नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार विघटन, देशको ठूलो दल नेपाली काङ्ग्रेसको अगुवाईमा तेस्रो दल माओवादी केन्द्रका नेता पुष्पकमल दाहालको नेतृत्वमा सरकार गठन, चिनियाँ राष्ट्रपति सि जिङ पिङको भ्रमण चर्चा र रद्द, लोकमानसिंह कार्की महाअभियोग प्रस्ताव, भारतीय राष्ट्रपति प्रणव मुखर्जीको भ्रमण हुँदै अहिले नेपालमा नागरिकतासँग जोडिएका विषयमा चर्चा÷परिचर्चा पेचिलो बनेको छ ।

nagarikata

२०४६ सालपछिको राजनीतिक घटनाक्रम र विभिन्न समयमा भएका आन्दोलनसँग नागरिकताको विषय प्रत्यक्ष–अप्रत्यक्ष ढङ्गबाट जोडिँदै आएको देखिन्छ । पछिल्लो समय तराईकेन्द्रित आन्दोलनको महत्वपूर्ण मुद्दा समेत नागरिकता हुँदै आएको छ । पक्कै पनि नागरिकता हलुका विषय हुन सक्दैन । नागरिकता पहिचान हो । राष्ट्र भूगोल मात्र हुन सक्दैन, नागरिकको सद्भावमा राष्ट्रको परिचय, सार्वभौमिकता, स्वाधीनता र अखण्डता लुकेको हुन्छ । तर यति गम्भीर विषय नेपालमा किन हल्का मुद्दा बनिरहेको छ ? किन यसप्रतिको गम्भीरता झल्किन सकेको छैन ? सत्तामोहका खातिर पटक–पटक यो विषय किन गौण बन्दै गएको छ ? हरेक पटकको आन्दोलन होस् या आफ्नो मर्जीअनुरुपको धर्ना प्रदर्शन र त्यसको आडमा धम्काएर वा डराएर किन नागरिकता प्राप्तिको विषय झन् झन् सहज र कमजोर पारिँदै छ ?नागरिकताको विषय यसरी किन उठिरहन्छ ? के साँचो अर्थका भूमिपुत्रहरुले नागरिकता पाउन गाह्रो नै छ त ? के नेपालमा जन्मिएकाहरुलाई नागरिकता लिन सकस व्यहोर्नु परेको छ ? के नेपालमा नजन्मिएका वा वंशज नखुलेकाहरुले नेपालमा बाँच्न वा आपूm परिचित हुने अधिकार पाएका छैनन् त ? विश्वका नाम लिइने प्रजातान्त्रिक मुलुकहरु भन्दा नागरिकताको विषय हाम्रो देशमा कुन अर्थमा कडा छ ?भारत होस् वा अमेरिका, के त्यहाँ नागरिकता पाउन सहज छ त ? अहिले अमेरिकामा राष्ट्रपतिको निर्वाचन चलिरहँदा मेक्सिकोसँगको खुला सीमा र खुला सीमाका कारण देखिएको समस्या, देखिनसक्ने चुनौती किन चुनावी अभियानको महत्वपूर्ण हिस्सा बनेको छ ? नागरिकताको विषय प्रधान हुँदैनथ्यो भने यो मुद्दा यसरी पेचिलो बन्ने थिएन ।

अमेरिकालाई विश्वकै अग्रप्रजातान्त्रिक मुलुकको सूचीमा राखेर हेरिन्छ तर अमेरिकाले पनि नागरिकताको विषयमा किन आपूmलाई कडा बनाएको होला ? अर्कोतर्पm भारतमा के वर्षौंवर्षदेखि बसिरहेका नेपालीहरुले नागरिकता वा त्यहाँको परिचयपत्र पाएका छन् त ? के उनीहरुले त्यो अधिकार उपभोग गर्न पाएका छन्, जो त्यहाँ जन्मिएका वा त्यहाँको परिचयपत्र भएकाहरुले पाएका छन् ? भारतमा वर्षौं बस्दैमा वा त्यहाँ जन्मिँदैमा समेत लिन चाहेमा नेपालीले त्यहाँको नागरिकता पाउने अवस्था छैन, यो नेपालमा मुद्दा उठाउनेहरुलाई पनि राम्ररी थाहा भएकै विषय हो ।विश्वको हरेक राष्ट्र आपूm जतिसुकै प्रजातान्त्रिक विधि अवलम्वन गरेको मुलुक हो भनेर भनोस् । तर त्यो देशमा नागरिकताको सवाल अहम् विषय हुन्छ । नागरिकताको मुद्दा राष्ट्रिय स्वाभिमानको विषय हो । यसमा कहिकतैं सम्झौता गरिएको देखिँदैन । कसैले माग्दैमा वा दबाव दिएकै भरमा नागरिकता प्राप्तिलाई सरल गरिएको इतिहास देखिँदैन न त त्यसरी आफ्नो देशको नागरिकता प्रभाव वा दबावमा कमजोर होस् भन्ने चाहना नै त्यहाँका बासिन्दामा रहेको हुन्छ ।

तर, बिडम्वना, यसको अपवाद नेपाल किन बनिरहेको छ ? झन् झन् नागरिकताको विषय किन लचिलो बनाइँदैछ ? यो नजानेर वा भोलिको सम्भावित परिघटनामा दूरदर्शिता नपनाएर पक्कै होइन । यो खुला किताबजस्तै छर्लङ्ग भएको विषय भएको छ । अब त खुल्लमखुल्ला मागहरु आउँदैछन् । प्रभाव, दबाव, लोभ या डरका कारण त्यसमा सम्बन्धित पक्ष सरोकारवाला दलहरुले औँठाछाप गरिरहेका छन् । आखिर किन ? भोलि कसका लागि किन यस्तो गरिँदैछ ? के अहिले आइरहेका मागहरु हाम्रा मधेशी, आदिवासी वा जनजातिको हितमा भोलि हुनेछ ? के हाम्रो उद्देश्य अरु नै हो त ? अनि यस्तै रहे दलहरुले के भोलि राजनीति कसका लागि कहाँ गर्ने व्यक्तिगत हिसाबले हेर्दा समेत अड्कल काटेका छैनन् होला त ? आखिर किन यस्तो भइरहेको छ । गर्दागर्दै अब त लाज पनि पच्ने गरी अङ्गीकृत नागरिकता लिएका व्यक्ति देशको संवैधानिक पदहरुमा पुग्न पाउनेसम्मको विषय बाहिर आएको छ । अब यो रहे अब हुन चाँहि के बाँकी रहन्छ । हाम्रो जस्तो खुला सीमा जोडिएका देशमा यो व्यवस्था माग गरिनुको खास स्वार्थ जो कोहीले पनि बुझेका छन्, तर मुख्य कुरा बुझ पचाउन खोजिएको छ । अङ्गीकृत नागरिकता लिएका व्यक्तिलाई संवैधानिक पदमा पु¥याउने कुरा आम नेपालीले सोच्ने विषय नै होइन । अझ नेपालमा नागरिकताको विषय फरक हुनैपर्दछ ।

विश्वका विकसित प्रजातान्त्रिक देशले समेत आफ्नो देशमा जन्मिएका र आएकाबीच फरक गर्ने गर्छ भने त्यो नियम नेपालमा पनि लागू हुनै पर्दछ । अझ हाम्रो जस्तो खुला सीमा भएको देशका लागि यो महत्वको विषय बन्नुपर्दछ । देश अहिले समृद्ध नभएपनि सम्भावनायुक्त छ, भोलिको लागि अहिले नै अरुले सोच विचार गरेर यी विषयहरु एकपछि अर्को उठाइएको छ । यो नजान्ने शायद अब कोही होलान्, लुकेर होइन अब त खुल्लमखुल्ला चुनौती दिने काम भएको छ । अनि नेता, दल, सरकार त प्रभाव, दबाव, लोभ र डरले गर्दा लुुसुक्क परे हामी जनताचाँहि किन यस्तो असह्य पीडाबोध गरेका छौं ?तराई, पहाड, हिमाल जो जहाँ छौं, हामी हाम्रो देशको माया गर्छौं । देशभित्र कहींकतै विभेद नहोस् भन्ने चाहन्छौं, त्यो हाम्राभित्र नहोस् भन्ने चाहन्छौं । अब जागौं केही गरौं, आफ्नो लागि गरौं, भोलिको सन्ततिको लागि गरौं । वास्तविक मधेशी, जनजाति, थारु, पिछडिएका वर्गको निम्ति गरौं, उनीहरुको भाग खोस्ने योजनाको प्रतिरक्षा गरौं । आऊ तराई, मधेश, पहाड, हिमाल सबै जनता जागौं । अहिलेदेखि नै खबरदारी गरौं ।

नागरिकता खोस्टो कागज होइन, हाम्रो रगत हो । यो नागरिकतामाथिको मात्र खेलवाड होइन, हाम्रो पूर्खाको गौरवमाथिको खेलवाड हो । नेपाल र नेपालीको स्वमाभिमानमाथिको खेल हो । लाखौं नेपाली देश बनाउन विदेशमा पसिना चुहाउने, अनि भारतबाट अस्ति भर्खर छिरेकालाई चाहिँ धमाधम नागरिकता बाँड्ने काम भइरहेको छ । त्यसो हुँदा पनि हामी चाहिँ मौन छौं । अब कहिलेसम्म टुलुटुलु हेरेर बसिरहने ?