नेपालको प्रजातन्त्र र लोकतन्त्र प्राप्तिका सङ्घर्ष र आन्दोलनहरु अभूतपूर्व छन् । यी सङ्घर्षका क्रममा हजारौँ नेपाली छोराछोरीले शहादत प्राप्त गरे । आमाहरुका काख रित्तिए, छोराछोरी टुहुरा भए । जनता र नेता सँगै सङ्घर्षमा होमिए । लोकतन्त्र प्राप्तिपछि जनताको स्थिति भने कहालीलाग्दो छ । लोकतन्त्रपछि पनि जनताको जीवनस्तरमा केही परिवर्तन आएको छैन । लोकतन्त्र आयो तर सैद्धान्तिक रुपमा मात्र । व्यवहारमा गणतन्त्र स्थापनाको दश वर्षपछि पनि समाज उस्तै छ, गरिबी उस्तै छ । आम जनतामाथिको शोषण उस्तै छ । हामीले खोजेको लोकतन्त्र यस्तो थिएन । हामीले पाएको लोकतन्त्र वास्तवमै अपूरो छ ।जनतासँग प्रश्न छन् तर नेताहरुसँग उत्तर छैन । यसबीच महङ्गी घटेन । राज्यले रोजगारी सिर्जना गरेन । विभिन्न क्षेत्रमा भएका सिन्डिकेटहरु हटेनन् । शैक्षिक क्षेत्रलाई नराम्रो गरी बिगारिएको छ । हिजो पनि जनता सिटामोल खान नपाएर मरिरहेका थिए, आज पनि जनताको हालत उही छ । जनतासँग सहज स्वास्थ्य सुविधा छैन । जनताका कुनै काम परेमा राज्य संयन्त्रले अनेक दुःख दिन्छ । झन्झट दिन्छ । काममा ढिलासुस्ती व्याप्त छ ।
नाकाबन्दी, अभाव, कालोबजारी भइरहँदा घरमा चुल्हो नबलिरहेको अवस्थामा पनि जनताले सरकारको विरोधसम्म गरेनन् । आजका नेपालीले देखाएको राष्ट्रप्रेम अतुलनीय छ । नेताहरु भने ठीक उल्टो व्यवहार देखाइरहेका छन् । देशमा विदेशी हस्तक्षेप व्याप्त छ । विदेशी राष्ट्रप्रमुखको स्वागत गर्ने निहुँमा सरकार जनतामाथि अघोषित रुपमा कप्mर्यु लगाउँछ । हाम्रो सार्वभौमिकतामा हिजोभन्दा आज बढी खतरा देखिँदै छ । जनताले केही उपलब्धि प्राप्त गरेका छैनन् । जनतासँग मात्र निराशा छ । आज जनतामा नेताप्रति आक्रोश छ । त्यसकारण जनतासँग प्रश्न छ– खोई कहाँ छ लोकतन्त्र ? उत्तर पनि जनतासँगै छ । खास लोकतन्त्र नेताहरुको खल्तीमा छ । २०६२÷६३ को जनआन्दोलनपछि मात्रै नौवटा सरकार बने । प्रचण्ड दुईपटक प्रधानमन्त्री भए । यसबीच सयौँ नेताहरु मन्त्री भए । १२ सय नेताहरु सांसद् भए भने विभिन्न पार्टीका ५ हजारभन्दा बढी कार्यकर्ताहरुले विभिन्न निकायमा राजनीतिक नियुक्ति पाए । सँगै लडेका जनता जसका आधारमा नेताहरुले राजनीति गरे, तिनै जनताले भने केही पाएनन् । नेताहरुका छोराछोरीहरु युरोप, अमेरिकामा छन् । गरीबका छोराछोरीहरु खाडी मुलुकहरुमा छन् । उनीहरुले पठाएको रेमिट्यान्सले देश चलेको छ । नेताहरु विदेशका सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न जान्छन् ।
आफ्ना छोराछोरीलाई विदेशमा पढाउँछन् । के यसैका लागि जनता लडेका थिए ? यो अत्यन्तै सरल प्रश्नको उत्तर न हाम्रा नेताले दिन्छन्, न हामीले प्राप्त गरिरहेका छौँ । हाम्रा नेताहरुलाई शक्ति चाहिएको छ तर कति भन्ने उनीहरुलाई नै थाहा छैन । उनीहरु जनताप्रति दायित्वबोध गर्दैनन् र जिम्मेवार हुन सकिरहेका छैनन् । यो अवस्था रहिरहेसम्म हामीले खोजेको लोकतन्त्र स्थापित हुन सक्दैन ।जनता जनार्दन हुन् । त्यसैगरी जनता सार्वभौमसत्ता सम्पन्न हुन्छन् । हामीले बुझेको त्यही हो । हाम्रा राज्य सञ्चालक त्यो ढङ्गले सोच्दैनन् । उनीहरु जनतालाई प्रजाका रुपमा व्यवहार गर्छन् । उनीहरु जनतालाई केन्द्रमा राखेर आफ्ना गतिविधि गर्नुपर्छ भन्ने सोच्दैनन् । आफ्नो अनुकूल काम गर्नुपर्छ र आफ्ना आसेपासे नै महत्वपूर्ण हुन् भन्ने ठान्छन् । यस्तो लाग्छ– हामीले एउटा राजा हटाएर सयौँ राजालाई स्थापित गराएका छौँ । इरफान खान मलाई मन पर्ने कलाकार हुन् । यसै वर्ष उनको एउटा फिल्म आएको छ, मदारी जसमा गुणस्तरहीन सामग्री प्रयोग गरेर बनाइएको नयाँ पुल भत्कँदा त्यसैले किचेर उनको छोराको मृत्यु हुन्छ । त्यसपछि नायकले भ्रष्ट गृहमन्त्रीका छोराको अपहरण गर्छन् ।
फिल्मको अन्त्यतिर नायक र ती गृहमन्त्रीबीच बहस हुन्छ । गृहमन्त्री भन्छन्, ‘सरकार भ्रष्ट छ, यो साँचो होइन । भ्रष्टाचार गर्नको लागि सरकार छ, यो साँचो हो ।’ हामी ठ्याक्कै यही संवादको आशय नेपाली राजनीतिमा चरितार्थ भएको देखिरहेका छौँ । नेताहरुमाथि भ्रष्टाचारको अभियोग छ । ख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुखमाथि नै महाभियोग लागेको छ । सबै तैँ चुप, मै चुपको अवस्थामा छन् । जनता दुवै खाले भ्रष्टाचारीलाई कारवाही होस् भन्ने चाहन्छन् । हामीलाई थाहा छ, हाम्रा नेताहरुले जेलनेल भोगे, दुःख गरे । उनीहरुले स्वतन्त्रताको लडाइँ लडे । विकासका लागि लडे ।
आपैmँ नेतृत्वमा हुँदा भने उनीहरु चुकिरहेका छन् । उनीहरु जिम्मेवार हुन् भने जनताका लागि लडून् । भूइँका जनता यही चाहन्छन् ।अन्त्यमा फिल्म ‘मदारी’ को अर्को महत्वपूर्ण संवाद उल्लेख गर्छु । फिल्ममा गृहमन्त्रीलाई एक प्रश्न सोधिएको छ, ‘तिमी नेताहरुले के ग¥यौ ?’ यो प्रश्नको उत्तर दिने क्रममा उनी भन्छन्, ‘हामी फेसनेबल भएर कहिल्यै हिँड्दैनौँ । जहिले पनि खादीको लुगा लगाउँछौँ । भोट माग्छौँ, भाषण गर्छौं ।’ हाम्रा नेताहरुले पनि यति मात्रै गरे । उनीहरुले यति नै दुःख गरे र जनताका लागि भने त्यसभन्दा बढी गरेनन् । त्यस कारण जनता सोध्छन्, ‘खास लोकतन्त्र कहाँ छ ?’ लोकतन्त्र माथिमाथि मात्र उड्ने हो कि भूइँसम्म पनि आउने हो ? जनता भूइँमा पनि आइपुग्ने लोकतन्त्रको पर्खाइमा छन् ।