काठमाडौं । नेपाल सरकारका तर्फबाट नेपाल राष्ट्र बैङ्कको राष्ट्रऋण व्यवस्थापन विभागले यही चैत २ गतेदेखि २४ गतेसम्म २५ करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र विक्री गर्दै छ । विभागले बचतपत्र खरीद गर्नेका लागि ५ वर्षको अवधिसम्म ६/६ महीनामा १० प्रतिशतका दरले ब्याज भुक्तानी हुने गरी उक्त बचतपत्र विक्री गर्न लागेको हो । यसअघि माघ १७ गते ५० करोड रुपैयाँबराबरको वैदेशिक रोजगार बचतपत्र निष्कासन गरेपछि खासै विक्री नभएकाले फेरि आह्वान गरिएको राष्ट्रऋण व्यवस्थापन विभागको भनाइ छ । २०७३ चैत ३० गते निष्कासन गरिने ‘वैदेशिक रोजगार बचतपत्र २०७८’ वैदेशिक रोजगारीमा संलग्न नेपाली नागरिक तथा गैरआवासीय नेपालीका लागि निष्कासन गरिएको हो ।
प्रत्येक ६ महीनामा प्राप्त हुने ब्याज बचतपत्र खरीदकर्ता आफैले वा इच्छाइएको व्यक्तिमार्फत भुक्तानी लिन सकिने व्यवस्था केन्द्रीय बैङ्कले गरेको छ । तोकिएका व्यक्तिले आफूलाई पायक पर्ने वाणिज्य बैङ्कहरू, बजार निर्माताको इजाजतपत्र लिएका बैङ्क तथा वित्तीय संस्थाहरू र काठमाडौं उपत्यकाबाहिरका नेपाल राष्ट्र बैङ्कका कार्यालयहरूबाट ब्याज भुक्तानी लिन सक्नेछन् ।
राष्ट्र बैङ्कले २०७८ चैत ३० गते साँवासहित रकम फिर्ता हुने बताएको छ । सो बचतपत्रका लागि बैङ्कले कम्तीमा रू. ५ हजार र बढीमा रू. ५ हजारले भाग गर्दा निःशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरीद गर्न पाउने सीमा तोकेको छ । यो बचतपत्र मुलुकबाहिर रोजगारीमा संलग्न वा मुलुकबाहिरको रोजगारीबाट फर्केको ४ महीना नपुगेका नेपाली नागरिक वा गैरआवासीय नेपालीले आफू वा आफ्नो परिवारको सदस्य (बुबा, आमा, श्रीमान्, श्रीमती, छोरा, छोरी मात्र)को नाममा खरीद गर्न पाउने छन् । केन्द्रीय बैङ्कका अनुसार यो बचतपत्र धितो राखी बैङ्क तथा वित्तीय संस्थाबाट कर्जा लिन सकिनेछ ।
यो बचतपत्र खरीद विक्रीसम्बन्धी अन्य व्यवस्था प्रचलित ऐन, नियम तथा वैदेशिक रोजगार बचतपत्रसम्बन्धी कार्यविधि, २०६९ तथा खुलाबजार सञ्चालन समितिको निर्णयबमोजिम हुनेछ । त्यसका लागि आवेदन फारम विक्री एजेण्टमार्फत निःशुल्क रूपमा प्राप्त गर्न सकिने तथा नेपाल राष्ट्र बैङ्कको वेबसाइटबाट समेत डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।
केन्द्रीय बैङ्कका अनुसार वैदेशिक रोजगार बचतपत्र खरीद गर्न नेपालभित्र १३ ओटा विक्री एजेण्ट तोकिएका छन् । सोअनुसार सिटिजन्स् (कमलादी), एनएमबी (बबरमहल), नबिल (तीनधारा, दरबारमार्ग), माछापुच्छ्रे (लाजिम्पाट), प्रभु (अनामनगर), सनराइज (गैह्रीधारा), सिद्धार्थ (हात्तीसार), सानिमा (नक्साल), सेञ्चुरी कमर्शियल (पुतलीसडक), प्रभु मनी ट्रान्सफर (लैनचौर), सिटी एक्सप्रेस मनी ट्रान्सफर (कमलादी), आईएमई (पानीपोखरी) र सेवा रेमिट (कुलेश्वर)मा खरीद गर्न चाहनेले आवेदन बुझाउन सक्नेछन् ।
नेपालबाहिर कतार, मलेशिया, अमेरिका, भारत, साउदी अरब, यूएई, जापान, कोरिया, बहराइन, अष्ट्रेलिया, यूकेलगायत देशमा ८ ओटा विक्री एजेण्ट तोकिएका छन् । आईएमई, प्रभु मनि ट्रान्सफर, प्रभु बैङ्क, सेञ्चुरी कमर्शियल बैङ्क, सनराइज बैङ्क र सेवा रेमिटको विभिन्न देशमा रहेका शाखामार्फत आवेदन बुझाउन पाइने राष्ट्र बैङ्कको सूचनामा उल्लेख छ । रीतपूर्वक पेश नभई अस्वीकृत भएका आवेदनसाथ जम्मा हुन आएको रकम बिना ब्याज निष्कासन मितिपश्चात् ७ दिनभित्र फिर्ता गरिने बताइएको छ ।
वैदेशिक रोजगारी बचतपत्र भनेको के हो? आवेदन दिँदा के आवश्यक पर्छ? वैदेशिक रोजगारीमा काम गरिरहेका नेपालीलाई लक्षित गरी राष्ट्र बैङ्कले वैदेशिक रोजगार बचतपत्र निष्कासन गर्दै आएको छ । बचतपत्र खरीदकर्ताले यसलाई बैङ्क तथा वित्तीय संस्थामा धितो राखेर समेत कर्जा लिन सकिने भएकाले उपयोगी छ ।
आवेदनका साथै पेश गर्नुपर्ने कागजातहरूमा राहदानी, कार्यरत मुलुकको भिसा (भारतबाहेक अन्य मुलुकमा कार्यरत कामदारका लागि मात्र), कार्यरत कम्पनीको आधिकारिक परिचयपत्र (म्याद ननाघेको)को प्रतिलिपि, २ प्रति पासपोर्ट साइजको फोटो, विदेशी मुद्रा नेपालमा भित्रिएको प्रमाणस्वरूप विदेशी मुद्रा सटही रसिद वा नेपालमा विदेशी मुद्रामा खाता रहेको भए सो खाताबाट विदेशी मुद्रा सटही गरेको भौचर उपलब्ध गर्नुपर्छ । परिवारका सदस्यको नाममा खरीद गर्ने भए सो सदस्यको नागरिकताको प्रतिलिपि र नाता प्रमाणित कागजात आवश्यक पर्छ भने नाबालकको नाममा संरक्षक भई खरीद गर्ने भएमा नाबालकको जन्मदर्ता प्रमाणपत्र पेश गर्नुपर्छ ।