मधेशी मोर्चा हिंसात्मक विरोधमा ओर्लिएपछि नेकपा एमालेले ‘मेची–महाकाली राष्ट्रिय अभियान’ तीन दिनका लागि स्थगन गरेको थियो । २४, २५ र २६ गतेका निर्धारित कार्यक्रमहरू स्थगित भए पनि फागुन २७ गते हेटौंडाबाट पूर्वनिर्धारित तालिकाअनुसार कञ्चनपुरसम्मको कार्यक्रमले निरन्तरता पाएको छ । यो अभियानमा तराई मधेशका २२ जिल्लाका ३३ स्थानमा आमसभा गर्ने कार्यक्रम छ । संविधान कार्यान्वयन र राष्ट्रिय एकताको नारासहित १५ दिने राष्ट्रिय अभियान फागुन २१ गते काँकडभिट्टाबाट शुरु भएको थियो । यो अभियान राष्ट्रिय एकता, स्वाधीनता, सामाजिक सद्भाव, अखण्डता र राष्ट्रिय स्वाभिमानमा केन्द्रित छ । यो अभियान २०६२÷०६३ को जनक्रान्तिका उपलब्धिहरूलाई संस्थागत गर्न केन्द्रित छ । २०७४ माघ ७ भित्र तीनवटै तहको निर्वाचन सम्पन्न गरी आर्थिक समृद्धिको दिशातर्फ राष्ट्रलाई उन्मुख गराउन प्रतिबद्ध छ ।

शान्तिपूर्ण गरिएको सभा–सम्मेलन रोक्ने र हिंसात्मक विरोध गरी मधेशी मोर्चाले अलोकतान्त्रिक र गैरजिम्मेवार चरित्र प्रदर्शन गरेको छ । कुनै पनि दललाई विनाअवरोध सार्वजनिक स्थानमा शान्तिपूर्वक ¥याली र सभा गर्ने स्वतन्त्रता संविधानले नै सुनिश्चित गरेको छ । यो संविधान प्रदत्त हक–अधिकारलाई कोही कसैले कुण्ठित गर्न सक्दैन, पाउँदैन । यो घटना एमालेविरुद्ध जस्तो देखिए पनि राष्ट्रिय स्वाभिमानविरुद्धको षड्यन्त्र हो । देशलाई विखण्डन गर्ने देशी–विदेशी शक्तिहरूले यो घटना गराएका छन् । मधेशी मोर्चा विखण्डनकारी शक्तिका रूपमा देखा परेको छ । यो घटनामा एमालेका नेताहरूको सामूहिक हत्या प्रयासमा मधेशी मोर्चा केन्द्रित थियो ।

अभियान भव्य, प्रभावकारी, शान्तिपूर्ण ढङ्गले अगाडि बढिरहेको र लाखौँ जनता उत्साहपूर्वक सहभागी भइरहेको अवस्थामा सप्तरी घटनाबाट सारा देशभक्त नेपाली स्तब्ध भएका छन् । संविधान प्रदत्त अधिकारको प्रयोग गर्दै शान्तिपूर्ण अभियानमा निस्किएको एमालेलाई प्रवेश निषेधको धम्की दिएर मधेशी मोर्चाले अलोकतान्त्रिक र आततायी व्यवहार प्रदर्शन गरेको छ । कार्यक्रममा सहभागी हुन हिँडेका लाखौँ सर्वसाधारणमाथि साङ्घातिक आक्रमण गर्ने, कार्यक्रम स्थल नजिकै विस्फोटक पदार्थ राख्ने र संयमपूर्वक आफ्नाे कर्तव्य निर्वाह गरिरहेका सुरक्षाकर्मीमाथि ढुङ्गामुढा, पेट्रोल बम प्रहार गर्नेजस्ता काम गरेर मधेशी मोर्चाले अत्यन्त अराजक र हिंसात्मक गतिविधि प्रदर्शन गरेको छ । यो घटना मधेशी मोर्चाको आवरणमा संविधानलाई असफल पार्ने देशी–विदेशी शक्तिको खेल हो । विदेशी शक्ति नेपालमा मुठभेड र विखण्डन चाहन्छ । मधेशी मोर्चा विदेशी शक्तिको गोटी बनेको छ ।

मधेशी मोर्चाले एमालेलक्ष्यित हिंसात्मक अवरोध बन्द गर्नुपर्छ । बरु आफ्ना कुरा जनतालाई बताउन यस्तै सभा–सम्मेलन शान्तिपूर्ण रूपमा सञ्चालन गर्नुपर्छ । मोर्चाले अन्य दललाई निषेध गर्नुभन्दा अाफुलार्इ सच्याउनुपर्छ । अन्य राजनैतिक दलहरूलाई आफ्ना मागमा कन्भिन्स गर्न सक्नुपर्दछ । एमाले मधेशमा आउँदा मधेशी मोर्चाले संयम अपनाउनुपर्छ । यसले राजनैतिक संस्कारको विकास गर्छ । एमालेलाई संविधान संशोधनका लागि नैतिक दवाब सिर्जना गर्न सक्छ । एमालेलाई निषेध गरेर संविधान संशोधन हुन सक्दैन । एमालेको सहमतिविना मधेशी मोर्चाको माग पूरा हुन सक्दैन । निरन्तर वार्तामार्फत् मधेशी मोर्चाले आफ्ना कुरा एमालेलाई बुझाउनुपर्छ । त्यसैले मधेशी मोर्चाले एमालेलाई मधेशमा निषेध हैन, स्वागत गर्न सक्नुपर्छ । मधेशका नागरिक र बुद्धिजीवीहरूले यो अभियानमा एमालेलाई तराई मधेशमा स्वागत गरेर संविधान संशोधनका लागि नैतिक दवाब सिर्जना गर्न सक्छन् / सक्थे ।

एमालेले सप्तरीमा आयोजना गरेको आमसभा बिथोल्न गएको समूहमाथि प्रहरीले गोली चलाउँदा पाँचजना मारिएको घटना दुःखद् छ । त्यहाँ त्यसरी गोली नै प्रहार गर्नुपर्ने अवस्था थियो वा थिएन ? निष्पक्ष छानविन गरिनुपर्छ । प्रधानमन्त्रीले बारम्बार गोली नचलाउन निर्दशन गरे पनि गृहमन्त्रीको आदेशमा गोली चलाइएको बताइएको छ । गोली चलाउने बाध्यकारी परिस्थिति नभए पनि उनको आदेशले दुःखद् घटना भएको छ । गृहमन्त्री विमलेन्द्र निधीको क्रियाकलाप शंकास्पद देखिन्छ । उनले गत फागुन १५ गते सिरहाको लहानमा भएको महिला सङ्घको कार्यक्रममा एमालेलाई तराईमा निषेध गर्न कार्यकर्तालाई उर्दी गरेका थिए । उनले एमाले राष्ट्रघाती पार्टी भएकोले यसलाई मधेशबाट बढार्नुपर्ने उर्दी जारी गरेका थिए । उनले एमाले संविधान संशोधन र कार्यान्वयन विरोधी, सङ्घीयताविरोधी, मधेश र मधेशी विरोधी भएको बताउँदै कार्यकर्तालाई उत्तेजित गरेका थिए । गृहमन्त्रीको उर्दीपछि मोर्चाका कार्यकर्ताहरू थप उत्तेजित र आक्रामक भएका थिए । उनीहरूले गाउँ–गाउँमा मसाल जुलुससहित एमालेविरुद्ध नाराबाजी गरेका थिए । एमालेका सप्तरी जिल्ला उपसचिव प्रतापनारायण चौधरी र सचिव शम्भु यादवमाथि दुव्र्यवहार गर्नुका साथै सांसद् रञ्जु ठाकुर चढेको गाडी तोडफोड गरेका थिए । उनले एमालेको अभियानलाई निषेध गर्न जथाभावी गोली प्रहार गर्ने आदेश दिएका त थिएनन् ? निष्पक्ष छानविन गरिनुपर्छ ।

मेची–काली अभियानमार्फत् एमालेले तराई मधेशमा बसोवास गर्ने जनतामा रहेको संविधान विरोधी भ्रमलाई चिर्न चाहन्छ । संविधानका जनपक्षीय अन्तर्वस्तु र यसमा एमालेको भूमिका प्रष्ट गर्न चाहन्छ । तराई मधेशका जनताको पहिचान, आत्मसम्मानको व्यवस्था, भाषा–संस्कृतिको संरक्षण र विकासको धारणा व्यक्त गर्न चाहन्छ । महिला हिंसा, जातीय भेदभाव र छुवाछुत अन्त्यका लागि अभियान केन्द्रित छ । जमीनदारी, कालाबजारिया, शोषणको अन्त्य, सिँचाइको व्यवस्था, कृषिको विकास, आधुनिकीकरण र बजारीकरणमा अभियान केन्द्रित छ । शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षा, आवास र संरचनाको व्यवस्थामा केन्द्रित अभियान हो । विद्युतीकरण, औद्योगीकरण र पर्यटनको विकास गरी रोजगार व्यवस्था गर्न चाहन्छ एमाले । एमाले सिमानाको रक्षा, डुबान समस्याको समाधान, डुबान, कटान, क्षतिपूर्ति र सट्टाभर्नाको व्यवस्था गर्न चाहन्छ । यो अभियान चुरे पहाड र वन संरक्षण, सडक र पुलहरूको व्यवस्थापन तथा विकासमा केन्द्रित छ । किसानहरूको हित हुने गरी कृषिको व्यावसायीकरण, बजारीकरण, मल बीउ, कीटनाशक औषधि, कृषि उपकरणहरू, सिँचाइ, भण्डारणमा किसानलाई एथेष्ट सहुलियत र पर्याप्त अनुदानको व्यवस्था गर्न, कृषकहरूलाई निःशुल्क व्यावसायिक तालीमको व्यवस्था गर्न र कृषकहरूको बिमा र पेन्सनको व्यवस्थाका लागि आवश्यक जनमत निर्माण र जनदवाब सिर्जना गर्न अभियान चलाइएको हो ।

भूकम्पपीडित, बाढीपीडित, पहिरोपीडित, वन्यजन्तुपीडित, सुकुम्वासी, अव्यवस्थित बसोवास, विपन्न, सीमान्तकृत समुदाय, मजदुर, किसान र बेरोजगारहरूका समस्या उजागर गर्न र समाधानका लागि दवाब सिर्जना गर्न यो अभियान केन्द्रित छ । ज्येष्ठ नागरिक, असक्त, अपाङ्ग, विधवाहरूको संरक्षण र सुरक्षा गर्न समाज र सरकारलाई सचेत बनाउन दवाबका लागि यो अभियान केन्द्रित छ । एकताबद्ध नेपाली समाज र नागरिकहरूलाई जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, सांस्कृतिक ढङ्गले विभाजन गर्न भइरहेको जनघाती, राष्ट्रघाती प्रयत्नको भण्डाफोर गर्न र सामाजिक तथा जातीय, क्षेत्रीय, भाषिक सद्भाव बलियो बनाई राष्ट्रिय एकताको प्रवद्र्धनमा केन्द्रित छ यो अभियान ।

वर्तमान माओवादी–काङ्ग्रेस गठबन्धन सरकारले लिएको लम्पसारवादी नीतिको विरोध र नेपालको आन्तरिक मामिलामा वैदेशिक हस्तक्षपको अन्त्य गरी सबै मित्रराष्ट्रहरू विशेष गरी दुवै छिमेकी राष्ट्रहरू भारत र चीनसँग असंलग्न परराष्ट्र नीति, पञ्चशीलको सिद्धान्त, समानता र पारस्परिक हितको आधारमा सन्तुलित र मित्रवत् सम्बन्ध स्थापित गर्ने कामको महत्व उजागर गर्न यो मेची–महाकाली राष्ट्रिय अभियान केन्द्रित छ ।

मधेश केन्द्रित दलहरू देशमा मुठभेड निम्त्याएर देशलाई सङ्कटमा धकेल्न चाहन्छन् । उनीहरू स्थानीय तहको अधिकारलाई कटौती गर्न चाहन्छन् । स्थानीय तह प्रदेशअन्तर्गत रहनुपर्ने जिकीर गर्छन् । सरकारले घोषणा गरेको स्थानीय तहको निर्वाचनलाई बहिष्कार गर्ने बताएका छन् । उनीहरूले प्रचण्ड सरकारलाई एक हप्ताभित्र स्थानीय तहको निर्वाचन फिर्ता लिन अल्टिमेटम दिएका छन् । उनीहरू देशमा अस्थिरता निम्त्याउन चाहन्छन् । मधेश र पहाडको एकतालाई खलबल्याउन चाहन्छन् । अब मधेश केन्द्रित दलहरूले देशलाई विखण्डन गर्ने आन्दोलनलाई बन्द गर्नुपर्छ । नयाँ संविधानका कतिपय कुराहरू चित्त नबुझे सो विषयलाई मुद्दा बनाई निर्वाचनमा जानुपर्छ । जनताले तिनका मुद्दालाई स्वीकार गरी निर्वाचित गरेमा मधेश केन्द्रित दलहरूले आफ्नो इच्छाअनुसार संविधान संशोधन गर्न सक्छन् । जनता जनार्दन हुन् । जनताको पैmसला सबैले स्वीकार्नुपर्छ । विभिन्न बहानामा अब देशलाई बन्धक बनाउनु हुँदैन । मधेश केन्द्रित दलहरूले आफ्नाे हठ त्याग्नुपर्छ ।