हिजोआज नेपाल लोकभरि अजङ्गको जीऊ भएका लोकमानकै चर्चा छ । मनुवाहरु लोकमानको हिँडाइ, खवाइ, लवाइ र घुमाइ सबैको चर्चा गरिरहेका छन्, मानौं यो लोकतन्त्र लोकमानकै लागि आएको हो । हाम्रा बाले वेदका मन्त्र घोकेजस्तै चौतारोदेखि चिया पसलसम्म यिनै लोकमानकै चर्चो गरिरहेका छन् ।
लोकले नमानेका लोकमानको इतिहास मैले किन कोट्याउनु र ! सबै मिडियाको खुराक बनेकै छ, मैले त केही ‘लोग’ ले ठानेका लोकले नमानेका लोकमानको महात्म्य मात्र चर्चा गरे पुग्ने भयो । लोकतन्त्र भन्ने व्यवस्थामा लोकमानकै कुरा नगर्नु पनि कसरी ? केही ‘लोग’ ले मानेपछि लोकले मान्नु नपर्ने रहेछ । बडेमानका लोकमानको जय होस् । लोकमानका ख्वामितको जय होस् !
यी लोकमान पनि अचम्मका रहेछन्, आलुको तरकारीजस्तै जता पनि सुहाउने, चिटिक्क ! भाग्यमानी हुन् । यिनी राजाका पनि प्रिय, युवराजका पनि प्रिय र अहिलेका नवयुवराजका झनै प्रिय । हुकुम प्रमाङ्गीबाट फ्याट्ट फड्केर राजाका सेवक लोकमान हुँदाहुँदै लोकतन्त्रपछि त झन् ढुकुटीकै सेवकसम्म बन्न पुगेछन् । यिनको बखान गर्न गाली शिरोमणि र ताली शिरोमणि अनि गाडी शिरोमणिले त सक्दैनन् भने म काली शिरोमणिले के सक्नु र ?
खासमा कुरो के भने काजीदेखि ‘दा’ जीसम्मका प्यारा पहिले पञ्चायतमा पनि प्यारा, बहुदलमा पनि प्यारा, अझ लोकतन्त्रको आन्दोलन दबाउन बडो कष्ट झेल्दा पनि ख्वामितहरुको साझा उम्मेदवार बन्न पाउनु त पुरस्कार पो थियो । उनले यो पुरस्कारको पनि कदर गर्नैपथ्र्यो । व्यक्तिगत रिसईवी भएका अमुक–अमुकहरुलाई भ्रष्टाचार करार गरिदिने, सेतो कपालदेखि लामो कपालसम्मकालाई प्रेमपत्र पठाउने यस्ता झोंकप्रेमी लोकमानज्यूको चर्चा हजार जिभ्रो भएका शेषनागले त गर्न सक्दैनन् भने म बबुरोले के गर्नु र ?
लोकमान महात्म्यलाई मुसा र बिरालोसँग जोडेर व्याख्या गर्ने हो भने रमाइलै होला । लोकतन्त्रपछि पनि धेरै कोट काट्ने मुसाहरुको बिगबिगी भयो, यिनीहरु कहिले छानु काट्ने, कहिले तानु काट्ने त कहिले मानु काट्ने अमुक मुसाहरुले अजङ्गको बिरालो लोकमानलाई आफ्नो हितमा काम गर्नेगरी विशेष दूत बनाएर पठाएकै हो क्यारे !
मुसाका धेरै दुलोहरु देखेका बडेमानका बिरालोरुपी लोकमानले ठूलठूला मुसाहरुलाई एकछत्र धन्सारदेखि संसारसम्म कुटुकुटु काट्दा आँखा चिम्लेर ध्यानमग्न हुँदाभए भन्ने आरोपहरु पनि आएकै हुन् । बिरालोरुपी लोकमानले आपैंmले कति तर चोरे भन्ने कुरा मुसाहरुले कसरी पो मालुम गरून् र !
खासमा यी लोकमानले ठूला मुसाहरुलाई समाउन सक्दैनन्, सक्ने भए समाइसक्थे ।
सबैलाई थाहा छ, मुसाहरुका खास बन्न पुगेका बिरालोरुपी लोकमानले वफादार भएरै ससाना छेपाराहरुलाई आफ्नो दिव्यदृष्टिले शिकार गरिरहेकै हुन् । ढुकुटीको हेरचाह गर्ने जिम्मा पाएका बिरालोरुपी लोकमानले घोर्ले मुसाको शिकार त कसरी गरून् र ! अब मुसाहरुकै निगाहमा ढुकुटी हेर्न पाएका लोकमान म्याउँ म्याउँ गरी केही घरेलु मुसादेखि जङ्गली मुसाको शिकार गर्ने प्रहसन गर्दा मुसाहरुको ठूलो समूह ढाडे बिरालोरुपी लोकमानप्रति क्रोधित भएकै हो । केही मुसाहरुसँग कुरा मिल्यो, केहीसँग बिच्कियो ! फेरि मिल्यो, फेरि बिच्कियो ! हर ! हर ! लोकमानतन्त्र !
जे होस् धन्सार हेर्ने जिम्मा पाएका लोकमानले सन्सार हेर्न तम्सेपछि के गर्नु र ! अति भएपछि खती हुन्छ भन्थे विधि मिच्ने मामलामा लोकमानको ढाडेपन पनि कहाँ चानचुने छ र ?
बिरालो र मुसाको मिल्दैनन् भन्थे मान्छेहरु, तर मुसाकै गर्भबाट जन्मेको बिरालो र मुसाको केमेष्ट्री ठ्याक्कै मिल्ने रहेछ क्यारे यत्तिका दिन त मिलेकै हो नि ! गज्जब छ, खान पाइञ्जेल र स्वार्थ मिलिञ्जेल जतापनि डि. एन. ए. मिल्छ, मिल्ने रहेछ !
होइन भने गोविन्द बाजेले दश पटकसम्म आमरण अनशन गर्दा चुइँक्क नबोल्ने मुसाहरु अकस्मात् कसरी लोकमानलाई महाअभियोग लगाउने अभियानमा सहमत भए । यो सहमतिमा के गुह्य लुकेको छ त्यो त हेर्नै बाँकी छ, तर हिजोआँखा चिम्लेर बसेका लोकतन्त्रका नवयुवराज मुसाहरु एकाएक लोकमानसँग रिसानी हुनुको राज कतै आफ्नै धोती फुस्कने डर भएर हो कि भन्ने पो लाग्या छ यो बबुरोलाई । तर राम्रै नियतले भएको देख्ने सुन्ने मन छ यो बबुरोको ! भोलि बिरालोको ठाउँमा फ्याउरो आउने हो कि भन्ने डर छ, जनतालाई त बाघ पो चाहिएको थियो ।
रायमाझी आयोगले दोषी ठहराएका लोकमानलाई त दण्डित गर्नुपर्ने थियो, मुसाहरुले पुरस्कृत गरे, त्यो के बाध्यता थियो यो त ख्वामितहरुले मुख खोल्दै जालान् । आची गरिसकेपछि दैलो देखेर के काम ! तर मिलेमतोमा जे पनि गर्न उद्दत यी बिरालो र मुसाहरुको मिलनलाई जनता जनार्दनले राम्ररी बुझ्नु पर्ने छ ।
यो देशमा न्याय मरेको धेरै भइसकेको छ । केही मुठ्ठीभर बिरालो र मुसाकै खटनमा देश चलिरहँदा हामी जनताचाहिँ साक्षी बसेर चिच्याइमात्र पो रहेका छौं । अझ पूmटको तानाबाना बुनिरहेका छौं । जे भन्छन् पत्याइरहेका छौं ।
हो ! लोकतन्त्रमा अदालतलाईसम्म लत्याउने लोकमानतन्त्र हावी हुनुहुन्न, तर यही सिलसिलामा धन्सारदेखि संसारमा चलखेल गर्ने लोकतन्त्रका मुसाहरु कुनै बहानामा उम्कने हुन् कि भन्ने पो डर भो बा ! सबै मुसाहरु लोकमानरुपी बिरालोसँगै सती जानुपर्छ, वा पठाउनु पर्छ । अख्तियारमा अब बिरालो हैन हिम्मतवाला बाघले बागडोर सम्हाल्नु पर्छ ।
एउटा बिरालोरुपी लोकमानले भन्दा सयौं गुना बढी लोकतन्त्रका मुसाहरुले देशको छातीमा प्वाल पारेका छन् ।
यी सबै मुसाहरुलाई बिरालोसँगै सती पठाउनुपर्छ वा देश निकाला गर्नुपर्छ तर अफसोच, मुसाहरुको गठबन्धन बलियो भइरहेको छ । तर केही मुसाहरुलाई धर्मसङ्कट छ, न त लोकमानको विरोधमा खुलेर लाग्न सकेका छन् न त समर्थन नै गर्न सकेका छन् । यिनीहरुका लागि लोकमानको मुद्दा नखाउँ त दिनभरिको शिकार, खाउँ त कान्छा बाबुको अनुहार भएको छ ।
तर जनता चाहन्छन्, अति गर्ने लोकमान र खती गर्ने मुसाहरु दुबैलाई ठिक गर्ने घोर्ले बाघको पदार्पण हुनुपर्छ । पर्ख र हेर भनेर च्याँखे थापेर बस्ने लोखर्केहरुको बेलैमा नशबन्दी गरिदिनु पर्छ । बिरालोरुपी लोकमान सती गएको या झन् बलियो भएको खुशी यी लोकतन्त्रका विविध मुसाहरुले मनाउनु हुँदैन । मुसाहरु पनि सँगै सती जानु पर्छ ! यदि यिनीहरु सती गएनन् भने फेरि मुसाहरुकै कुटुकुटु तन्त्र चल्ने छ । बिरालोरुपी लोकमानले जिते भने त झन् मनपरीतन्त्र चल्ने छ !
यो बबुरोलाई बडो चिन्ता लागिरहेछ !!