हाम्रो तिहार ‘‘वलिहाङ तियाहा तङ्नाम’’ संस्कृतिलाई आजको सन्दर्भमा एकात्मक शासनको विरुद्धमा पहिचानको राजनीति, वैकल्पिक महिला पहिचान र भूमिकाको सन्दर्भमा पनि बुझ्न आवश्यक देखिन्छ ।
तिहार:
तिहार पर्वलाई पनि कसैको जीत र हारसँग जोडिएको छ । यो हारजीतको संस्कृति एकात्मक संस्कार नै हो । आदिवासी किरात लिम्बु संस्कृतिमा रहेको ‘वलिहाङ’ को मुन्धुम् खास कुनै जातिविरुद्धको विजय र वा पराजयको कहानी होइन । यो त केवल जीवन र मृत्यबीचको मार्मिक मुन्धुम् हो ।
तिहार संस्कृति र याक्थुङ् मुन्धुम्:
तिहार संस्कृति समग्र नेपाली संस्कारको रुपमा विकसित भएको छ । यो पर्वलाई दशैंजस्तो विशुद्ध हिन्दू संस्कारको रुपमा मात्र लिइएको छैन । तिहार दशैंजस्तो राज्यले अरुलाई जबर्जस्त लादेको चाड होइन । यसको मानवीय पक्षले बरु यसमा विभिन्न आदिवासीय संस्कार र संस्कृतिहरू जोडिएर आएका छन् । यद्यपि, नेपाली मिडियाले त्यो पक्षलाई नदेख्नु चुनौतिको सवाल हो ।
आदिवासी किरात लिम्बू जातिको सन्दर्भमा हेर्दा तिहारमा पुजिने काग, कुकुर, गाई र भाइको पूजा संस्कार याक्थुङ् मुन्धुमसँग मेल खाँदैन । तिहारमा भनिने यी जीवहरूको भूमिकाको प्रसङ्गले याक्थुङ मुन्धुम र संस्कारसँग तादात्म्यता राख्दैन ।
भनिँदै आएको वलिहाङ्को प्रसङ्ग र यससँग जोडिएको मौलिक मुन्धुम् संस्कारहरू मात्र लिम्बूजातिका लागि सम्झौता योग्य कुराहरू हुन् । यस अनुसार तिहारको अवसरमा आ–आफ्नो घरघरमा दियो कलश राखेर इष्टदेवी देवताको पूजा आराधना गर्नु हो । यसको अर्थ घर, परिवार, समाज र राज्यमा शुभलाभ होस् । विशेषतः राज्य सञ्चालक राजनेताहरू वलिहाङ जस्तै जनप्रिय होऊन् र त्यस्ता नेतृत्वहरू सकुशल रहून् भन्ने हो । यसका लागि सामूहिक रुपमा देउसी खेल्दै गाउँघर डुल्दै मौलिक सांस्कृतिक तथा राजनीतिक जनचेतना जगाउनु हो ।
तिहारमा भाइटीका र वैकल्पिक माङ्गेन्ना:
तिहारसँग जोडिएको भाइटीका संस्कार विशुद्ध हिन्दू संस्कार हो । हिन्दू संस्कारमा यसको आफ्नो महत्व छ । तर, आदिवासी किरात लिम्बू संस्कृतिमा हिन्दू संस्कार अनुसार यसबखत गरिने पूजाले मौलिकताको उजागर गर्दैैन । केवल अरुको देखासिकी र नक्कल गरेकमात्र ठहर्दछ ।
कुनै कारणबस यो भाइटीका संस्कारलाई अहिन्दू आदिवासीहरूले अपनाउँदै आएको भएपनि अब त्यसलाई मौलिकता अनुसार सच्याएर वा विकल्प दिएर जानु आवश्यक छ । यसमा समग्र आदिवासी समुदायले गम्भीर रुपमा सोच्नु जरुरी छ । अझ पहिचावादी आदिवासी महिलाहरूले त झन् गम्भीर रुपमा सोची विकल्प दिएर जान ढिलो गर्नु हुन्न । यसो नगरे आफ्नो संस्कार र पहिचानको आन्दोलनमा तालमेल मिल्ने छैन । कुरा गर्दा पहिचानको ठूलो आदर्श छाँट्ने तर व्यवहारमा त्यही आफ्नो पहिचान विरुद्धको संस्कृतिलाई पक्षपोषण गर्ने ढोंगी चरित्र देखिनेछ ।
तिहारमा लगाइने भाइटीकामा खासै कुनै मन्त्र वा मुन्धुमहरू उच्चारण गरेको पाइन्न । केवल कर्महरू मात्र गरेको देखिन्छ, जस्तै चेलीले माइतिलाई तेलको घेरो लगाई टीका र फूलमाला पहिराई दिने गरेको देखिन्छ । मनमनै केही कामना गरेको होला ।
लिम्बू महिला चेलीहरूको हकमा यो दिन चेली–माइतिबीच भेट भएर एकापसमा आत्मीयता दर्शाउनै पर्ने भए मौलिक माङ्गेन्ना (शीर उठाउने) अुनुष्ठान संस्कार सम्पन्न गर्न सकिन्छ । सके मौलिक माङ्गेन्नाको विधि सम्पन्न गर्ने । नसके, उज्यालो दियो कलश राखेर चेलीले माइतिको र माइतिले चेलीको सुस्वास्थ्य, दीर्घायु, प्रगति र सफलताको कामना तथा प्रार्थना आफ्नो इष्ट देवी देवतासँग गर्ने हो । यसमा फूलमाला भन्दा पनि आपसी सद्भाव र आत्मीयता आदान–प्रदान गर्न सकिन्छ । याक्थुङ् मुन्धुमले चेली माइतिबीच फूल र फूलमालाको आदान–प्रदान गर्नु हुन्न । यसो गरे अपसकुन हुन्छ भन्छ । यसबेला उपहारहरू आदान–प्रदान गर्न सकिन्छ । वास्तवमा, आदिवासी समाज र अर्थतन्त्र समतामुलक उपहार आदान–प्रदानबाटै चलिआएको हो । यसलाई अहिलेको पुँजीवाद र नवउदारवादी अर्थतन्त्रले तहस–नहस पार्दैछ ।
तिहार संस्कृति र राजनीति:
जसरी पहिचानको आन्दोलनमा पहिचान पक्षधर हुनुपर्ने आदिवासी जनजातिहरू नै एकात्मकताको पक्षधर भई आन्दोलनलाई कमजोर पारिरहेका छन् । त्यसैगरी, आफ्नौ जीवनदर्शन र मौलिकता प्रदर्शन गर्नुपर्ने चाडपर्वहरूमा मौलिक संस्कार र संस्कृति भएका आदिवासीहरूले हिन्दू संस्कार र संस्कृतिलाई अन्धाधुन्ध पछ्याई रहनु अन्ततः आफ्नो मौलिक पहिचान, संस्कृति र राजनीतिको विरुद्धमा उभिनु नै हो । यसले सारमा पहिचालनको आन्दोलनलाई कमजोर पारिरहेको हुन्छ । विचार, आदर्श र व्यवहारमा फरक पारिरहेको हुन्छ । पहिले, यी र यस्ता स–साना कुरामा ख्याल नगरी गरिने वैचारिक लडाइँ वा आन्दोलन केवल आत्मरतिमा रमाउनका लागि मात्र हुन्छ । यसका लागि पहिचानवादी बौद्धिक वर्ग, सामाजिक–सांस्कृतिक संघ संस्था र राजनीतिक नेतृत्वहरूले विशेष गम्भीरताका साथ ध्यान दिई व्यवहारमा रुपान्तरित भएर लाग्न जरुरी छ ।
तिहार संस्कृति र महिला भूमिका:
तिहार संस्कृतिमा मौलिक मुन्धुम् र दर्शनसँग कतै तालमेल नमिल्ने संस्कार गैर–हिन्दू महिलाले माइतिलाई भाइटीका लगाउने कर्म नै हो । यसमा माइतिहरूले तिहारकै बेला एकोहोरो भई चेलीले आत्मीयतापूर्वक लगाई दिने टीका लगाउँदिन भन्न व्यवहारतः गाह्रो होला ।
अहिले आएर आधुनिक शिक्षामा पनि कम नभएका आदिवासी महिलाहरूले आफ्नो मौलिक धर्म, संस्कार र संस्कृतिको गहन अध्ययन र छलफल गरी यो भाइटीका लगाउने चलन त हाम्रो मौलिक संस्कार हो वा होइन रहेछ भन्ने निष्कर्षमा किन नपुग्ने ? अथवा, मौलिक भए पनि के कति हो भनेर किन नकेलाउने ? वा, यो भाइटीका संस्कार मौलिक नभए यसको विकल्प किन नखोज्ने ? पहिले राज्यले दशैंलाई जबर्जस्त लादेको जस्तो अहिले पनि यो भाइटीका लगाउन राज्यले नै बाध्य पारेको छ र ? पहिले जान–अन्जानले भाइटीका लगाई आएर अहिले छाड्न नसकिने संस्कारको रुपमा विकसित भएको भए यसको समानान्तर विकल्प दिएर जान सकिन्न र ? लिम्बू जातिमा वैकल्पिक माङ्गेन्नाको संस्कार भएजस्तै अरु आदिवासीमा चेली–माइतिबीचको आत्मीयता दर्शाउने कुनै मौलिक संस्कार र अनुष्ठानहरू छँदै छैनन् र ?
यी आदि सवालमा विशेषतः महिलावादी संघ संस्था, उच्च शिक्षा हासिर गरेका विद्वत महिला वर्ग र तिनका नेतृत्वहरूले अविलम्ब सोच्न, सही निष्कर्षमा पुग्न र विकल्प दिएर जान आवश्यक देखिन्छ । नेतृत्व र विज्ञ हुँ भन्नेहरूले नगरे सर्वसाधारण महिलाहरूले पनि यसको थालनी गरे के होला ? यस अभियानमा मौलिक पहिचानवादी माइतिहरू साथ दिन पछि हट्लान् वा हट्न हुन्छ र ?
होइन, यस्ता कुरामा अल्झनु हुन्न । आजको युगमा सबैले सबैको चाडबाडलाई मानेर पछ्याएरै जाने भन्ने हो भने अलग पहिचान नै किन चाहियो र ?
