पूर्वी नेपालको सीमा क्षेत्रबाट तस्करहरू सल्बलाउन थालेका छन् । पूर्वी नाकाहरूमा तस्करहरूको हैकम पुनः जम्न थालेको छ । रातारात सेटिङमा तस्करहरू सल्बलाइरहे पनि प्रहरी प्रशासनकै सेटिङका कारण ‘तैँ चुप, मै चुप’ हुन पुगेका छन् सीमाक्षेत्रका सुरक्षा निकाय । केही समय अघिसम्म सीमाक्षेत्रमा निकै कडाइ भए पनि अहिले बिस्तारै सीमाक्षेत्रमा तस्करहरुको चहलपहल शुरु भएको यथार्थ हो । नेपाल प्रहरी र सशस्त्र प्रहरीको समन्वय तथा सहकार्यको अभावसँगै सेटिङका कारण तस्करहरूको चहलपहल भइरहेको छ भन्दा अन्यथा नहोला  । केही भ्रष्ट प्रहरीहरूलाई सीमाक्षेत्रमा इञ्चार्ज बनाइनु र सशस्त्र प्रहरीको माथिल्लो निकायकै सेटिङका कारण पूर्वमा तस्कर मौलाएको पक्का हो । यसरी सीमाक्षेत्रमा भइरहेको तस्करीमा नियन्त्रण गर्ने निकायकै मिलोमतो भएपछि तस्करी कसले रोक्ने ? तस्करीसँगै पूर्वी नेपालमा अपहरण, गुण्डागर्दी, चन्दा आतङ्क, त्रास र धम्कीले समाजलाई आतङ्कित तुल्याउने गरेको छ ।

प्रहरी सधैँ जनताको घरदैलोमा त हुँदैन । अपराधीले अनेक अस्त्र प्रयोग गरेर जनतालाई त्रसित बनाउँछ । तर नियन्त्रणको प्रयास र प्रहरीमा एकताको अभावले पूर्वमा यो वर्ष बढी आपराधिक घटना भएको प्रहरी आँकडाले नै देखाउँछ । समाजमा प्रहरीको उपस्थितिलाई कसरी लिइएको छ भन्नेतर्पm पनि ध्यान पु¥याउनु आवश्यक छ । अपराध रोकथाम, नियन्त्रण र अनुसन्धानका क्षेत्रमा आउने चुनौतीहरूको सामना गर्न पूर्वको प्रहरी असक्षमजस्तै देखिएको छ । अहिले फेरि अपहरण, फिरौती असुली, हत्याजस्ता जघन्य अपराध लगभग बढेको छ । केही वर्ष अघिसम्मका घुस्याहा प्रहरीहरूलाई अहिले सीमाक्षेत्रमा प्रमुख बनाएर पठाइएको छ । विराटनगर रानी क्षेत्रमा बदनाम प्रहरीलाई इञ्चार्ज बनाइएको छ । त्यससँगै खुल्ला सिमानाका कारण हुने अपराध शान्ति सुरक्षाका प्रमुख चुनौती बन्न पुगेका छन् । ४ सय ३९ किलोमिटर क्षेत्र खुल्ला सिमानाका कारण हुने साना हतियारको ओसार–पसार, लागूऔषधको कारोबार र चोरी तस्करीबाट हुने सजिलो आम्दानीका कारण हुने अन्य सामाजिक अपराधको नियन्त्रण मुख्य चुनौती बन्दै गएको पाइन्छ । तर यी सबै चुनौतीहरू लोभलालचकै कारण सिर्जना भएका हुन् ।

लोभलालचकै कारण अहिले मातहतका प्रहरीले घूस खाने छाँटकाँट शुरु गरेका छन् । सीमा अपराध, तस्करी, गुण्डागर्दीलगायतका अपराधहरू नियन्त्रणमा अहिले चुनौती थपिँदा किन मौन बस्दै छ पूर्व क्षेत्रीय प्रहरी ? झापा, मोरङ, सुनसरी, सप्तरी र सिरहामा पेशेवररूपमा सञ्चालित तस्करहरू किन नियन्त्रणमा आउँदैनन् ? अपराध नियन्त्रणसँगै प्रहरीको ड्युटी के हो ? र कसरी नागरिकको प्रतिष्ठा उठाउन सकिन्छ भन्ने पाठ सिकाउन सकिन्छ । यस विषयमा नेपाल प्रहरीले केही सोच्ने बेला आएको छ । सीमामा कमजोर सशस्त्र प्रहरी पूर्वी सीमाक्षेत्रमा सशस्त्र प्रहरीको सुरक्षा व्यवस्था पनि चित्तबुभ्mदो छैन । सुरक्षामा भन्दा पनि तस्करहरूसँग कसरी मिल्ने र दुई पैसा कमाउने भन्ने दाउमा सशस्त्र प्रहरी सक्रिय हुन थालेको पाइन्छ । सुनसरीका नाकाहरुमा सशस्त्र प्रहरीको माथिल्लो निकायले नै घुमुवा राखेर तस्करलाई रातारात छिराउने गरेको आरोप लाग्न थालेको छ । पूर्वको काँकडभिट्टासँगै अन्य नाकाहरूमा सशस्त्र प्रहरी कमाउधन्दामा लागेको छ भन्दा फरक नपर्ला ।

तस्करहरूसँग मिलेर लाखौँ कमाउन पल्केका सशस्त्र प्रहरी बलका हाकिमहरूलाई कसले कारवाही गर्ने ? के उनीहरूलाई कानून लाग्दैन ? कारवाही हुँदैन ? यस विषयमा क्षेत्रीय प्रशासन कार्यालय र गृह मन्त्रालयले सोच्नैपर्छ । केही समयअगाडि केही ट्रक दाल पक्राउ पर्नुले पनि सुनसरीका नाकाहरूबाट तस्करी मौलाइरहेको प्रष्ट हुन्छ । त्यसकारण सीमाक्षेत्रमा भइरहेका यस्ता गतिविधिबारे अन्य निकायले पनि सोच्ने बेला आएको छ । सशस्त्र प्रहरी र नेपाल प्रहरीबीचको राम्रो सम्बन्ध नहुँदा पनि तस्करलाई फाइदा पुगिरहेको छ भन्न सकिन्छ । तसर्थ सीमाक्षेत्रमा सुरक्षा निकायकै सेटिङमा भइरहेको तस्करीलाई रोक्न सरकारले पहल गरोस् ।