सिक्किमको सुन्दरतामा छचल्कियो गजल
- मंसिर १९, २०७३
- ब्लाष्ट खबर
हर साँझ आउँछ याद कसोरी कसोरी ।
अनि सम्झनामा संवाद कसोरी कसोरी ।
सिक्किमकी गजलकार जिविका खतिवडा ‘अश्रु’को यो गजल शेर झैं सिक्किमको साहित्यिक जमघट साँच्चै अमिट याद बनेको छ । अन्त देखेको नीलो भन्दा बढी नीलो बोकेर वगिरहेका पुख्यौंली साइनोका टिष्टा र रंगीत नदी । १,२ पटक देखादेख भएपनि बारम्बारको नाम उच्चारणबाट युगौंदेखि चिनेझैं लाग्ने यी नदीका दुवैतर्फबाट उकालिएका सुन्दर पहाडी श्रृंखलाहरु । जसको काखमा सदरमुकाम गान्तोकका साथै नाम्ची, गेजिङ, जोरथाङ, रम्फू, सिन्ताङ जस्ता शहरहरु समृद्धिको बाटोमा हाँस्दै यात्रारत रहेछन् ।
नेपाली साहित्य परिषद सिक्किमको आमन्त्रणमा मंसिर १० गते प्रा.डा. भीम खतिवडाको अगुवाईमा सुरेश सुवेदी, लोकेन्द्र बञ्जारा, घनश्याम पथिक, कृष्ण घिमिरे, विष्णुदिप संकल्प, कुमार समदर्शी र म त्यतातर्फ लाग्यौं । गजलमा केन्द्रीत रहेर प्रस्तुत हुनका लागि हिँडेको हाम्रो टोली काँकडभिट्टा पारी पानीट्याङ्कीमा पुग्दा गजल कार्यक्रमतर्फकी संयोजक उनै गजलकार जिविका हामीलाई लिएरै जान आइसकेकी थिइन् । हामी रमाइलो गर्दै सिलीगुडी हुँदै सिक्किम उकालियौं । बाघ पुलबाट सिक्किमका लागि बाटो मोडिएपछि टिष्टालाई ड्याम बनाएर धेरै ठाउँ विजुली निकालेको दृष्यले विश्वको दोस्रो जलस्रोतको धनी देश नेपालको बासिन्दा भएको गर्वमाथि दुखिरहेने गरी चिमोट्यो । गफको रमाइलोसँगै टिष्टाको पानीको सुन्दरताले उन्माद झैं भएका साथीहरुको बीचबाट लोकेन्द्रले ‘कति पहेंलो पानी’ भनेर ‘नीलो’लाई ‘पहेंलो’ भनेको मिस्टेकले बाटाभरी हाँसिरहने स्थान दियो । घनश्यामले पिस सुनाउने क्रममा त्यस्तै मिस्टेक भएर बाघलाई ‘बाघजस्तो मान्छे भएर’ भनेको कुरा पनि हाँसोमा खुबै भँजाइयो । पास नबनाई सिक्किम छिर्न नपाइने प्रावधानलाई रम्फू गेटको चेकपोष्टमा पुरा गर्यौं ।
साँझ जिविकाको निवास सिन्चेमा पुग्दा उनका श्रीमान प्रकाश कार्की (सुमन) , छोरीहरु नतिजा, नेहा र छोरा अनमोलको आत्मीय स्वागतले दिनभर रमाइरहेको मन अझ रमाइरहन पायो । गजल वाचन जम्यो । हामी सिक्किममा गजलको अवस्था कस्तो छ भन्ने विषयमा जान्न बढी उत्सुक थियौं । सिक्किमका मुख्यमन्त्री पवन चाम्लिङ आफैंमा साहित्यिक व्यक्तित्व रहेको अवस्थामा त्यहाँ नेपाली साहित्य, कला र सँस्कृतिको विषय अझ चासोका विषय थिए नै । नेपाली साहित्य परिषद सिक्किमको मासिक कार्यक्रम ‘प्रतिभा मिलन’को ९२ औं श्रृंखलाका लागि हामी जोडिदै थियौं । श्रृंखला सन् २००५ अगस्ट २८ बाट चन्द्र दुलाल र अमर वानियाँको अगुवाईमा शूरु भई ७६ औं श्रृंखलाबाट परिषदमार्फत अगाडि बढाइएको रहेछ । भोलीपल्टको घुमघामपछि पर्सीपल्टको कार्यक्रममा हामी सहभागि भयौं । कार्यक्रमको पहिलो चरणमा रचना वाचन भयो । एमएस खान, भीम प्रधान, जिविका, नविन लामिछाने, थमन नौवाल, डीवीचन्द्र सुब्बा, अर्जुन बेहोसी, शेरबहादुर कार्की, विमल काफ्ले, मोहन गौतम राजन.शिवकोटीले गजल, कविता, गीत र कथा वाचन गरे । हामी यताबाट जानेहरु सवैले गजल वाचन गरेर त्यहाँ फैलिने कोशिषमा रहेको गजलको पवनलाई गति दिन उत्प्रेरणा भर्ने काम भयो । दोस्रो चरणमा अमर वाँनिया लोहोरोको गीतको एल्बम ‘आन्तरिक अनुगुञ्जन’ र टिका ढुंगेलबाट सम्पादित ‘तीन थुम्का’को भीम सरको अगुवाईमा घुम्टो खोलियो । सिक्किम विश्वविद्यालयका प्राध्यापक कुमार सरगमले नेपालीभाषी गीत संगीतले भारतको केन्द्रस्तरको प्रभाव पार्न धेरै मेहनत गर्नुपर्ने समीक्षात्मक भलाकुसारी गरे । कार्यक्रमकी सभाध्यक्ष बाल साहित्यकार डा.शान्ति क्षेत्रीको सुकोमल मायावी अभिव्यक्ति आत्मिय बन्यो । आपसमा सम्मान, कदर र आत्मियता साट्यौं ।
त्यस कार्यक्रममा गजलको प्रभाव बढी नै परेको सहभागिले सुनाए । अर्थात सटिक रुपमा चोटिलो प्रस्तुति रहने गजलले सवैको मन छोएछ । नेपाली गजललाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर लागि परिरहेको प्रसंग सुनाउँदै सुरेश सुवेदीले आपसी अन्तरक्रिया बढाउदै गजलमाथि साझा, प्रभावकारी एउटा मान्यताको मानक तयार गर्न आवश्यक रहेको प्रभावपूर्ण चर्चा गरे । उर्दु, फारसी, हिन्दी भाषा हुँदै नेपालमा गजल भित्रियो । तर त्यही गजलको प्रभावले साहित्य हल्लिएको देश भारतको एउटा प्रान्तमा भनें गजलको जागरण सोचेजतिको नपाएको पनि सुनाए । नेपाली गजललाई प्रभावकारी बनाउने प्रसंग सहित नेपाली भाषा, साहित्य र सँस्कृतिले समग्र असल मनको विकास गर्ने कुराको सृजनात्मक एकतामा भूगोल, जात, धर्मको सीमाले नछेक्ने भीम सरको धाराप्रवाह सरस अभिव्यक्तिले मनमा छुट्टै तरङ्ग पैदा गर्यो । त्यहाँ गजलको पहिलो कृति खुसेन्द्र राईको ‘जिन्दगी ए जिन्दगी’ रहेछ । दोस्रोमा सीता शर्मा दवाडीको ‘जिन्दगीका पलहरु’ र जिविकाको यसै वर्ष निस्किएको ‘अक्षर प्रेम’ गरी हालसम्म ३ कृति प्रकाशनमा आएका रहेछन् । यी कृतिकारका साथै डिल्लीप्रसाद अधिकारी, कुवेर भट्टराई आभास, गोपाल दहालहरुले गजल लेख्ने क्रम अगाडि बढाएका रहेछन् ।
सन् १९८१ मा स्थापित साहित्य परिषदलाई सरकारले जग्गा र भवन निर्माणका लागि केही रकम समेत उपलब्ध गराएपछि राम्रै खाले ठूलै भवन निर्माण भएर नेपाली सृजनाका गतिविधि अगाडि बढिरहेका रहेछन् । यसलाई साहित्य सृजनाका लागि एउटा महत्वपूर्ण पाटो लाग्यो । पश्चिम सिक्किम साहित्य समिति, युवा साहित्य प्रतिष्ठान, रिनाकमा प्रतिभा मञ्च, जोरथाङमा सृजनशिल साहित्य सहितका नेपालीभाषी साहित्यिक संस्थाहरु रहेछन् । प्रजाशक्ति दैनिक, समय दैनिक, हिमाली बेला दैनिक सहितका नेपाली पत्रपत्रिका रहेछन् । सर्जक समेत रहेका पत्रकार अर्जुन राई सहितका पत्रकारहरुले नेपाली भाषा साहित्यको प्रवद्र्धनमा युवा पुस्ताको पाटोबाट योगदान पुर्याँउदै रहेछन् ।
त्यहाँका अगुवा नेपालीभाषी राजनीतिज्ञहरु नरबहादुर भण्डारी, पवन चाम्लिङ, मेम्बर अफ पार्लियामेन्ट दिलकुमारी भण्डारीहरुको दवावमा त्यहाँको सरकारले सन् १९९२ अगस्ट २० देखि नेपाली भाषालाई पनि कार्यालयको कामकाजी भाषा सरह मान्यता दिएको रहेछ । सरकारी पत्रिका ‘सिक्किम हेरल्ड’ले नेपाली भाषा समेतमा पत्रिका प्रकाशन गर्दाेरहेछ । नेपालीमा पनि राई, लेप्चा सहितका भाषामा प्रकाशन गरेर भाषाप्रति उदारता देखाएको रहेछ ।
त्यसो त सिक्किम लेप्चा जातिको आदि थलोका रुपमा छुट्टै देश थियो । सन् १९४७ अगष्ट १५ मा भारत स्वतन्त्र भयो । सन् १९७५ मा सिक्किमका लेण्डुप दोर्जीसँगको सम्झौतामा भारतको २२ औं राज्यका रुपमा सिक्किम गाभियो । दोर्जी त्यहाँको पहिलो मुख्यमन्त्री । ७ हजार ९६ वर्ग किलोमिटर क्षेत्रफल र ६ लाख ५० हजार जनसंख्या रहेको सिक्किममा नेपालीभाषीको बाहुल्यता छ । १९७९ मा नरबहादुर भण्डारी पहिलो नेपाली मुख्यमन्त्री बनेपछि नेपालीभाषा साहित्यको पहिचान उठ्ने क्रम अगाडि बढ्यो । १९९४ देखि पवन चाम्लिङ लगातार ५ कार्यकाल मुख्यमन्त्रिका रुपमा कार्यरत रहेका छन् । यो अवस्थाले सरकार फेरिएर विकास निर्माणको निरन्तरतामा समस्या आउने अप्ठेरो नपरी योजनाहरु निरन्तर अगाडि बढाउन पाउनुले विकासले गति लिएको बुझ्न सकिन्छ । सिक्किमलाई पर्यटनका हिसावले अगाडि बढाउने योजनामा राज्य लागि परेको रहेछ । भारतका विभिन्न टाढा टाढाका क्षेत्रमा रहेका धर्मका ४ वटा महत्वका धामलाई एकै ठाउँमा ‘चारधाम’ खडा गरेर धार्मिक पर्यटन प्रवद्र्धन गरेर आम्दामीको राम्रो स्रोत बनाएको रहेछ । सरकारले हरेक विकासका गतिविधिमा आफ्नो अगुवाई गर्दाेरहेछ । चिया बगान, हाइडेपावर लगायतका क्षेत्रमा सरकारले सञ्चालन गरेको रहेछ । विकासको जग बसाउन सरकार अग्रसर रहने नीति रछ । प्रत्येक परिवारलार्ई कम्तिमा १ वर्षमा १ सय दिन रोजगारको व्यवस्थाले गरिव मानिसहरु समेत अगाडि उठ्ेका रहेछन् । स्वास्थ्य निशुल्क । विपन्न मानिसका लागि सिक्किममा र त्यसभन्दा बाहिर पढ्नका लागि चाहिने खर्च सरकारले व्यहोर्ने नीति । सवैका लागि क्याम्पसस्तरको सम्पूर्ण शिक्षा निशुल्क बनाउँदै लाने कार्ययोजना । यी र यस्ता सरकारी पहलले आम मान्छेका लागि सुःख, शान्ति, समृद्धि र सृजनात्मक उकालोतर्फ उकाल्छ । नेपाली साहित्यका लागि समेत त्यहाँ भएको पहललाई अझ व्यवस्थित र फराकिलो रुपमा अगाडि बढाउनका लागि यी र यस्ता साहित्यिक संस्थाको पहल होस् । त्यसपछि टिष्टा र रंगीतहरु गुमेको स्वाभिमान बग्ने गहिरो पीडाका प्राचिन आँसु समेतका नीलो नदी मात्र लाग्दैनन् अझ शान्त र सौम्य ‘पहेंला’ लाग्छन् । त्यहाँ रंगीविरंगी गजल छचल्किएर वस्ती वस्तीका खेतका अनाजमार्फत मन मनमा पुग्छन् । बाघपुलका बाघका प्रतिमा मान्छे जस्ता लाग्छन्, मान्छेका लागि लाग्छन् गजलका लािग लाग्छन् । बाघ, मान्छेलाग्छन् अर्थात बाघजस्तो मान्छे हुँदै मान्छेजस्ता बाघ लाग्छन् ।