
यति बेला नेपालमा साँझको ७ बज्दा अहिले यो पङ्क्तिकार भने कोरियाको सउलमा राति ११ बजे होटल इन्टरकन्टिनेन्टल क्वेक्सको कोठा नं. १७६५ मा बसेर यो पङ्क्ति लेख्ने प्रयास गरिरहेको छ । यो लेखिसक्दा १२ बज्ने छ । सन्दर्भ ब्लाष्टको २२ औँ वार्षिकोत्सव हो । वार्षिकोत्सव मनाउने बेलामा पङ्क्तिकार देशबाहिर भएको अवस्था पहिलोपटक परेको छ ।
त्यस अर्थमा कम उत्साह भएजस्तो भए पनि धेरै चाहिँ उत्सवमा खुसी साटन पाउँदा खुसी भएको छु र यो उत्सवमा टाढैबाट भए पनि हाम्रा पाठक, विज्ञापनदाता, ब्लाष्टकर्मीहरु र शुभचिन्तकहरुसँग शुभकामना साट्ने र सुख–दुःखका कुराहरु राख्दै नमन गर्ने अवसरलाई गुमाउन चाहिनँ । खुसी यस अर्थमा पनि भइरहेको छ यो पङ्क्तिकार कि उसले विश्वभरिका सय जति पत्रकारहरुको बीचमा दक्षिण एशियाली पत्रकारहरुका तर्पmबाट सहजीकरण गर्ने जिम्मेवारी पनि पाएको छ । यो चानचुने अवसर हैन, यो अवसर त्यसै आएको पनि हैन । यो अवसर पाउनुमा समाज र देशप्रतिको ब्लाष्टको भूमिका र ब्लाष्टलाई जीवनपर्यन्त माया गर्ने पाठक, विज्ञापनदाता, कर्मचारी र शुभचिन्तकहरुको हात छ । त्यसैले यसको श्रेय ब्लाष्टलाई जान्छ । वार्षिकोत्सवको यो घडीमा म नेपालबाट ४१५१ किलोमिटर टाढा कोरियाबाट फेरि सबैलाई नमन गर्न चाहन्छु ।
ब्लाष्टको जन्म नै अप्ठ्यारो परिस्थितिमा भयो जसले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाञ्चलमै हुनुपर्ने र अझ पूर्वाधारयुक्त धरानको पूर्व घोपा क्याम्पमै ल्याउनुपर्ने उद्घोषका साथ समाजका विकृति–विसङ्गति र मैलाहरुलाई सफा गर्न नेपालीको सामाजिक, आर्थिक र राजनीतिक रुपान्तरणमा खेलिरहेको भूमिकालाई पुनः स्मरण मात्र गर्न चाहन्छु किनभने यसबाट अनभिज्ञ कोही पनि हुनुहुन्न । अब पुराना गन्थनलाई छोडेर प्रदेश नं. १ का जनताको भूमिका, प्रदेशको सामाजिक र आर्थिक रुपान्तरण, स्वास्थ्य, शिक्षा, गाँस–बास र कपास, सडक, बत्तीजस्ता आधारभूत आवश्यकताहरुको पूर्ण ग्यारेन्टीको वकालत र नालायक नेता, व्यक्तिहरुको धज्जी उडाउँदै उनीहरुलाई सुध्रिने सन्देशका साथै समृद्ध प्रदेशको खाका बनाउने राजनीतिक, सामाजिक अभियन्ताहरुसँग काँधमा काँध मिलाई त्यसको सकारात्मक सन्देशको प्रवाह गर्नुपर्ने दायित्व ब्लाष्टको काँधमा आएको छ भन्ने महसुस गरेका छौँ । त्यसैअनुरुप अब ब्लाष्टको अभियान अगाडि बढ्ने उद्घोष गर्दै त्यसका लागि अझ हौसला र सुझावको अपेक्षासमेत तपाईंहरुबाट गरेका छौँ ।
मुलुक यतिखेर संस्थागत भ्रष्टाचारको खाडलमा झन्भन्दा झन् फँस्दै गइरहेको छ । ‘आशालाग्दो केटो जेठाजु प¥यो’ भनेजस्तै यसले राम्रो गर्ला कि उसले राम्रो गर्ला भन्दा भन्दै खाडल झन् गहिरो हुँदै गएको छ । अब पनि नेताहरुलाई हेर्ने हाम्रो दृष्टिकोणलाई खार्न सकिएन भने भविष्य अब कता जाला, त्यो सोचौँ र ‘आ.. होस्’ भनेर छोड्ने बानीले स्याल झन् पल्किने रोग बढ्ने कुरालाई हेक्का राख्न यसै पङ्क्तिमार्पmत् अनुरोध गर्दछु । सूचना मात्रै सम्पे्रषण गर्ने काम हो भनेर ब्लाष्ट अब यथास्थितिमा बस्दैन, जिम्मेवार पक्षहरुका सकारात्मक र नकारात्मक दुवै नालीबेली र तथ्याङ्कसमेतको जोहो गर्दै सही बाटोमा हिँड्ने सन्देश र खबरदारीको समेत भूमिका निर्वाह गर्नेछ । विकासको पहिलो शर्त नीति, त्यसपछि त्यसलाई कार्यान्वयनमा ल्याउने नेता र प्राविधिकको अठोट, निस्वार्थ प्रतिवबता अनि त्यसलाई सघाउने अन्य पक्षको होस्टेमा हैंसे नै मूलभूत कुरा हो ।
कोरियाको विकासको कुरा नगरौँ । नजिकैको छिमेकी मुलुक विश्वको दोस्रो ठूलो आर्थिक महाशक्ति चीन र अर्को वार्षिक सरदर ७ प्रतिशतले वृद्धि हासिल गरिरहेको भारतबाट सिक्न सक्यौँ भने पनि हाम्रालागि त्यही ठूलो उपलब्धि हुनेछ र नेपालको समृद्धिको खाका सजिलै तयार गर्न सकिने छ । ब्लाष्ट सधैँ तपाईंको साथमा रहने छ तथा तपाईंको निगरानी र खबरदारीको समेत निरन्तर अपेक्षा गर्दछु ।