shramसर्वोच्च शिखर सगरमाथाको देश, विश्व शान्तिदूत गौतम बुद्ध र वीर गोर्खालीको सानले सिञ्चिएको सुन्दर र प्रकृतिले हराभरा प्यारो मेरो देश नेपाल । अब यी सारा गौरवका विषय इतिहास भइसके तर पनि सम्झँदा भित्रैबाट गौरव महसुस हुन्छ, गर्वले छाती त फुल्छ नै तर अब यस इतिहासका ठूलाठूला कुरा गरेर मात्रै हाम्रो जिन्दगी चलेन, चल्दैन । यसको अर्थ फेरि हाम्रो सबै इतिहास बिर्सौँ भन्ने होइन तर गरिबी र बेरोजगारीका अगाडि यी सबै कुरा गौण हुन्छन्, हुँदा रैछन् भन्ने कुरा करीब चार दशक पहिलासम्म हामीले आर्थिक सहयोग गर्दै आएको राष्ट्र दक्षिण कोरियामा नेपालीका लागि तीन हजार कोटा हुँदा ६० हजारको आवेदन परेबाटै प्रष्ट हुन्छ ।

हामी हाम्रा सारा गौरव तथा सानदार इतिहासलाई तिलाञ्जलि दिन्छौँ जब खाडी र अन्य राष्ट्र जान पासपोर्ट बोकेर लामबद्ध हुन्छौँ, हुन पुग्छौँ । झट्ट हेर्दा हाम्रो देस विकास नहुनु, समृद्ध राष्ट्र नबन्नु, नबनाइनुमा दोष राजनीतिक दल र यसका नेता र नेतृत्वकै देखिन्छ तर दल र नेता मात्र हैन, स्वयम् तपाईं–हामी पनि कम जिम्मेवार छैनौँ यद्यपि राम्रो देशलाई राजनीतिले खाएको भने पक्कै हो । केही पहिले एउटा यस्तो समाचार आयो जुन मैले अनलाइन मिडियामा पढेको थिएँ । एक दिन बेलायती प्रधानमन्त्री पारिवारिक भ्रमणका लागि परिवारसहित कतै जाँदै थिए । पारिवारिक भ्रमण भएकोले उनी निजी सवारी साधनमा गएनन् । भ्रमण टोलीमा पनि परिवारका सदस्य मात्रै थिए । उनी रेल चढ्न स्टेसन पुगे, त्यहाँ मानिसहरु खचाखच थिए ।

एउटा पनि कुर्सी खाली थिएन । देशका प्रधानमन्त्रीले घण्टौँ उभिएर रेलको प्रतीक्षा गरे र भ्रमणमा गए । त्यहाँ न कसैले उनलाई बस्न भने न कसैलाई उनले उठ्न नै भन्न सके । त्यहाँ रेल कुर्ने सबै यात्रु थिए र समान पनि । हाम्रो देशमा भने प्रधानमन्त्री, राष्ट्रपतिज्यूको कतै सवारी हुँदैछ भने घण्टौँ पहिले काठमाडौँका सडक सिल गरिन्छ, खालि गरिन्छ र सवारी चलाइन्छ । त्यसै कारण सर्वसाधारणले घण्टौँ जाममा पर्नुपर्छ । यहाँ ठ्याक्कै बेलायतको जस्तो त म भन्दिनँ तर पनि कम्तीमा सडकै खालि गर्ने परम्परा चाहिँ अन्त्य हुन जरुरी देखिन्छ । हाम्रो देशमा राजनीति यदि हावी भयो भने कुनै दल, नेता, गुट, उपगुट नसमाती न जागीर पाइने न त कुनै काम नै बन्ने । पैसा र पावर जोसँग छ, उसले जे पनि गर्न सक्छ यहाँ । हामीले कैयौँ युग बदल्यौँ चाहे त्यो राणा शासन वा राजतन्त्र नै किन नहोस् । हामीले व्यवस्था बदल्यौँ तर व्यवहार बदलेनौँ, दलीय सर्वोच्चता स्थापित ग¥यौँ तर नागरिक सर्वोच्चता स्थापित गर्न सकेनौँ । विधिको शासन र सुव्यवस्था स्थापित गर्न सकेनौँ ।

अहिले पनि एउटा उखान सान्दर्भिक छ– ‘सानालाई ऐन, ठूलालाई चैन’ आखिर कहिलेसम्म ? सँगै पढेका दुई साथी एउटा आफ्नो मेहनतले एसएलसी पास हुन्छ, अर्को फेल । फेल हुनेले स्वाभाविक हो पढाइ छाड्छ र राजनीतिमा लाग्छ । अर्को मेहनतसाथ पढ्छ र डिग्री गर्छ तर जागीर नपाएर भौँतारिरहेको हुन्छ । उता आपूmसँगै पढेको तर एसएलसी बिग्रिएको साथी मन्त्री हुन्छ र डिग्रीवाला त्यही साथीलाई पीए राख्छ । आखिर खै त योग्यताको कदर यो देशमा ? यो अवस्थाको अन्त्य हुन जरुरी छ कि छैन ? कहिलेसम्म अन्त्य होला त ? यो गहन प्रश्नको उत्तर प्रायः केही समय अभैm अनुत्तरित रहने निश्चित छ । यसको अर्थ सबै नेता अनपढ छन् भन्ने हैन । केही विद्वान्हरु पनि हुनुहुन्छ । म उहाँहरुलाई सम्मान गर्छु तर अक्सर यस्तै हुन्छ यहाँ र भइरहेको पनि छ ।गाउँको एउटा ठिटो पढाइ छाडेर, भए बाबुबाजेको खेत बेचेर नभए ऋण काढेर भए पनि दलाललाई एक–दुई लाख खुवाएर खाडी जान्छ, बेल्चा हान्छ, भाँडा माझ्छ (वा जे गर्छ म सबै श्रमको सम्मान गर्छु) । दुई–चार वर्ष दुःख गर्छ, जसोतसो ऋण तिर्छ, दुई–चार हजार राम्रै भए दुई–चार लाख लिएर गाउँ फर्कन्छ । चट्ट सुटपाइन्ट, टाउकोमाथि कालो चस्मा, कानमा ढेँडी (एयरफोन) लगाएर गीत सुन्छ– ‘कालो चस्मा लाऊ है मैयाँ विशाल बजारको, नगर्नू है सुर्ता मैयाँ दुई–चार हजारको’ र आफ्नै सान, रवाफ देखाउँछ ।

त्यही आपूmले बेचेर गएको खेतमा कुटोकोदालो गरेर बसेको, आफ्नो इमान र स्वाभिमानमा जिएको साथीलाई छाती फुलाएर बिल्ला भिराउँछ– ‘पाखे’ । के यही हो तपाईंको आत्मसम्मान, स्वाभिमान र स्वावलम्बन ?अलिअलि पढेलेखेकाले डिभी भर्छन् र अमेरिका जान्छन् भाँडा माझ्न ।बलियाबाङ्गाले पासपोर्ट बनाउँछौँ र खाडी जान्छौँ बेल्चा हान्न ।बाँकी रहेका लुरेभुरे देशमा बस्छौँ । न बल छ न पढाइ । काम गर्ने न जाँगर छ न जोश छ । खोल्यो फेसबुक र ट्वीटर, गफ लगायो चाहिँदा, नचाहिँदा । गाली ग¥यो दुनियाँ नेतालाई– फलानो यस्तो, चिलानो यस्तो । काम भने सिन्को भाँची छैन अनि कहाँबाट हुन्छ देश विकास ?मेरो अनुमानमा हाम्रा ६० प्रतिशत युवा विदेशमा छन्, १० प्रतिशत बालबच्चा र बुढापाका आश्रित छन् जो काम गर्न सक्दैनन्, १० प्रतिशत सक्रिय राजनीतिमा छन्, १० प्रतिशत युवामा न जोश छ न जाँगर छ । बस्यो सामाजिक सञ्जालमा, छाँट्यो फोस्रा भाषण । बाँकी श्रमजीवी वर्ग छन् जो दैनिक ज्यालादारीमा बाँच्छन् अनि कसरी हुन्छ देश विकास ? हामीले यहाँ कसैको ‘स्वीट्जरल्यान्ड’ हे¥यौँ त कसैको ‘सिङ्गापुर’ र कसैको मेट्रो रेल त कसैको पानीजहाज पनि ! यहाँ कुनै एक दल, कोही नेता वा कसैले भन्दैमा र चाहँदैमा देशको कायापलट हुने अवस्था हैन, छैन र हुन्न पनि ।

देशलाई विकसित र समृद्ध बनाउनु छ भने हरेक नागरिकको मनमनबाट आत्मसम्मान र श्रमको सम्मान गर्न सक्ने खुबी विकसित हुन जरुरी छ । जबसम्म हामीमा श्रमप्रतिको सकारात्मक धारणा र श्रमलाई सम्मान गर्ने खुबी आउँदैन, तबसम्म जसरी धनी बाबुका छोराहरु गाँजा र चुरोटमा लागेर बाबुआमालाई गाली गर्दै रुमल्लिरहेका हुन्छन् । त्यस्तै हामी पनि धनी नेताका गरीब जनता पनि त्यसरी नै नेतालाई गाली गर्दै कतै अनकन्टारमा रुमल्लिरहेका हुन्छौँ । हिजोअस्ति एउटा समाचार आयो– दुईजना कोरियन नागरिक नेपालमा कृषि क्षेत्रमा लगानी गर्न नेपाल आउँदैछन् । एउटाले काठमाडौँमा गाईपालन गर्ने, अर्कोले लमजुङमा तरकारी खेती गर्ने । दुवैमा क्रमशः २५ र १६ जनाले रोजगारी पाउनेछन् । जब कि नेपाल यस्तो देश हो जहाँका नागरिकहरु कोरिया जान तीन हजारको लागि रोजगार कोटा खुल्दा ६० हजारभन्दा बढीले आवेदन दिन्छन् । यी सबै युवा जो नेपालमा केही छैन, केही हुन्न भनी सबै पढाइ, घरगृहस्थी त्यागेर कोरिया जान लालायित छन्, ती सबैलाई यी दुई कोरियालीको यसभन्दा ठूलो चुनौती अरु के हुन सक्छ र ? विदेशमा गएर जे गरे पनि इज्जत हुने, सम्मान हुने आफ्नै देशमा सानो काम ग¥यो भने कसैले देख्यो भने इज्जत जाने कस्तो दरिद्र सोच हाम्रो ? यो सोचलाई हामीले फाल्ने कि नफाल्ने ? फाल्ने भए कहिलेसम्म फाल्ने र नफाल्ने भए किन नफाल्ने ? आम युवामाझ यो प्रश्नको उत्तर देशले खोजिरहेछ, पर्खिरहेछ ।जोश, जाँगर, केही गर्ने आँट र हिम्मत भए आफ्नै देशमा सुन फल्छ, पैसा यहीँ छ । खालि चिन्न सक्नुपर्छ, देख्न सक्नुपर्छ । विदेशमा चाहिँ रुखमै पैसा फल्ने, नेपालमा चाहिँ पत्थर फुटाउँदा पनि नहुनै हैन । जहाँ दृढ सङ्कल्प छ, त्यहाँ विकल्प हुन्छ । जहाँ जोखिम हुन्न, त्यहाँ केही हुन्न । संसारबाटै लगभग एक्लिएको भनौँ वा एक्ल्याइएको देश उत्तर कोरिया जहाँ संयुक्त राष्ट्रसङ्घको नाकाबन्दी भएको वर्षौँ भइसक्यो र पनि उसले विश्वलाई एक्लै चुनौती दिइरहेको छ ।

किन त भन्दा त्यहाँका जनता या भनौँ राष्ट्र हाँक्नेसँग दृढ सङ्कल्प र अठोट छ । हामी भने छ महिनाको भारतको नाकाबन्दीमा त्यत्रो कोलाहल, हाहाकार गर्नुपर्ने । दक्षिण वा उत्तरकै भर पर्नुपर्ने, उनीहरुसँग झुक्नैपर्ने बाध्यता किन त ? किनकि हामी अर्काको भरमा बाँच्ने परजीवी भइसक्यौँ । हामीमा स्वावलम्बन भन्ने छँदै छैन । मानिस ठूलो पदले हैन, इमान्दारीताले महान् हुन्छ । अतः हामीले पहिला आत्मसम्मान, त्यसपछि हरेक श्रमको, श्रमिकको सम्मान गर्न सके अहिलेजस्तो नवजवानलाई विदेश पठाएर लाश स्वीकार्न विवश हुनु पर्दैनथ्यो । कहिले आमाबाबाका काख, श्रीमतीको सिउँदो, लालाबालाले अभिभावक त देशले ऊर्जाशील युवा जनशक्ति गुमाउनुपर्ने थिएन । पैसा यहीँ छ, सुन यहीँ फल्छ, काम यहीँ छ । छैन त केवल हामीमा इच्छाशक्ति । हरेक नागरिकले श्रमको सम्मान गरौँ, केही काम गर्ने सङ्कल्प लिएर घरघरबाट उठौँ । हाम्रा नेताहरुले भनेजस्तो सिङ्गापुर र स्वीट्जरल्यान्ड हैन, समृद्ध र समुन्नत देश नेपाल बन्ने निश्चित छ ।