स्थानीय तहको चुनाव घोषणाको उत्साहसँगै केही अप्रिय घटनाहरु पनि देखिएका छन् । पछिल्लो समय सप्तरीमा भएको हिंसात्मक घटनाले अब फेरि राजनीति निकासको बाटोेतर्फ नगएर अन्यौलतर्फ नै त धकेलिँदैन भन्ने आशंका पनि जन्माएको छ । अप्रिय घटना नहुनुपर्ने थियो । तर घटना अब भैसकेको छ । भैसकेको यो घटनाबाट पाठ सिकेर आगामी दिनमा संयमता अपनाउँदै थप घटना हुन नदिन सतर्कता अपनाउनुको अब अर्को विकल्प छैन । यो हिंसात्मक घटना अन्तिम भयो भने आगामी दिन फेरि सहज ढंगले अगाडि जाने छन् । यदि त्यस्तो नभएर हिंसाको श्रृंखला दोहोरियो वा प्रतिहिंसा भयो भने त्यसले कहिल्यै निकास दिने छैन, बरु त्यसले देशलाई दल दलमा फसाउने छ । त्यसैले थप हिंसा हुन नदिन सबै पक्षको बुद्धिमतापूर्ण संयमताको आवश्यकता छ । केही दशकदेखि नेपालमा राजनीतिमा हिंसाले प्रश्रय पाउँदै आएको छ । हिंसा गर्ने, त्यसमा प्रतिहिंसा थप्ने र हिंसा र प्रतिहिंसा दुवैलाई मानव अधिकारको उल्लंघनसँग नजोडेर राजनीतिसँग जोड्ने काम विगतमा भएको छ । १० वर्षे द्वन्द्वमा हिंसाको राजनीति चरमतामा थियो । मुलुक शान्ति प्रक्रियामा प्रवेश गरिसकेपछि पनि हिंसाको राजनीतिकोे अन्त्य भएन । एकपछि अर्को हिंसाका श्रृंखला दोहोरिए । हिंसा भए आन्दोलन चर्किन्छ र त्यसले आन्दोलनकारीलाई बल पुग्छ भन्ने नकारात्मक चिन्तनबाट आन्दोलनकारीहरु निर्देशित भए भने सत्ता पक्ष आन्दोलनमा २÷४ जना मान्छे मारेपछि आन्दोलन निमिट्यान्न हुन्छ भन्ने मनोग्रन्थीप्रेरित भयो । तर हिंसाबाट न आन्दोलनलाई उचाइमा पु¥याउन थप बल मिल्यो न आन्दोलन निमिट्यान्न भयो । बरु यस्ता हिंसाले थप अन्यौलता मात्र बढ्यो । यसैले हिंसालाई राजनीतिसँग जोड्दा उल्टो राजनीति नै विकृत भयो । हिंसा कुनै पनि अर्थमा राजनीति हुन सक्तैन । त्यो जुनसुकै बहानामा, जुनसुकै पक्ष वा जुनसुकै अवस्थामा गरिएको होस्, हिंसा हिंसा नै हो । हिंसा मानवलाई अमानव बनाउने प्रमुख सूचक हो । यो राजनीति नभएर जंगली जीवनशैलीको द्योतक हो । झन् प्रतिहिंसा त राजनीति हुँदै होइन । हिंसाले होस् वा प्रतिहिंसाले होस्, न त समाजलाई सुधार्छ न त कुनै परिवर्तन नै हुन्छ । त्यसैले यो परम्परागत चिन्तनबाट सबै पक्ष मुुक्त भै हिंसा र प्रतिहिंसा तत्काल बन्द गरी सभ्य र सुसंस्कृत राजनीतिको परिचय दिनु पर्दछ । हिंसा गर्ने कुरामा कसले हार्ने र कसले जित्ने भन्ने प्रतिस्पर्धा गर्नु हुन्न । यसमा सबै पक्ष उत्तिकै जिम्मेवार हुनु आवश्यक छ । देशको राजनीति अझै संक्रमणमा छ । प्राप्त उपलब्धिलाई संस्थागत गर्न धेरै काम बाँकी छ । जनआन्दोलन २०६२÷६३ मा बलेको असन्तुष्टिको आगो अझै पूर्ण रुपमा निभिसकेको छैन । संविधान कार्यान्वयनमा यावत जटिलताहरु बाँकी छन् । असन्तुष्ट पक्षको विचारलाई संवोधन गर्न नसक्दा संक्रमणकालीन अवस्था लम्बिँदो छ । तथापि समाधानका केही प्रयास भएका छन्, तर पनि ती जनताले अनुभूति गर्ने गरी कामयावी हुन सकेका छैनन् । त्यसैले यो बेला संविधानको कार्यान्वयनमा देखा परेका समस्याको संवोधन गर्ने बेला हो । हिंसा र प्रतिहिंसाको राजनीति गर्ने बेला होइन । जनआन्दोलन–२ पछि अहिलेसम्म जे जति राजनीतिक उपलब्धिको संस्थागत गर्ने काम भयो त्यो कुनै एक पक्षको प्रयासले भएको होइन । सर्वपक्षीय प्रयासका उपज हुन् । यसकारण बुझ्नपर्ने कुरा के हो भने अबका दिनहरु पनि त्यति सहज छैनन् । त्यो असहजताको संवोधन गर्न कुनै एक पक्ष वा शक्तिको प्रयासले संभव हुने देखिँदैन । त्यसैले सत्तामा रहेका दल हुन वा प्रतिपक्षमा रहेका दल हुन् सबै एकै एजेण्डामा आई अगाडि बढ्नुको विकल्प छैन । जबसम्म संविधानको पूर्ण कार्यान्वयन हुँदैन, त्यो अवस्थासम्म सबै राजनीतिक शक्ति एकै ठाउँमा एउटै एजेण्डामा आउनुपर्छ । एक ठाउँमा हुन एकले अर्काको अस्तित्वलाई स्वीकार गर्नुपर्छ । अरुको विचारको पनि सम्मान गर्नुपर्छ । मेरो गोरुको बाह्रै टक्का भने झैँ मैले भनेकै हुनुपर्छ भन्ने हो भने कसैले चाहेको जस्तो पनि हुँदैन । बरु अदृश्य शक्तिले चाहे जस्तो हुन्छ । त्यसैले यति धेरै संघर्ष गरेका दलहरुले त्यो अवस्था आउन दिनु हुँदैन । मधेश आन्दोलनमा दन्केको आगो निभ्नै लागेको थियो । तर सप्तरी घटनाले निभ्न लागेको आगोलाई फेरि जगाइ दिएको छ । साम्य हुँदै गएको अवस्थामा यसले चुनौती थपिदिएको छ । चुनाव हुनु हुँदैन भन्ने पक्षलाई यो घटनाले फाइदा पु¥याएको छ । त्यसैले दलहरु झगडा गरेमा प्रतिगमनलाई फाइदा पुग्छ भन्ने कुरा जिम्मेवार दलहरुले बुझ्नुपर्छ । द्वन्द्वको सिद्धान्तले भन्छ– द्वन्द्वलाई दबाएर कहिल्यै द्वन्द्वको अन्त्य हुँदैन । त्यसैले पछिल्लो समय द्वन्द्व र असहमतिलाई दबाउने वा वेवास्ता गर्ने होइन बरु रुपान्तरण गर्नुपर्ने अवधारणा आएको छ । रुपान्तरणको प्रक्रियामा पहिलो पाइला भनेकै द्वन्द्वका कारणहरुको खोजी हो । त्यसपछि दोस्रो चरणमा त्यसको संवोधन र त्यसमा संलग्नहरुको द्वन्द्व रुपान्तरण प्रक्रियामा सहभागिता हो । तर सत्तामा बस्नेहरुले जहिले पनि द्वन्द्व र आन्दोलनलाई सानो भएसम्म वेवास्ता गर्ने र ठूलो भएपछि दबाउन खोज्ने गर्दा द्वन्द्व भड्केर विकराल रुप लिएका उदाहरण छन् । विगतको माओवादी द्वन्द्व होस् वा मधेश आन्दोलन होस्, समयमा संवोधन नगर्दाका उपज हुन् । मधेशको पछिल्लो आन्दोलन पनि त्यस्तै नहोस् भन्नाका लागि यसलाई समयमै संवोधन गर्नुपर्दछ । यो देशले द्वन्द्व धेरै भोगिसक्यो । अब यो देशलाई द्वन्द्वको आवश्यकता छैन । त्यसैले थप द्वन्द्व नगरौँ । द्वन्द्वको समयमै रुपान्तरण गरौँ । समयमै समस्याको समाधान गरौँ । त्यसैमा सबैको जित हुन्छ । राजनीतिमा असहमतिका स्वरहरु जतिसुकै झिना किन हुन् तिनलाईँ कमजोर आँकलन गरिनुहुन्न । समयमै संवोधन गर्न नसके त्यो झिनो स्वर पछि ठूलो हुन्छ । पछि संवोधन गर्छु भन्दा ढीलो भैसकेको हुन्छ । राजनीतिमा कसैको असहमति भनेको आगोको झिल्को हो । त्यसलाई बेलैमा व्यवस्थापन नगरे डढेलेमा परिणत हुन्छ । त्यसपछि त्यसलाई निभाउन गाह्रो हुन्छ । चाहेर पनि निभाउन सकिन्न । आगो दन्केपछि पछुताउनु बाहेक अर्को विकल्प हुन्न । सप्तरी घटनामा कोही न कोही दोषी पक्कै छन् । तर यति बेला दोषी को हो भनेर आरोप प्रत्यारोप गर्नुभन्दा पनि सबै पक्षले त्यस घटनाप्रति आत्मआलोचना गर्दै अब त्यस्तो घटना हुन नदिन आवश्यक सतर्कता अपनाउने र एक अर्काप्रति आक्रोशपूर्ण व्यवहार नगरी संयमता अपनाउने समय हो । यदि त्यसो गरिएन भने त्यो द्वन्द्व गर्ने पक्षलाई मात्र होइन देशकै लागि प्रत्युत्पादक हुन्छ । यतिबेला कसैले उग्रता प्रदर्शन गरेर आफू बहादुर बनिन्छ भन्ने सोचेको छ भने त्यो उसको भ्रम हो । जति उग्रता उति नै जनताका नजरमा टाढिनु पर्छ । जो उग्र हुन्छ, जनमत उसको विपक्षमा जान्छ । चुनावको बेला जनमत नगुमाउने हो भने उसमा संयम र धैर्यताको खाँचो छ । सप्तरी घटना नहुनुपथ्र्यो । तर भयो । अब भैसकेको घटनालाई उल्ट्याउन सकिँदैन । तर थप त्यस्ता घटना नहोस् भनेर सतर्कता अवश्य अपनाउन सकिन्छ । यसरी सतर्कता अपनाउनुको सट्टा बलेको आगोमा घिऊ थप्दै जाने हो भने त्यो आगोले जनआन्दोलनका उपलब्धिमाथि नै औला ठड्याउँछ । यस्ता द्वन्द्वले विखण्डनवादी शक्तिलाई थप बलियो बनाउँछ । त्यसैले अब सप्तरीमा सल्केको आगोमा घिउ नथपौँ । पानी हालौँ । यसैमा सबैको हित छ । आगोले अरुलाई मात्र जलाउँदैन आफूलाई पनि जलाउँछ भन्ने कुरा कसैले पनि नभुलौँ । कुनै पनि जिम्मेवार दल देशमा आगो बालेर मूकदर्शक नबनौँ ।