fagunndaविश्वको कुनै पनि जातिको उत्थान र पतनमा त्यो जातिको सभ्यता, संस्कृति र शिक्षाले विशेष महत्व राख्दछ । ‘भाषा हराए लिपि हराउँछ, लिपि हराए जाति हराउँछ । जाति हराए इतिहास हराउँछ, इतिहास हराउँछ आपूm हराइन्छ ।’ भन्ने कुरालाई आफ्नो तप, ध्यान, ज्ञानबाट प्राप्त गरेर महागुरू फल्गुनन्दले सामाजिक जीवनलाई रुपान्तर गर्न आफूलाई समर्पित गर्नुभयो । बाल तपस्वी महागुरू फल्गुनन्दका निष्ठावान भक्तहरु मान्दछन् कि मुन्धुम भनेको ईश्वरीय वाणी हो, जसलाई आफ्नो सक्रिय ध्यान र भावनाद्वारा त्रिकालदर्शी तत्वज्ञानी एवम् सर्वज्ञ महागुरू फल्गुनन्दले प्राप्त गरे । ईश्वरसँग साक्षात्कार गर्ने परम् शौभाग्य प्राप्त गरेका दिव्य ज्योति स्वरुप महागुरूलाई समाधिको अवस्थामा ईश्वरीय प्रेरणा मिल्यो, जो उहाँको अन्तःस्करणदेखि वाणीमा मन्त्रद्वारा प्रकट भई ‘मुन्धुम’ ले स्वरुप ग्रहण गरेको अकाट्य प्रमाणहरु पाइन्छन् । यसै कुरालाई पुष्टि गर्दै लाफयङ गुरू श्री देवबहादुर तुम्बापो भन्नुहुन्छ, ‘एशिया महादेशको हिमालय खण्डमा प्राचीनवासी किरातहरु अति अन्धकारमा डुबेको अवस्थामा चन्द्र–सूर्यको चक्र घुम्दै जाँदा अम्ः सर्वव्यापी परामात्मा तागेरा निङ्वा भूमामाङको कृपादृष्टि परी किरातकुलमा परब्रम्ह तत्वज्ञानी महागुरू फाल्गुनन्द अवतरित भई जीवनरुपी तानका सुनौला पोयाहरुमा सरस्वती माताले स्पर्श गर्दा मानव र चराचर प्राणीहरुमाथि अमृतमय वाणीहरु बुँदबुँदायो । सारांशमा यही नै प्राचीन किरात मुन्धुमअनुरुप इश्वरीय सृष्टि कल्पकल्प अस्तित्वमा रहने ज्ञानको बीउ बिन्दुबाट ज्योतिर्मय दिव्य ज्योति प्रकट भयो, मुन्धुम दर्शन सम्पूर्ण मानव जातिको दर्शन हो ।’ नारी शक्तिको सम्मानमा महागुरू ‘कवच त्रैमासिक’ (वर्ष २ अंक २, असोज–मंसिर २०७३) मा ‘छोरीचेलीको सोतरितबारे महागुरू फल्गुनन्द’ शीर्षकको आलेखमा हस्तकला लिम्बूले लेख्नुभएको छ, ‘विश्व मानचित्रमा नारीहरु शैक्षिक, धार्मिक, सामाजिक एवम् राजनैतिक क्षेत्रहरुमा शिखर चुमिरहेको स्थितिमा हाम्रो किराती समाज संस्कार र संस्कृतिको नाममा जहाँको त्यहीँ रहिरहेका छन् । निश्चय नै किरातीहरुको गौरवशाली इतिहासमा यो लज्जास्पद पाटो हो । सृष्टिको जननीका रुपमा पुजिने नारीहरुप्रति किरात धर्म, किरात शःसी मुन्धुम, साम्जिक मुन्धुम, चाम्जिक मुन्धुम, पेशाप मुन्धुम इत्यादिले राम्रो स्थान दिएको छ । किरात धर्म दर्शनदाता, महान् समाजसुधारक मुहिगुम अङ्सी फल्गुनन्द लिङ्देन आफ्नो ६३ वर्षे जीवनकालमा आजीवन ब्रम्हाचारी भई युमा अर्थात् स्त्रीका रुपमा रहनुका साथै सदैव प्रमुख महत्व नारीहरुलाई दिनुभएको तथ्य उहाँले गर्नुभएको सिवा खाहुन (धर्मोपदेश) अद्यपि जीवन्त छ । विशेषतः सुनौली रुपौली प्रथाले किराती महिलाहरुमा उत्पन्न भएको नैराश्यता, समस्त किरात वंशमा देखिएको विकृति एवम् विसङ्गतिलाई हटाउन उहाँ (महागुरू) आजीवन प्रयत्नरत् रहनुभयो जसको जीवन्त इतिहास (सत्यधर्म मुचुल्का) अद्यापि सुरक्षित छ । नारीहरुको सम्मान गर्न कहिल्यै नचुक्ने महागुरूले सोतरितको अलावा महिलाहरुलाई पैतृक सम्पत्तिको हकदार बनाउनुपर्ने जस्तो ज्यादै क्रान्तिकारी आवाज बुलन्द गर्नुभएको थियो । देखासिकी एवम् आधुनिकताको नाममा मातृसत्तात्मक समाजबाट पितृसत्तात्मक समाजमा हामफालेको किराती समाजले महिलाहरुबारे महागुरूले औँल्याउनुभएका विषयहरु उपर ध्यान दिएको भए, कार्यान्वयनमा उतारेको भए निश्चय नै आज आएर हाम्रो समाजको स्थिति धेरै माथि पुगिसक्ने थियो किनकि घर प्राथमिक पाठशाला हो भने आमा शिक्षिका हुन् । तर विडम्बना, यो हुन सकेन । उहाँको मृत्युपश्चात् फर्केर हेर्ने चेष्टासमेत भएन (नगण्यले भने अपनाइरहे) । राष्ट्रको सुधार गर्नुपर्छ भने समाज सुधार्नुपर्छ, समाज सुधार्नु छ भने घरपरिवार सुधार्नुपर्छ, त्यसलाई सुधार्न घरकी आमालाई सुधार्नुपर्छ भन्ने कुरा महानगुरूले बुझ्नुभयो र महिलाअधिकारको सवालमा आजीवन चिच्याउनुभयो तर सुन्ने कोही भएनन् । अहिले समयले त्यही माग गरेको छ, त्यही कुरा खोतल्नु परेको छ । त्यसैले आजैदेखि नारीलाई प्रमुखता दिनु हुने महागुरूको दर्शनमा डोरिनुपरेको छ ।’ युगपुरुष महागुरू फल्गुनन्दले दिनुभएको दर्शन, मुन्धुम, दिव्यउपदेश र अमर वाणीहरुमा युगसुहाउँदो समयलाई परिमार्जित गरेर सकल प्राणी सबैको सुरक्षा गर्दै विशेष गरेर नारीलाई उच्च कोटीमा स्थान दिनुभएको छ । किरात धर्म सत्यहाङ्मा (सत्यको रानी) भनेर उहाँलाई मानिन्छ भने युमामाङ (ज्ञानको खानी, सरस्वती माता) भनेर पुजिने गरिन्छ । युमा साम्यो (नारी दर्शन मार्ग) लाई अझ बुलन्द बनाउनुहुने महान् समाज सुधारक महागुरू फल्गुनन्दले वि.सं. १९९४ मा दिएको सिवा खाहुनमा भन्नुभएको छ, ‘सेसागेन मेन्छिमा नेनुसा यम्मासे’ (अमर चोला वंशवृद्धि गर्दैै लागिरहने दिदीबहिनीहरु हो) । यसरी नारीको शक्तिको सम्मान गर्नुहुने १६ औँ राष्ट्रिय विभूति महागुरू फल्गुनन्दको मंगेना (शिर) उठाउने समय आएको छ । कालचक्र हावाको वेगसरि भूमण्डलमा चक्रधार भएर निरन्तर घुमिरहन्छ । कालचक्रः अर्थात् घटना÷परिघटना र दुर्घटनाको योग । यही योग संयोेग भएर आउँछ मानिसको जीवनमा । जब त्यो आउँछ समुन्द्री आँधीजस्तै कठोर भएर आउँछ र निमेषभरमै उलटपुलट र फेरबदल ल्याउँछ, पुराना संरचनाहरु ध्वस्त हुन्छन् र नवनिर्माणको प्रक्रिया आरम्भ हुन्छ । मानिसको जीवनमा रहन्छ मात्र स्मृति । कालचक्रले भेदन गरेका यिनै जीवनरुपी डोबहरुलाई स्मृतिपटमा सधैँ तरोताजा बनाइराख्नका लागि इतिहास लेखिन्छ, साहित्य लेखिन्छ, दर्शनहरु लेखिन्छन् र लेखिन्छन् उद्गारहरु । कुनै विशिष्ट परिवेशमा यो धरामा संयोगले आगमन भएका त्यस्ता महान् विभूतिहरुको जन्मदिन हर्षोल्लासपूर्ण ढङ्गबाट मनाइन्छ र त्यस्ता महामानवहरुले विश्व मानव समुदायका लागि सम्पन्न गरेका महान् कार्यहरुको हृदयको तलबाट स्मरणसमेत गरिन्छ । आध्यात्मिक विज्ञानको रश्मीलाई व्यक्ति–व्यक्तिभित्र जागृत तुल्याउनका लागि पनि सत्कर्म, सद्विचार सत्मार्गको गोरेटोलाई राजमार्ग बनाउँदै मानव मात्रको हितका लागि कठिन तप–जपद्वारा आर्जित ज्ञान–विज्ञानलाई हितोपदेशका रुपमा पस्कने महागुरू फल्गुनन्दजस्ता महान् विभूतिहरुको सम्झना र सम्मानमा जन्मदिनलाई विशिष्ट पर्वको रुपमा सम्पूर्ण मानव समुदायले मनाउनु समयको माग रहिआएको छ । आफ्नो दिव्य उपदेशमा महागुरूले भन्नुभएको छ, ‘आपूm किपटिया, जगरबगरका धनीमानी भने घमण्ड गर्नु हुँदैन । यो किपट थोत्रो भइसकेको छ, यसको मिति पनि धेरै होला जस्तो छैन । छोरीचेलीलाई बेच्नु हुँदैन, यो रितभात भन्ने कुरा एकदमै नराम्रो र असभ्य चलन हो । छोरामात्र आमाको कोखबाट जन्मेको होइन । छोरीलाई पनि छोरासरह चलअचल सम्पत्ति (अधिकार) दिनुपर्छ । मुन्धुम र पञ्च वाक्यले मात्र सुध्याई तुर्नु हुँदैन । हामी सृष्टिका चरअचरका तीन मुख्य कर्म हुन्छन् । ती हुन्– जन्म, विवाह र मृत्यु । ती तीन कर्मको बेग्लाबेग्लै कर्मकाण्ड हुन्छन् । च्याब्रुङ हाम्रो जातीय बाजा हो, शुभकार्यमा बजाउनुपर्छ । सुध्याइँमा बजाउनु हुँदैन । मासुमंस कहिलेको पनि हैन भने झन् पिण्ड तर्पण दिने बेलामा कसरी चल्न सक्छ ? यस्ता नराम्रा चलन तुरुन्त हटाउनुपर्छ । आफ्ना चेलाभुलाहरुमाझ विशेष गरेर किराती समुदायलाई सम्बोधन गर्दै महागुरूले भन्नुभएको छ, ‘सत्य बोल्नु, सत्य काम गर्नु, सत्य आहार(सत्य विहार गर्नु, कसैलाई हिंसा नगर्नु, मारकाट गर्दा मात्रै हिंसा हुँदैन, मान्छेको मन दुखाउनुलाई पनि हिंसा नै भनिन्छ । अरुको मनमा चोट प¥यो भने आपूmलाई पनि अशान्ति हुन्छ, कहिल्यै पनि चित्त प्रशन्न हुँदैन । दुःखी, गरीब र असहायहरुलाई भोजन गराउनु, दान गर्नु करले होइन, रहरले गरेको दानबाट पुण्य मिल्दछ ।’ महागुरूले देखाउनुभएको मार्ग, दिनुभएको दर्शन, मुन्धुम र दिव्य उपदेशलाई आत्मसात् गर्दै कार्यान्वयनमा ल्याउने हो भने किरात समाजको संस्कार, सभ्यता र संस्कृतिप्रति छाती खोलेर गौरव गर्न सकिन्छ ताकि फर्केर पछि हेर्नु नपर्ला । १६ औँ राष्ट्रिय विभूति महागुरू फल्गुनन्द राष्ट्रका गहना हुन् भने यस देश (राष्ट्र) का सम्पूर्ण जनताका विभूति हुन्, मात्र किरातीहरुका होइनन् । किरातीहरुले मात्र नभएर सरकार र सबै नेपाली जनताले कात्तिक २५ गते महागुरूको जन्मजयन्ती भव्यताका साथ मनाएर महान् विभूतिप्रति सम्मान गरे न्यायिक होला कि ?