने, अनि यात्रु चाहिँ दुर्घटनामा परिरहने क्रम जारी नै छ । वास्तवमा माथिका तथ्याङ्कलाई हेर्दा विकसित भनिएका देश अथवा भनौँ, कानूनी व्यवस्था राम्रो भएको, बाटोको अवस्था राम्रो रहेको, अनुगमन तथा कारवाहीको प्रभावकारी व्यवस्था र जिम्मेवार नागरिक रहेका देशहरूमा दुर्घटनाको अनुपात नेपालमा भन्दा निकै कम भएको देखिन्छ । अझ भनौँ, जहाँ जति धेरै व्यवस्थित छ, त्यहाँ त्यति कम दुर्घटना हुने गरेको छ । नेपालका दुर्घटनाहरूलाई केलाएर हेर्दा केही वर्षअगाडि काठमाडौँको चाबहिलमा बसले पैदलयात्री किचेको घटनामा चालकको अनुमतिपत्र नै नक्कली रहेको भेटिएको थियो । अहिले काभ्रेमा भएको दुर्घटनामा चालकको अनुमतिपत्रमाथि त प्रश्न उठेकै छ, साथै ४० सिट क्षमताको बसमा छतमा समेत गरी ८० भन्दा बढी यात्रु सवार रहेको र उकालोमा रहेको बस अचानक ब्याक भएको अर्थात् इन्जिन र ब्रेक दुइटै फेल भएको तथ्य बाहिर आएको छ । बैतडीमा भएको दुर्घटनामा भने साँघुरो र चिप्लो सडकमा अगाडि रहेको अर्को सवारी साधनलाई द्रुत गतिमा ओभरटेक गर्न खोज्दा दुर्घटना भएको देखिएको छ । यी तीनवटा उदाहरणले नेपालमा अत्यधिक मात्रामा हुने दुर्घटनामा नेपाल सरकारका नियामक निकायहरू, सडक पूर्वाधारको अवस्था, व्यवसायी तथा चालकको लापरवाही र यात्रु वा आमनागरिकको चेतनाको कमीसमेत दोषी रहेको स्पष्ट छ । मोटरसाइकल र अन्य निजी सवारी साधनको लाइसेन्स र अन्य कागजपत्र जाँच गर्न र जरिवाना काट्न जति बेला जहाँ पनि शुरू गर्न सक्ने सुरक्षा निकायहरू सार्वजनिक सवारी साधन र तिनका चालकको कागजपत्र जाँच गर्दैनन् । जाँच गरेको भए नक्कली सवारी चालक अनुमतिपत्र भएकाले लामो समयसम्म कसरी सार्वजनिक सवारी साधन चलाइराखे ? स्पष्ट छः या त भ्रष्टाचार भइरहेको छ या त यातायात मजदुरहरू र व्यवसायीहरूको सङ्गठनको अनैतिक दवाबमुनि दबेको छ नियामक निकाय । अर्को समस्या भनेको कुनै व्यवसायी वा चालकलाई कारवाही गर्नबाट रोक्न सम्पूर्ण यातायात व्यवसायी र मजदुरले आन्दोलन र चक्काजामको धम्की दिने गर्छन् । यस प्रकार व्यवसायी र चालकहरूको सङ्गठनात्मक दवाब पनि कारक छ यस्ता दुर्घटनाका लागि । अर्कोतर्पm, व्यसायीहरूले थोत्रा सवारी साधन चलाउनु र समयमा आवश्यक मर्मत–सम्भार नगराउने गरेको कारण पनि दुर्घटनाहरू हुने गरेका छन् । सडकको अवस्था त थाहा भएकै विषय हो । देशको राजधानीमै रहेका ठूला–ठूला खाल्डाहरू त देख्न नसक्ने सरोकारवाला निकायले मोफसलका अन्य सडक देख्ने त कुरै भएन । देशका कतिपय महत्वपूर्ण सडकका ग्रेड र मोडहरू नै ठूला सवारी साधनका लागि उपयुक्त नभए पनि ती सडकमा निर्वाध ठूला सवारी साधन सञ्चालन भएका छन् । नेपालका कतिपय महत्वपूर्ण सडकमा ग्रेड र मोडको डिजाइन नै ठीक नभएको प्राविधिकहरूले बताउने गरेका छन् । दुर्घटनाको अर्को कारण सवारी साधनको क्षमताभन्दा बढी यात्रु बोक्नु हो । यसमा सवारी व्यवसायी, चालक दल र सोभन्दा पनि यात्रुहरू सचेत हुन जरूरी छ । यसमा अझ बढी जिम्मेवारी नियामक निकायहरू अर्थात् सरकारी संयन्त्रकै हो । यसर्थ, नेपालमा अत्यधिक रूपमा हुने सडक दुर्घटनालाई न्यूनीकरण गरी सडक यात्रालाई सुरक्षित बनाउन सरकारी सरोकारवाला निकाय जिम्मेवार हुनुपर्दछ । सडकहरूको नियमित मर्मत, डिजाइन नमिलेका ग्रेड र मोडहरू मिलाउने काम मात्र होइन, नियामक निकायहरूले झारो टार्नेभन्दा पनि सही अर्थमा नियमनको काम गर्नुपर्दछ । अर्कोतर्पm, व्यवसायी र चालकहरूले आप्mनो व्यवसाय र कर्तव्यप्रति जिम्मेवार हुँदै सवारी साधनको नियमित मर्मत–सम्भार गराउने काम गर्नुपर्दछ । साथै, दोषीलाई कारवाही गर्नबाट रोक्न अनावश्यक र अनैतिक आन्दोलन नगरी सडक यातायातलाई सुरक्षित बनाउन सहयोग गर्नुपर्दछ । यात्रुहरूले पनि क्षमताभन्दा बढी यात्रु चढाउने सवारी साधनमा यात्रा गर्नबाट जोगिनुपर्दछ । सबै पक्षको सामूहिक प्रयासले मात्र नेपालको सडक यात्रालाई सुरक्षित बनाउन सकिन्छ । यसका लागि अनुगमनको पनि जरूरी छ । –मधेश दर्पण फिचर सेवा