[caption id="attachment_33010" align="alignleft" width="199"] भाेजराज श्रेष्ठ[/caption] फागुन १७ गते धरान–१६ पुण्यमार्गमा धरान हल्लाउने घटना भयो । त्यो हो, १३ वर्षीय अनुशा राई शंकास्पद मृत्यु प्रकरण । यो मृत्युले धरानका चोक–चोक जाग्यो । स्कुल–स्कुलका विद्यार्थीहरु जागे । हरेकको दिमागमा त्यो घटनाले बास ग¥यो । बालअधिकारका आवाजहरु उठे । पीडितलाई न्याय दिलाउन समिति बन्यो । हेर्दा सामान्य लाग्ने, तर गम्भीर प्रकृतिको यो घटनाले धरानलाई एकपटक सोच्न बाध्य बनायो । सरसर्ती घटनाको अध्ययन गर्दा किशोरीमाथि कही न कही ज्यादती भएको घटनाक्रममा देखिन्छ । तर, कुन रुपमा ज्यादती भयो भन्ने विषयमा भिषरा र भेजाइनल स्वाबको रिपोर्टले थप पुष्टी गर्ला । म त्यतातिर जान चाहान्न । ८ वर्ष अघि बलिमान राई र पदमकुमारी राई दम्पतीले जसरी धर्मपुत्रीको रुपमा पालनपोषण गर्छु भनेर बुबा जितबहादुर राईको साथ छुटाएर ल्याएका थिए । त्यो अभिभारा सायद राई दम्पतीले पूरा गरेनन् कि ? भन्ने आशंङ्का सिर्जना गर्ने आधारहरु किशोरीको मृत्यु प्रकरणपछि बनेको छानविन समितिले दिएको अभिव्यक्तिबाट पनि प्रष्टिन्छ । उक्त समितिले भनेको कुराहरु पुष्टी गर्नकै लागि इलाका प्रहरी कार्यालयले मुचुल्का उठाउने क्रममा त्यहाँबाट ल्याएको कपडा तथा अन्य कुराको रिपोर्टले थप पुष्टी गर्ला । किशोरीको मृत्यु पछि गरिएको प्रारम्भिक रिपोर्टका क्रममा किशोरीले आफैले आफैलाई मार्न खोजेको कुराले उनीमाथिको ‘ज्यादती’ भएको आधार प्रमाणहरु फेला पार्न सकिन्छ । किशोरीले चारपटक देब्रे हातको नाडीमा धारिलो हतियारले काटेको पुरानो दाग चिकित्सकले पोष्टमार्टमका क्रममा फेला पार्नुले त्यो कुरालाई पुष्टी गर्दछ । र, मलाई चिकित्सकले भेटमा भनेका थिए, ‘त्यस्तो दाग आत्महत्याको प्रयासमा मात्रै हुन्छ । बच्ची कुनै न कुनै रुपमा मानसिक तनावमा थिइन् भन्ने तर्फ त्यो दागले संकेत गरेको छ ।‘ र, छानविन समितिले किशोरीले लेख्ने कपीमा ‘आजदेखि आमाले भनेको सबै कुरा मान्नेछु, भाडाकुडा टल्काएर राख्नेछु, भनेको कुरा पनि म मान्नेछु’ लगायत लेखेको पाउनुले पनि उनीमाथि ज्यादतीको संकेत गर्दछ । उनी मानसिक र शारीरिक दुबै रुपमा पीडित थिइन् भन्ने कुरा चिकित्सकको प्रारम्भिक रिपोर्टमा पनि खुलेको थियो । त्यो बेलामा चिकित्सकहरुले उनको ‘भेजाइना’ को प्रकृति र वनावटमा केही फरकपन आएको देखिएको बताएका थिए । र, उनलाई एकदमै साँघुरो, अस्तव्यस्त र अध्यारो कोठामा राखिएको कुरा पछि समितिले बताएको थियो । जहाँ भान्सामा प्रयोग गरिने अन्यबस्तुहरु पनि भण्डारण गरिने कोठा थियो । त्यस्तो कोठामा राखिएकी उनलाई पढ्ने वातावरण सिर्जना गरिएको थिएन् भन्ने कुरा उनको पढाईले पनि थप पुष्टी गर्दछ । १३ वर्षीया किशोरीले कम्तीमा पनि ५ कक्षा अध्ययन गरिरहेको हुनु पर्ने हो । तर, त्यो देखिदैन् । जवकी अनुषालाई राई दम्पतीले पालनपोषण गर्न लादा करिव ५ वर्षको रहेको बुबा जितबहादुरले बताएका थिए । अर्को स्मरणीय कुरा त के भने, जितबहादुरले छोरी भेट्न जाँदा पनि गेट बाहिरबाट भेट्नु परेको व्यथा सुनाएका थिए । ८ वर्षमा दुईपटक भेट्न जाँदा एकपटक मात्रै गेटमा भेट्न दिएको उनले बताएका थिए । अर्कोपटक जाँदा त्यो अवसर पनि प्राप्त नगरेको पीडा पत्रकार सम्मेलनमा व्यक्त गरेका थिए । यसले पनि उक्त घरको पारिवारिक वातावरण कस्तो थियो भन्ने कुराको संकेत गर्दछ । थप स्मरणीय कुरा, जतिखेर बच्चीले धानमा राख्ने विषादी सेवन गरेर मृत्युवरण हुन पुगिन् त्यसपछि गाउँलेलाई पनि थाहै नदिई कफिन बक्स निर्माण गर्न नजिकैको फर्निचरमा गए । त्यहाँबाटै उक्त घटना बाहिरिएको थियो । सामान्यतः कुनै पनि घरमा मृत्यु भयो भने, कम्तीमा पनि वल्लो–पल्लो घरलाई थाहा हुन्छ । तर, त्यहाँ कसैलाई थाहा दिइएको छैन् । अरु त अरु अनुषाका बुबा जितबहादुरलाई समेत यस बारेमा जानकारी गराउन उनीहरुले उचित ठानेको देखिदैन । यसले पनि ‘दालमे कुछ काला है’ तर्फ संकेत गर्दछ । घटनाको प्रकृति र विभिन्न आयामहरुले अनुषाको हत्या भएको संकेत गरेको छ । तर, कानुनी उपचार गर्ने प्रहरीहरुले घटनालाई सामान्य रुपमा लिएको देख्दा आम जनतामा केही प्रश्नहरु उब्जिएका छन् । र, उब्जिनु स्वभाविक पनि हो । कानुनी कठघरामा उभ्याउने, कारबाही गर्ने, अनुसन्धान, दोषी या निर्दोष सावित गर्ने अधिकार नेपालको कानुनले आम नागरिकलाई हैन, प्रहरीलाई नै प्रदान गरेको छ । त्यो काम प्रहरीले नै गर्नुपर्छ । सामान्य नागरिकले हत्या भयो भनेर आरोप लगाउनु कुनै अनौठो नहोला । तर, त्यसको गहिराईमा पुग्ने जिम्मेवारी पाएको अधिकार प्रदत्त प्रहरीले सामान्य रुपमा बुझ्नु अर्को गम्भीर त्रुटी हुन जाने छ । र, भोलीका दिनमा प्रहरीप्रति जनताको विश्वास उडेर जाने छ । त्यसतर्फ पनि प्रहरी सचेत हुन आवश्यक छ । अनुषाको शंकास्पद मृत्युपछि बालअधिकारकर्मी, तथा वडा नागरिक मञ्चहरुले जुन खाल्को भूमिका खेले । त्यो आफैमा स्मरणयोग्य छ, तारिफ योग्य छ । तर, उनीहरुले गरेको एउटा गम्भीर त्रुटीको यहाँ कुरा गर्नैपर्छ । त्यो के भने, अनुषाको अर्धनग्न फोटो सामाजिक सञ्जालहरुमा सार्वजनिक गर्नु । उनले बाँचुञ्जेल त सहज जीवन बिताउन पाइनन्–पाइनन् । मरेपछि पनि उनको जीवनमाथि खेलवाड गर्ने काम भइरह्यो । कम्तीमा पनि उनको त्यो फोटो सार्वजनिक नर्गनु श्रेयस्कर हुन्थ्यो । मरेपछि पनि उसलाई बारम्बार मारियो । पीडितलाई न्याय दिलाउने नाममा के गर्नुहुन्छ ? के गर्नु हुँदैन भन्ने कुराको हेक्का राख्नु पथ्र्यो बालअधिकारकर्मी भनाउँदाहरुले । त्यसरी अर्धनग्न मृत शरीरको तस्बिर खिचेर सार्वजनिक गर्नु पनि अर्को अपराध हो । बलिमान र पदमकुमारी राई दम्पतीले गरेको अपराधको पुष्टी हुँदै जाला । तर, पीडितलाई न्याय दिलाउने नाममा पीडितको अर्धनग्न तस्बिरहरु सामाजिक सञ्जालहरुमा पोष्ट गर्नु चाही बुद्धिमानी हो त ? पक्कै होइन् । त्यसतर्फ महिला अधिकारकर्मी, बालअधिकारकर्मी र वडा नागरिक मञ्चका पदाधिकारीहरुले सोचोस् । यस्ता गम्भीर त्रुटीहरु अधिकार दिलाउने नाममा गर्नु भएन् । त्यसतर्फ अवका दिनमा बुद्धिमता अपनाइयोस् । किशोरीले अझै न्याय पाइसकेकी छैनन् । न्याय पाउने चरण मै छिन् । केही रिपोर्टका बाबजुद अन्तिम सत्य बाहिर आउला । प्रहरीले त्यो सत्यलाई बाहिर ल्याउला । आशा गरौं ।