१. आरम्भ भाषा, साहित्य र सँस्कृतिको विविधता र विशिष्टतायुक्त मुलुक नेपालको एउटै मूल सँस्कृति नेपाली संस्कृति हो । यसलाई अर्को भाषामा नेपालको राष्ट्रिय सँस्कृति भन्न सकिन्छ । नेपालका विविध सँस्कृतिभित्र रहेका जीवनउपयोगी, सार्थक, सरल तथा प्रगतिशील पक्षलाई समेटेर समतामूलक, सुखी र समृद्ध नेपाल निर्माणका निम्ति महासङ्घको स्थापनाको मूल मान्यता होे । २०४४ सालमा स्थापित राष्ट्रिय जनसाँस्कृतिक मञ्च राष्ट्रिय स्तरको प्रगतिशील तथा लोकतान्त्रिक कला, साहित्यिक तथा साँस्कृतिक क्षेत्रको राष्ट्रिय स्तरको सङ्गठन हो । २०५८ सालमा महासङ्घको स्वरुपमा परिवर्तित यस संस्था मातहत सामाजिक साँस्कृतिक अध्ययन मञ्च, जनपक्षीय चलचित्रकर्मी सङ्घ, जनसाहित्यिक मञ्च, भाषा तथा लोक साहित्य मञ्च, जनसङ्गीत मञ्च, जननाट्य मञ्च र नेपाल ललिकला मञ्च जस्ता सात विधागत घटक संस्था रहेका छन् । सुनसरीमा २०४७ सालमा स्थापित हुँदै विकसित भएको राजसा मञ्च, सुनसरी छैटौं सम्मेलनपछि महासङ्घमा परिणत भएको छ । नेपाली साहित्य परिषद् धरान, २०२४, बुक क्लब धरान २०२४ प्रलेस, धरान २०२६, शुक्रपथ द्यौसी समूह हुँदै स्थापित हिमायती साँस्कृतिक समूह २०३६ धरान आदि अनेक जिल्ला र स्थानीय स्तरका संस्था र समूह हुँदै स्थापित र विकसित देशभक्त प्रगतिशील तथा प्रजातान्त्रिक कला साहित्य र सँस्कृतिको मूल आधारमा र प्रेरणामा यस जिल्लाको सिर्जना शक्ति सबल बनेको देखिन्छ । टी.आर. विश्वकर्मा, कृष्णप्रसाद श्रेष्ठ बी.ए., मानबहादुर शाक्य, नरेश शाक्य, वेणु आचार्य, कुन्ता शर्मा, लीला श्रेष्ठ सुब्बा, कृष्ण पाख्रीन, गोविन्द विकल, राजकुमार कार्की, केशव वाग्ले, विमल गुरुङ, हर्क चुम्मे धरान हुँदै जिल्लाव्यापी बनेको यो धारको लेखन यस जिल्लाको प्रमुख लेखकीय धार हो । यस क्षेत्रमा अनेक विषय, विधा र क्षेत्रका सर्जकहरु क्रियाशील छन् । अहिले प्रगतिशील लेखनमा पनि सूक्ष्म अन्तर देखापरेको छ । एकातिर जनयुद्ध र निरपराध जनताको रक्तप्रवाहमा सौन्दर्य देख्ने अतिवादी, उग्रवादी एकात्मक आपूmलाई प्रगतिवादी धार मान्ने प्रवृत्ति सलबलाउन थालेको देखिन्छ भने अर्कातिर महासङ्घ चाहिँ जनवादी, लोकतान्त्रिक तथा प्रतिस्पर्धी प्रगतिशील धारमा विश्वास गर्दछ । जनताको बहुदलीय जनवादले निर्देश गरेको जनताको मन जितेर राजनीतिक र राजकीय नेतृत्व हासिल गर्नुपर्छ भन्ने मान्यतालाई महासङ्घले कला–साहित्य र संस्कृतिका क्षेत्रमा स्थापित गर्न चाहन्छ । यस मानेमा ने.क.पा. एमालेको कलासाहित्य र साँस्कृतिक सौन्दर्यशास्त्रीय दृष्टिकोण यस संस्थाको मूल मान्यता र आदर्श देखिन्छ । त्यसैले राजसा महासङ्घ पार्टीको मोर्चा सङ्गठनमा आबद्ध महासङ्घ भएपनि आफ्नो विधानअनुसार सिर्जनात्मक तथा साङ्गठनिक काममा स्वायत्त रहेको छ । सामन्तवादी तथा पूँजिवादी कला–साहित्य र सँस्कृति क्षेत्रका सबै नकारलाई अस्वीकार गर्ने यो सङ्गठन तिनमा रहेको देश, जनता र जनजीविकाका सकारात्मक पक्षलाई हार्दिकताका साथ समर्थन पनि गर्छ । महासङ्घ कथित जनयुद्ध, निरपराध जनताको रक्तप्रवाहमा सौन्दर्य देख्ने नियन्त्रित तथा एकात्मक प्रगतिवादी होइन । यो संस्था बहुविचार, मान्यता, सिर्जना र लेखनका बीच स्वस्थ प्रतिस्पर्धा गर्दै श्रेष्ठता हासिल गर्ने मान्यताका पक्षपाती मान्छ । यस मानेमा यसले आपूmलाई जनवादी तथा लोकतान्त्रिक प्रगतिशील सर्जक ठान्छ । २. सम्मेलनको अवसरमा राष्ट्रवादको उद्घोष राष्ट्रिय जनसाँस्कृतिक महासङ्घ, सुनसरीले यही माघ १५ गते शनिबार दिनको ११.०० बजे शिक्षा सदन उच्च माध्यमिक विद्यालयको सभाकक्षमा आफ्नो सातौं ऐतिहासिक जिल्ला सम्मेलन गर्न लागेको छ । यही अवसरमा विगत माघ ७ गते शुक्रबार केन्द्रीय प्रविधि क्याम्पस, हात्तीसार, धरानमा र माघ ८ गते शनिबार इटहरी उपमहानगर पालिकामा खुल्ला वृहत् युवा कवि गोष्ठी सम्पन्न भएको छ । महासङ्घले अहिले देश दुखिरहेको परिस्थितिमा राष्ट्रिय चेतनाका जागरणमूलक कविगोष्ठी मार्पmत् राष्ट्रवादको उद्घोष गरेको छ । गोष्ठीमा सुनसरीका सिर्जनशील युवाहरुले अत्यन्त समसामयिक कविताहरु सस्वर वाचन गरेका थिए । देशभक्त कविहरुले आफ्नो उच्च–उदात्त भूमिका निर्वाह गर्ने अवसर पाए । धरानमा भएको गोष्ठीमा रमेश प्रसाईं, लक्ष्मी लिम्बू, जोन रोवर्ट बिक, अशोक बिक, अर्जुन धमला, गुणराज धमला उत्कृष्ट छ जना कवि पुरस्कृत भएका थिए भने इटहरीमा सरस्वती न्यौपाने, सुरक्षिता भट्टराई, राजन सुवेदी, राजु खत्री र रविना चौधरी उत्कृष्ट छ जना घोषित भएका थिए । पुरस्कार वितरण भने माघ १५ गते धरानमा वितरण गरिने जानकारी आयोजकले गरेको छ । कविहरुले जात, भात, नाक, नश्ल र भूगोल लगायतका लिलिपुट पहिचानलाई अस्वीकार गरेका थिए र उनीहरुले अनेकतामा एकता र विविधतामा सौन्दर्य देख्ने सामाजिक सद्भावपूर्ण समानतामूलक कुनै पनि विभेदरहित समग्रमा नेपाल र नेपाली एकतामा गर्व गर्नुपर्ने विषय र भावका कविता प्रस्तुत गरेका थिए । ती दुवै कार्यक्रमको सहआयोजकमा जनसाहित्यिक मञ्च, सुनसरी र धरानस्थित अनेरास्ववियु क्याम्पस समितिहरु र क्याम्पस समिति, जनता बहुमुखी क्याम्पस, इटहरी रहेका थिए । मञ्चका सचिव तथा युवा समालोचक गिरिराज खतिवडाले धरानको कविगोष्ठी आयोजनाको संयोजनको मूल मियोका रुपमा रहेका जिम्मेवारी पूरा गरेका थिए । ३. देश दुखिरहेको बेला सर्जक हास्न सक्छन् ? केही कुपुत्रहरु अहिले दुर्वचन र दुष्कर्मका फलामे सुइराले नेपाल आमाको छातीमा घोची रहेका छन्, विदेशीको इशारा र उक्साहटमा मातृभूमि नेपाललाई क्षतविक्षत पार्न उद्यत देखिन्छन् । लोकतन्त्र र गणतन्त्र आएपनि नेपाल आमाको अनुहारमा खासै खुशी छाएको देखिन्न । आमा रोग, भोक र शोकले ग्रस्त सन्तानहरु देखेर चिन्तित छन् । आमाका यी असह्य दुःखमाथि नुनचुक छर्किरहेका छन् । तराई, पहाड र हिमालका आफ्ना सिदासादा भोलाभाला लालाबालालाई जात, भात, नाक र नश्लका आधारमा उल्क्याएर आफ्नै छाती चिर्न हौसिएका केही कपूत देखेर नेपाल आमा धर्धरी रोइरहेकी छन् । राजेन्द्र महतो, सीके राउत, सीके लाल, लगायतहरु तराई–मधेश विखण्डनको तयारीमा छन् । उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ नेपाल आमाको छाती चिर्न तन, मन र धनले लागिपरिरहेका छन् । श्रीलङ्का अखण्ड स्वतन्त्र र स्वाधीन राष्ट्रलाई विखण्डन गर्न त्यहाँका असन्तुष्ट तामिलहरुलाई भित्रभित्रै उल्क्याएर उग्रवादी बाटोतिर धकेल्ने भारतीय शासकको छिमेकी नीति जगजाहेर भएको छ । श्रीलङ्कालाई तामिल र सिंहाली नामका दुई राष्ट्र बनाउन उद्यत तत्कालीन भारतीय सरकारले त्यसका लागि तामिल उग्रवादीहरुलाई वर्षौंसम्म दैनिक तीन करोडसहित सारा बन्दोबस्तीका सामान उपलब्ध गराएको मिसन टु रअ नामको किताबमा आर. के. यादव नामका पूर्व रअका प्रमुखले उल्लेख गरिसकेका छन् । जुनसुकै तन्त्र आएपनि आफ्ना सन्ततिका अनुहारमा सुख, शान्ति र खुशी नआइरहेको देखेर दुखी भइरहेका अवस्थामा उल्टो केही कुपुत्रहरु नेपाल आमाका घाउमा नुनचुक दलिरहेका छन् । एक समय भारतीय शासकको हैकम विरुद्ध सुरुङ युद्ध गर्ने चरम उग्रवादी माओवादी केन्द्र नामको पार्टी चरम अवसरवादी तथा देशघाती चिन्तन र चरित्रमा परिणत हुन थालेको छ । यस पार्टीका नेता प्रचण्ड तिनै भारतीय शासकका साउमा लम्पसार परिरहेका छन् । अनि कथित नयाँ शक्ति नामको पार्टीका प्रमुख डा. बाबुराम भट्टराई राष्ट्रविरोधी छलकारी नग्न नौटङ्की प्रदर्शन गरिरहेका छन् । अहिले ओलीको ओलिजमबाट डा. बाबुराम भट्टराईको हिप्नोटिजम भयाक्रान्त देखिन्छ । त्यसैले बाबुराम ओलीविरुद्ध बर्बराउन थालेका देखिन्छन् । प्रजातान्त्रिक आन्दोलनको अगुवा भनिने पार्टीका एकाध प्रमुख नेता भने देश र जनताको हितका विषयमा बेवास्ता गरिरहेका छन् । जातीय, धार्मिक, भौगोलिक नामका भुरेटाकुरे पार्टीका नेता भनाउँदा पनि कुनै न कुनै खालको विखण्डनकारी मानसिकताबाट ग्रसित देखिन्छन् । ठीक यस्तो बेलामा राजसा महासङ्घ सुनसरी देश र जनताको अहिलेसम्मकै साह्रै सकसपूर्ण, आतेसपूर्ण तथा सङ्गीनमय घडीमा नेपाल आमाका घाउहरुमा मल्हमपट्टि लगाउँदैछन् । एक थुकी सुकी सय थुकी नदी भन्ने उखानअनुसार महासङ्घ, सुनसरी प्रगतिशील तथा लोकतान्त्रिक देशभक्त सर्जकहरुलाई सङ्गठित गर्दैछ । एकता नै बल हो र अठोट नै शक्ति हो भनेभैंm राजनीतिक सबै वाद, विचार र मान्यताका राष्ट्रभक्त कला, साहित्य र सिर्जना शक्तिलाई देशभक्तिको मूलकेन्द्र वरिपरि गोलबन्द गर्न खोजिरहेको छ । बेलाको बोली र मौकाको काम मात्र कामयाब हुन्छ । हरेक देशभक्त नागरिकका लागि आफ्नी जन्मभूमि हृदयको स्पन्दन र ढुकढकी हुन्छ । यतिबेला कलमधारी प्रगतिशील, प्रजातान्त्रिक र देशभक्त सर्जकहरु आफ्नै मुटुको धड्कन किन छामिरहेका छैनन् ? सर्जकहरु आमाको करुण क्रन्दनलाई विभिन्न बान्कीमा सुललित सिर्जनाहरु किन पस्किरहेका छैनन् ? यतिबेला आम जनतालाई जगाउने बेलामा कुन बेसुरा रचनामा सर्जक रमाइरहेका होलान् ? ऐन–मौकाको आक्रोश र क्रन्दन पनि सौन्दर्यशाली हुन्छ । आमामाथि दुर्वचन र दुव्यवहार भइरहेका चुपचाप हुनु वा रहनु निर्लज्जता हो, कायरता हो लाछीपन हो । नेपालमाथि हैकम लाद्न खोज्नेहरु र तिनको लहैलहैमा लेन्डुपको भूमिकाका कुपुत्रहरु तमाम स्वाभिमानी नेपालीको नाडी छामिरहेका छन् । यस्तो बेलामा मौन रहनु भनेको समर्थन हो– मौनम् सम्मति लक्षणम् । जब समाजको अगुवा भनिने सर्जक, चिन्तक तथा बौद्धिक शक्ति कमजोर हुन्छ देश ओरालो र भिरालोतिर लाग्ने सम्भावना बढ्छ, यो कुरा एक विज्ञले भनेका थिए । अब अलिकति भए पनि देश र जनताका लागि लेख्ने बोल्ने बेला भएन ? भरैभरको यो संसारमा आमाको भर सन्तान नहुने हो भने जननी कसरी सुरक्षित होलिन् ? यो कुरा कुनै अगुवा लेखक कविले सोचेको छ ? आधा आकाश भनेर फुटानी गर्ने आमा लेखकहरु यस विषयमा सङ्गठित रुपमा नलागेको देख्दा छाती चसक्क दुख्न थालेको छ । यस्ता बेलामा कला, साहित्यिक तथा साँस्कृतिक हुङ्कार र झङ्कार लिएर मातृभूमिको रक्षाका सिर्जनाको मैदानमा उत्रिने बेला हो र यसमा मातृपार्टी र यसका अगुवाहरुले आवश्यक सेकताप, सरसहयोग र उत्साह प्रदान गर्नुपर्ने पनि हो । तर मैदान खाली गरिदिएर हामीले लेन्डुपहरुलाई सजिलो पारिदिइरहेको जस्तो देखिन्छ । माओले विषालु विचाररुपी झारपात तुरुन्त उखेल्नु पर्छ भनेका छन् । आँटिलाहरु अग्रभागमा उभ्भिने हो, अरुहरुले साथ–समर्थन र सहयोग गर्ने हो । कान दिएर, मन र ध्यान दिएर एक वचन बोलेर पनि सहयोग गर्न सकिन्छ । आम जनताको सचेतता, सजगता, सतर्कता तथा सबलताले ठूलाभन्दा ठूला देशी वा विदेशी अतिक्रमणकबारी शक्तिले धुलो चाट्नु परेको हामी नेपालीले नै प्रत्यक्ष रुपमा देखे–भोगेका छन् । चाहे सिन्धुलीगढीमा होस् वा नालापानीको दुर्दान्त घडीमा नै किन नहोस्, नेपाली एकता, अखण्डता र स्वाधीनतामा धावा बोल्ने भारतस्थित शस्त्रास्त्रले सुसज्जित सशक्त ब्रिटिश औपनिवेशी शक्ति पराजित भएको थियो । यो काम हामी र हाम्रो एकताबाट नै सम्भव गर्न सक्छौं । सबैभन्दा ठूलो शक्ति विचार र भावना हो । यस भावनामा हामी सबै एकढिक्का हुने हो भने हामीलाई कसैले हल्लाउन सत्तैmन । आफ्नै जननी र जन्मभूमिका दर्दनाक तथा दुःखदायी पीडालाई नदेखेजस्तो स्रष्टा कसरी नेपाली स्रष्टा हुनसक्छ ? आमाकी पनि आमा नेपाल आमालाई लुछ्न, निमोठ्न र तिनमाथि साङ्घातिक आक्रमण गर्न लागेका बेलामा बतासे कविगोष्ठीमा रमाएर कसरी प्रगतिशील कवि भइन्छ ? यसरी कसरी नेपाली लेखक हुन सकिन्छ अनि यसरी कसरी देशभक्त कलाकार भइन्छ ? यस्तो विकट पस्थितिमा कविगोष्ठीका जता धुधु उतै कुदु गर्न सकिन्छ ? नेपाली कला साहित्यको इतिहास हेर्दा पनि पुर्खा सर्जकहरुले कहिल्यै देशभक्तिका अनमोल भावनालाई उजागर गर्देै आएको देखिन्छ । समाजको अत्यन्त सचेत समुदाय भएकाले पनि एउटा लेखकले कुन बेला आफ्ना सिर्जनामा कस्तो लोली र बोली कलात्मक रुपमा प्रवाह गर्ने भन्ने आफैँ बुझ्नु पर्ने कुरा हो । ४. सास्कृतिकर्मीप्रति नेतृत्व उदासीन पार्टीको मोर्चा सङ्गठन मातहत भए पनि महासङ्घ र यसका विभिन्न विधागत घटक संस्था र सर्जकपं्रति अधिकाङ्श एमाले नेतृत्व उदासीन रहेको देखिन्छ । उहिल्यैदेखिको रोग अहिलेसम्म पनि जिम्दै देखिन्छ । साँस्कृतिक इञ्चार्ज तीर्थ मास्के निरन्तर आफ्ना भूमिका निर्वाह गर्न लागिरहेकै देखिन्छन् तर गुटगत अतिसङ्कीर्ण सोचाइका कारण धरान नै मास्केलाई प्रतिकूल देखिन्छ । राम्रा र हाम्रा काममा पनि एकअर्काका बीच रिसारिस गरेर धरान कमजोर हुने अवस्था देखिन्छ । धरानमा गुटका नाममा इतर पार्टीका सहयोग बनेर निजी दुनो सोझ्याउन उद्यत एकाध अगुवा नेताको सुइँको बीपी कोइराला मेमोरियल अस्पताल सूत्रले यस लेखकलाई दिएको छ । यस्तैलाई एकाध केन्द्रीय तहका नेताले प्रोत्साहित गर्न थालेको पनि सुनिन्छ । गुटको असक्षम पनि सक्षम हुने, ठानिने, अयोग्य, गुमनाम तथा बदनाम खालको चरित्रलाई काँधमा बोक्दा नेतृत्वको उचाइ किमार्थ बढ्दैन । मोर्चा सङ्गठनमा पनि युवा र विद्यार्थी तथा बुद्धिजीवीमा प्रायोजित गरिएको विवादले निवर्तमान मोरङ एमाले जिल्ला नेतृत्व कार्यकर्तालाई पुनः पत्यार गरेनन् । यो समस्या सुनसरीमा अझ झाँगिएको देखिन्छ । सुनसरेली कार्यकर्ताको सैद्धान्तिक चेत विकसित गर्ने बित्तिकै गुट र फुटका नाममा निकृष्ट स्वार्थपूर्ति गर्ने पक्ष सुनसरीमा पनि आफ्नै थान्कामा खुम्चिने स्पष्ट सम्भावना देखिन्छ । सुनसरीबाट विजय हासिल गर्ने सभासद्हरुले महासङ्घलाई चुनावका बेला मात्र दोहारीलत्ता हैरान र लखतरान हुने गरी चुनाव क्षेत्रका गाउँघर घुमाउँछन् तर तिनले र तिनबाट संस्थालाई सहयोग गर्ने गराउने काममा पार्टी वा सभासद्ले सोचेको पनि देखिएको छैन । बाजागाजा, सुरलाल, सारस्वर, रियाजका उपयुक्त वाद्यवादन सामग्रीबिना गीत र सङ्गीतको कार्यक्रम मनमोहक हुँदैन । त्यसैगरी सुमधुर ध्वनिलाई प्रक्षेपण गर्ने उपयुक्त संयन्त्रबिना आम स्रोता र दर्शकको ध्यान आकर्षण गर्न पनि सकिँदैन । सुन्दर कलालाई प्रवाह गर्ने सुन्दर प्रविधि पनि चाहिन्छ । यो कुरा कुनचाहिँ नेताले बुझेको छ ? अहिले सम्मेलनमा अध्यक्ष बालकृष्ण सिग्देल, उपाध्यक्ष मनिकुमार राई तथा सचिव दुर्गा पराजुली मात्र दौडधुपमा देखिन्छन् । महासङ्घका कार्यक्रममा आमन्त्रण गर्दा पनि कतिपय केन्द्र र जिल्लाका नेताले वास्ता नगरेको थाहा पाइएको छ । पार्टीमा आबद्ध र समर्थक सर्जकहरुलाई अलग्गै कला साहित्यिक साँस्कृतिक सौन्दर्यशास्त्रीय प्रशिक्षण तथा अन्तत्र्रिmया कार्यक्रम गरे यो क्षेत्र बलशाली हुन्थ्यो तर यस विषयमा जिल्ला हेर्ने केन्द्रीय नेतृत्वको चिन्तनमा नै खडेरी परेकाले टापटिप साइला द्यौसिरेमै नेता रमाइरहेको देखिन्छ ।