
नेपाली साहित्यमा नयाँ आयाम नै बोकेर २०३६ साल पछी भित्रिएको विधा हो गजल, जसलाई भित्राउने श्रेय मोतिराम भट्टले पाए । हुनपनि उनले नेपलमा गजलको प्रवेश गराएकै हुन् ।
गजल लेखनको इतिहास लामो छ । नेपालमा गजललाई एउटा छुट्टै विधाको रुपमा मान्यता दिएको अवस्था छैन, कविताको एउटा प्रकार वा अंश मानिएको छ तर यो विषय अहिले आएर विवादित छ । गजलका आफ्नै छुट्टै मान्यता, सिद्धान्त, संरचना र वाचकी भएकोले यसलाई छुट्टै विधाको रुपमा स्विकानुपर्ने अवस्था श्रृजना भएको छ । तर नेपाली भाषा र सहित्यका विविध प्रकासित दस्तावेजमा गजलको अर्थ छुट्टै विधाको रुपमा नरहेकोले सहज स्वीकार्य बन्न सकेको छैन । कतिपयको मत पनि कविताकै अंश हो भन्नेमा रहेको छ ।गजल लेखनमा नेपालीको उतसुकता, सक्रियता ह्वातै बढेको छ ।
पछिल्लो समयमा अत्यन्तै ठूलो संख्यामा गजल लेख्नेहरु अगाडी आएका छन्, गजलमा धेरैको रुची रहनुमा यसको मिठास नै हो । जती जती गजल लेख्नेको संख्या बढ्दै गयो, त्यतीनै अन्योल पनि श्रीजना भएको छ अनुजहरुमा । गजल लेखनमा वर्तमान पूस्ताको अग्रज मानिएका गजलकारहरु विचको गजलीय मत फरक परेको कारण अनुजले अन्योल भोग्नुपरेको छ ।
बुद राना, ललीजन रावल, ज्ञानुवाकार पौडेल, कृष्णहरी बराल, डा.घनस्याम परिश्रमी, देवी पन्थी लगायत नेपाली गजलका साधक मनिएका व्यक्तितवहरु विचको गजल बुझाइ र प्रष्ट्याइ अलग रहनुले गजलाई विवादित पनि बनाएको छ । गजलका ससाना विषयमा फरक मत बन्नु राम्रो हैन ।
यहाँ चर्चा गर्न खोजीएको विषय गजलको इतिहास, विकासक्रम वा लेखन नियम नभई पछिल्लो समयमा पूर्वी नेपालमा भएको गजलीय चहलपहलको विषय हो । विशेष गरी मोरङ्ग जिल्ला अन्तर्गत उर्लाबारीमा भइरहेका गजल सम्बन्धी कार्यक्रम र क्रियाकलाप तथा तिनको प्रभावको विषयलाई यहाँ उठान गर्न खोजिएको छ ।
उर्लाबारी पनि गजल लेखनमा लामो समय देखी साधनारत छ । २०६२ सालमा त गजल मञ्च नै खाडा भएको थियो, तथापी गजल लेखन भने त्यो भन्दा अगाडी नै ससक्त भइसकेको थियो । गजल विधामा उर्लाबारीले गजलमाला पूरस्कार विगत ७ वर्ष देखी वितरण गरिरहेको छ, यस बाट पनि प्रष्ट हुन्छ की, गजलको श्रीवृद्धीमा उर्लाबारी कडा परिश्रम गरिरहेको छ ।
पछिल्लो समय गजलको सिद्धान्त, संरचना तथा श्रीङ्गारमाथि अन्योलता बढ्दै गएको र गजल लेख्नेहरु हतोत्साहित हुने परिस्थीतीलाई चिर्न र सहज बनाउन सामाजिक संजाल तथा साहित्यक जमघटमा बहस र छलफल चलिरहेकै छ । कतिपय विषयमा गुट नै बनेको तितो यथार्थ पनि हाम्रो अगाडी खडा छ । एउटा निश्चीत मानक बनाउन नसक्नु र संयुक्त बहस गरी निश्कर्ष दिन नसक्नु अग्रजहरुको कमजोरी नै हो । जुन कमजोरीको मार नव सर्जकले भोग्नुपरेको छ ।
यिनै गजलको सिद्धान्त, संरचना र श्रीङ्गार मा भएका केही विवादित विषयलाई प्रष्ट पार्न र बुझाउन प्रयास स्वरुप २०७३ भाद्र २५ गते उर्लाबारीमा अन्तरक्रिया कार्यक्रम भएको छ । पछिल्लो समय गजलमा बिषेश रुचि राख्ने उर्लाबारीकै स्वयम स्तम्भकार र कृष्णउदासीको संयोजकत्वमा उक्त कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय गणेश आचार्य आयोजक रहेको उक्त कार्यक्रमको मुख्य उद्येश्य गजलको सिद्धान्त, संरचना र श्रीङ्गारमा रहेका अन्योललाई चिर्नु थियो । गजलको गहिरो अध्ययन गरेका श्रष्ठा शिव प्रणत रेग्मी, लामो समय देखी गजलमा साधनारत, छन्दमा कविता र गजल लेखिरहेका रोहित पराई र श्रीङ्गारिक गजलमा अव्वल सर्जक विवस बलिभद्र कोइरालालाई वक्ता बनाएर गरिएको उक्त अन्तरक्रियाले महत्वपूर्ण निश्कर्ष निकालेको छ । जसले केही हद सम्म भए पनि नेपलाी गजलमा हाल देखिएको विवादलाई न्युनीकरण गरेको छ ।
उपस्थीत सर्जकहरुको प्रश्न र संकलित केही प्रश्नहरुको जवाफ खोज्दै गरिएको बहसबाट निम्नलिखीत बुँदागत निश्कर्ष निकाली सामाजिक संजाल फेसबुक मार्फत सार्बजनिक गरिएको थियो ।
२०७३ भदौ २५ गते उर्लाबारीमा भएको गजलमाथिको अन्तरक्रियाबाट आएको निस्कर्शतः टिपोट गरिएका बुँदाहरु । १) गजल केहो? साहित्यको त्यो सशक्त बिधा हो, जसले जीवन र जगतका अधिकतम बिषयलाई निश्चित नियममा कुनै विशिष्ट शब्द वा अक्षर(काफिया)लाई संरचनाको आधार मानी भाव प्रस्तुत गर्दछ । जुन अरु विधा भन्दा संरचनागत हिसाबले फरक र ससक्त हुन्छ।
– गजल प्रणयभावमा लेखिुनुपर्छ त्यसैले गजल प्रणय प्रश्तुत गरिने माध्यम हो भन्ने पूरानो मान्यता अव सर्वस्वीकार्य र फराकीलो नभएको, गजलले प्रेम मात्र नभएर देश, प्रकृति, राजनीती, जीवनका हरेक भोगाइ सबैलाई समेट्नुपर्छ भन्ने मान्यताको विकास भइसकेको ठहर गरी फरक फरक मतका परिभाषालाई समेटी यस्तो निश्कर्ष निकालिएको छ ।
२) गजलमा 'श्रृङ्गार' केहो? गजलको पृष्ठभुमि तयार नै श्रृङ्गारबाट भएको हो, त्यसकारण गजलमा श्रृङ्गार बढी प्रयोग हुनु स्वभाविक छ । साहित्यमा श्रिङ्गारको अर्थ नग्नता र अश्लीलता नभएर सजावट हो । गजलमा हुने श्रृङ्गार भनेको शालीन शब्दहरुबाट जिवनका हरेक पाटा(बिषय)हरुलाई ब्यक्त गर्नु हो, चाहे ती बिसयहरु यौन मनोबिज्ञानमा केन्द्रित हुन या प्रेमभावका । गजलमा गरिने बिप्रलम्ब श्रिङ्गारलाई पनि शालीन र शिष्ट ढंगले प्रयोग गरिनुपर्छ ।
– पछिल्लो समयमा श्रृङ्गारको नाममा सहित्यमा (विशेष गजलमा) अश्लिलतालाई व्यक्त गर्ने गरिएको पाइएको र यो गलत भएको ठहर गरिएको छ । अशिष्ट शब्दहरु राखेर नारी÷पूरषहरुलाई वर्णन गरिनु, यौनको विषयमा खुलेर लेख्नु (जुन वर्तमान नेपाली समाज, संस्कृती, परम्पराले सजिलै स्विकार गर्दैन र पाच्य ठानीदैन) श्रृङ्गार नभएर विकृती हो, यसले श्रोता र पाठकलाई क्षणिक मनोरन्ज दिए पनि असर भने नकारात्मक बन्न पूग्छ ।
३) काफिया केहो? काफिया गजलको मुटु हो, जसरी मुटु बिनाको शरीरको कल्पना हुदैन, त्यसैगरी काफिया बिनाको गजल पनि हुदैन । पुर्ण काफियामा लेखिने गजल सर्बस्विकार्य र प्राथमिक हुनेछन् । आंशिक र एकाक्षरी काफिया पनि गजलमा स्विकार्य हुनेछन् तर काफिया दोर्होयाएर वा असान्दर्भिक शब्द मिलाएर गजलमा काफियाको रुपमा राख्नु लेखकको कमजोरी ठानिनेछ ।
– पछिल्लो समय गजलमा काफिया विवाद उत्कर्षमा पुगेको छ । पूर्णाक्षरी, आंशिक, एकाक्षरी र श्रुती काफियाहरु विषेष गरी बहसको विषय बन्छन् । कतिपयले पूर्णाक्षरी (सिंगो शब्दमा लेखिने काफिया जस्तै ः तन, मन, धन, घन, बन आदी) लाई मात्र स्किार गर्छन् । अर्को जमात आंशिक (कुनै सिंगो शब्दको केही अक्षर मात्रै काफिया मानिने जस्तै ः तन, मन, गर्धन, जीवन, यहाँ धन र वन आंशिक) र पूर्ण काफिया स्किार गर्छ एकाक्षरीलाई मान्दैन । त्यस्तै अर्को जमात एकाक्षरी पनि काफिया हुन्छ भनेर स्किार गर्छ । काफिया दोहोरिन नहुने र हुने भन्नेहरुको पनि गुट नै तयार छ । उर्लाबारीमा भएको अन्तरक्रियाबाट भने पूर्ण, आंशिक र एकाक्षरी काफिया हुने तर दोहोरीन नहुने निश्कर्ष निकालेको छ ।
४) बहर छन्द र लय के हुन? गजल बहरमै लेखिनु पर्छ र? छन्द “शब्द संगठनको सूत्र” हो, जसमा व्याकरणीय शुद्धता र वाचकिमा कुनै कमजोरी स्विकार्य हुदैन ।
बहर पनि शब्द संगठनको सूत्र त हो, तथापी बहरमा व्याकरणीय शुद्धता अनिवार्य हुन्छ तर वाचकी र गायनमा स्वतन्त्र हुनेछन्, कुनै बन्देज लगाइदैन । लय गजलको महत्त्वपूर्ण अंग हो, गजलहरु लयबद्द हुनु जरुरी छ, गजल गद्य बिधा भएकोले गाउन सकिने हुनुपर्छ । बहरबद्द गजल लयात्मक हुन्छन् । तथापि बहर बिनाको(स्वतन्त्र) गजल पनि पुर्ण संरचना र भावको गाम्भिर्यताको हिसाबले पुर्ण गजल भनेर स्वीकार गर्नुपर्छ ।
५) रदिफ केहो? किन चाहिन्छ? रदिफ गजलको आन्तरिक सौर्न्दर्य हो । यसको उपयुक्त प्रयोग गरेर गजलको भाव र काफियालाई अझबढी प्रभावशाली बनाउन सकिन्छ जुन काफियासँग सान्दर्भिक पनि हुनुपर्छ । रदिफलाई गजलमा अनिवार्य ठानिने छैन ।
६) समग्र नेपाल भरिका गजलको स्तर बराबर छ । आन्चलिकताले लेखन शैली र परिवेश वा बिसय फरक परेता पनि लेखनको स्तर र गाम्भिर्यता बराबर छ । नेपालको पूर्वीक्षेत्र गजलमा पछाडी रहेको छ भन्ने भ्रम पश्चिम नेपालका सर्जकहरुबाट बारबार आइरहेको छ, संख्यात्मक रुपमा केही अगाडी पश्चिम नेपाल भए पनि गजलको गुणत्मकता भने पूर्व र पश्चिम बराबर रहेको ठहर भएको छ । परम्परा र संस्कृती तथा लवजले लेखन शैली र धार फरक भए पनि स्तरीयता भने बराबर छ ।
अन्तरक्रियामा अरु पनि विविध विषयमा छलफल भएको थियो तर मुख्य रुपमा माथी उल्लीखीत बुँदाहरु नै आए । समग्रमा नेपाली गजलमा अहिले चलिरहेको बहस र तर्कहरुलाई एकीतृत गरी केहीहद सम्म सहज बनाएको छ, उक्त कार्यक्रमले । इलाम, झापा, मोरङ्ग, सुनसरी लगायतका लगभग ५० गजलकारहरुको उपस्थितीमा भएको अन्तरक्रियाले गजल सम्बन्धी अरु बहसहरु पनि आवश्यक रहेको र निरन्तर गर्दै जानूपर्ने निश्कर्ष समेत निकालेको छ ।
लेखक उर्लाबारी गजल मञ्चका पुर्व अध्यक्ष हुन् । facebook.com/yubraj.eone