sssपानी र शौचालय नहुँदा रजस्वला भएका बेला समस्या हुने गरेकाले ओखलढुङ्गास्थित गणेश मावि ढुस्केकी छात्रा सलिना बानियाँ विद्यालय जाँदिनन् । अरु बेला पनि दिसापिसाब गर्न जङ्गल पुग्नुपर्छ तर रजस्वला भएका बेला शौचालय नहुँदा आफ्नो पढाइ छुट्ने गरेको उनले बताइन् । उनी प्रतिनिधि पात्रमात्र हुन् ।

जिल्लाका अधिकांश विद्यालयका छात्रा रजस्वला भएका बेला विद्यालय जाँदैनन् । विद्यालयमा शौचालय र पानीको उचित व्यवस्था हुन नसक्दा छात्रा समस्यामा परेका छन् । सलिनाले आपूmलगायत रजस्वला भएका बेला कोही पनि विद्यालय नआउने गरेको बताइन् । उनले भनिन्, ‘अरु समयमा त जङ्गलमा गएर दिसापिसाब गर्न पनि सकिन्छ तर महिनावारी भएका बेला धेरै समस्या हुन्छ ।’ गणेश मावि ढुस्के, हिमालय मावि निशंखे, जीवन प्रदीप मावी हर्कपुरलगायत विद्यालयमा शौचालयकै कारण समस्या भएको विद्यार्थीले जनाएका छन् । हिमालय निशंखेमा शौचालय भए पनि पानीको अभावले सञ्चालनमा आउन सकेका छैनन् । यी त केही प्रतिनिधि घटना मात्रै हुन् । नेपालका अधिकांश विद्यालयमा यस्तो समस्या छ ।

नेपालको सामाजिक संरचना एकै प्रकारको छैन । विभिन्न जात, भाषा र धर्मको आधारमा समाजमा क्रियाकलापहरू हुने गर्दछन् । हाम्रो समाजमा अहिले पनि केही यस्ता संस्कारहरू छन्, जहाँ छोरीलाई शिक्षाबाट वञ्चित गरिन्छ । छोरालाई मात्र विद्यालयमा पठाउने र छोरीलाई घरका काममा मात्र लगाउने उदाहरणहरू खोज्न धेरै टाढा जानु पर्दैन । विभिन्न चेतनामूलक कार्यक्रम र सचेतनाका कारण पछिल्ला दिनमा छोरीलाई विद्यालयमा पठाउने संस्कारको विकास भएको छ तर अहिले पनि छोरा र छोरीमा विभेद भने कायमै छ । छोरालाई निजी विद्यालय वा राम्रो विद्यालयमा भर्ना गर्ने र छोरीलाई सरकारी विद्यालयमा भर्ना गर्ने प्रचलन छ ।

परिवारबाटै शिक्षामा छोरीलाई विभेद हुन्छ । विद्यालयमा पुग्दा पनि छोरीहरू अर्थात् बालिकाहरू विभिन्न हिंसा भोग्न बाध्य छन् जसको परिणाम बालिकाहरू शिक्षा आर्जन गर्नबाट वञ्चित हुने गरेका छन् । विद्यालय तहमा पुगे पनि विभिन्न कारणले गर्दा उच्च शिक्षामा बालिकाहरूको पहुँच पुग्न सकेको छैन । यसलाई दृष्टिगत गर्दै सुर्खेतमा बालिका शिक्षाको लागि नयाँ अभ्यासको परिकल्पना गरिएको छ । वास्तवमा शिक्षामा बालिकाको पहुँच स्थापित गर्न र उनीहरूले भोग्दै आएका समस्या समाधानका लागि अब विद्यालयमा गुनासो सुन्ने अधिकारी (फोकल पर्सन) राखिने समाचार सार्वजनिक भएको छ । सुर्खेताको जिल्ला शिक्षा कार्यालयले अब जिल्लाका हरेक विद्यालयमा फोकल पर्सन राख्ने सोच बनाएको छ । बालिकाहरू शिक्षाबाट वञ्चित भइरहेको र विद्यालयमा विभिन्न हिंसा भोग्न बाध्य भएको भन्दै कार्यालयले नयाँ उपाय अपनाउन लागेको हो । यो जिल्लाको लागि नयाँ अभ्यास हो, यसले वास्तवमै बालिका शिक्षामा ठूलो प्रभाव पार्नेछ । शिक्षामा बालिकाहरूको पहुँच बढाउनका लागि गठित जिल्लास्तरीय बालिका शिक्षा सञ्जालको आग्रहमा यस्तो व्यवस्था गर्न लागिएको हो । जिल्ला शिक्षा अधिकारी दीपा हमालले अब जिल्लाका हरेक विद्यालयमा बालिकाहरूका गुनासा सुन्न र तिनको समाधान गर्न फोकल पर्सनको व्यवस्था गरिने आश्वासन दिएकी छन् ।

विद्यालयलाई बालिकामैत्री बनाउन कार्यालय प्रयासरत् रहेको भन्दै उनले सम्भव भएसम्म महिला शिक्षकलाई नै फोकल पर्सनको जिम्मेवारी दिइने समेत जानकारी दिइन् । उनको यो भनाइ र आश्वासनले पनि आशाका केही किरणहरू छाएका छन् । वास्तवमा बालिकाहरूको अवस्था गम्भीर नै छ । एक त घरबाट नै विद्यालयमा पठाउँदैनन्, अर्कोतर्पm विद्यालयमा पनि उनीहरू विभिन्न हिंसा र पीडाहरू सहन बाध्य छन् । यसले उनीहरूको शिक्षा प्राप्तिमा असर पारेको छ ।महिनावारीको समयमा विद्यालयमा बालिकाहरूको अवस्था गम्भीर हुने गरेको छ । छात्रा शुलभ शौचालय नहुँदा उनीहरू समस्या भोग्न बाध्य छन् । बालिकाहरूले विद्यालयमा अनेकौँ समस्या र पीडाहरू भोग्दै आएको भए पनि गुनासो सुनाउन पाउँदैनन् ।

यस्तो अवस्थामा फोकल पर्सनको व्यवस्था भएमा उनीहरू ढुक्क हुनेछन् । आफ्ना समस्या राख्नेछन् । यसले फोकल पर्सनले नै बालिकाका गुनासा सुन्ने, समाधानका लागि पहल गर्ने र सहयोगी भूमिकासमेत निर्वाह गर्ने छन् । फोकल पर्सनको व्यवस्था भएमा बालिकाहरूले सहज रूपमा शिक्षा आर्जन गर्ने वातावरण हुनेछ । बालिकाले भोग्नुपरेका यौनजन्य हिंसा रोक्न र जिल्लाको शैक्षिक नतिजा उकास्नका लागि पनि फोकल पर्सन आवश्यक छ ।

एकल प्रयासले मात्र बालिकाहरू शिक्षाको पहुँचमा पुग्नसक्ने सम्भावना छैन । त्यसका लागि सबैको साझा प्रयास जरुरी छ । बालिकाहरूलाई विद्यालय जान उत्प्रेरित गर्ने, विद्यालयमा उनीहरूलाई टिकाउनका लागि विभिन्न क्रियाकलापहरू सञ्चालन गर्ने, विद्यालयलाई बालिकामैत्री बनाउन पहल गर्ने, छात्रा शुलभ शौचालयको व्यवस्था गर्ने र बालिकामैत्री भाषा र व्यवहारलाई बढावा दिनका लागि सबैले सहयोग गर्न आवश्यक छ ।