[caption id="attachment_34908" align="alignleft" width="225"] इश्वर अर्याल[/caption]

नेपालमा आजकल धेरैलाई एउटा गजबको चिन्ताले सताएको छ — तराई भारतले लाने भो भन्ने चिन्ता । यसलाई प्रस्तुतिले गजब बनाएको हो । अझ बढी गजबको कुरा के हो त भन्ने यस्तो चिन्ता चाहिँ पहाड या काठमाडौं या विदेशमा बसेर गर्ने गरिन्छ ।

भारतले तराई कसरी लैजान्छ भन्ने कुरा भने सतहमा छैन । पूर्वदेखी पश्चिमसम्म लमतन्न परेको सम्म भूभाग हो तराई । यहाँका खेतमा लटरम्म धान फल्छन् । यसलाई नेपालको अन्नभण्डार पनि भनिन्छ । तराई आफैंमा गजबको ऊर्वराशक्ति भएको जमीन हो । सयौं वर्षदेखि यो नेपालको अभिन्न र अक्षुण्ण अंग बनेर हिमाललाई टक्कर दिएर उभिएको छ । देख्नेहरूले यसलाई सुतेको देख्छन् तर वास्तवमा यसले नेपाललाई विश्वसामु उभ्याइदिएको छ । तराईका मान्छे पनि गजबकै छन् । उनीहरूले बोल्ने भाषामा लयमिश्रित मैथिली, भोजपुरी या अन्य त्यस्तै भाषाको आभास पाइन्छ । उनीहरूको सभ्यता वैदिककालदेखि नै फलेको फुलेको छ । त्यहाँकै संस्कृति र सभ्यता मिलेर नेपालको होचो भूमिलाई पनि अटल बनाएर उभ्याइरहेका छन् । तर आजकल चल्ने गजबको हल्ला, ‘तराई भारतले खर्लप्पै निल्ने भो’ सुन्दासुन्दै तराईको कान पाकिसकेको छ । तराईमा केही निराशा बढेको छ । त्यो निराशा साँच्चिकै भारततिरै पलायन हुनुपर्ने हो कि भन्ने आशंकाले जन्मेको पनि हुनसक्छ ।

एकजना महानुभावले फेसबुकमा हालै लेखे, ‘तराई भारतले लैजाने नै भो ।’ बदलामा कमेन्टहरू फरर आउँछन् र सबैले ‘हो’मा ‘हो’ मिलाउँछन् । सामाजिक सञ्जालमा निकै लोकप्रिय रहेको यो हल्ला सुनेर तराईको मन कटक्क खाँदो हो । सयौं वर्षदेखि तराईले आफ्नो काखमा राखेर हुर्काएका भूमिपुत्रहरू, आदिवासीहरू, तराईको सम्मोहनमा जेलिएर तल र माथिबाट झिटीगुन्टा बोकेर भित्रिएका मानवहरूलाई एकोहोरो हेरेर तराईले सोच्दो हो, ‘मलाई भारतले निल्यो भने यिनीहरूको हालत के होला ?’ जिन्दगीभर तराईलाई गर्मीको पर्याय बनाएका र तराईवासीहरूलाई धोतीको पर्याय बनाएकाहरूले आज एकाएक भयमिश्रित चिन्ता देखाएर तराई भारतले लैजाने कुरा गर्दैछन् । यो पनि एउटा गजबकै संकेत हो । हुनसक्छ, कुनै पौराणिक ग्रन्थको राजकुमार जस्तै बनेर हरियो फरिया, पहेंलो चोली र सेतो हिजाब लगाएकी राजकुमारीझैं सुन्दर देखिएर बसेकी तराईलाई भारत आएर जुरुक्क उठाएर लैजाने प्रपञ्च गरिरहेको त छैन ? त्यो पनि हुन सक्छ । सुन्दरतामा कसको मन अडिन सक्छ र ? तनसँग एकाकार हुन नसक्ने मन जतिसुकै सुन्दर भएपनि के नै पो काम लाग्छ र ? तराई साँच्चिकै सुन्दर छ । सम्भवतः पहाडको शीतलता र हिमालको सौम्यताभन्दा बढी सुन्दर । तब त तराईलाई जुरुक्क उठाएर कसैले लैजाँदैछ भन्ने हल्ला चल्ने गर्दछ र तराईको सुन्दरताले त्यो हल्लामा दम भएको देखाउँछ । तर तराईलाई पहाडी टाट्नामा बाँधेर मात्र घाँस हाल्नुपर्छ भन्ने सोच भएकाहरूले निरन्तर हल्ला चलाएका हुन् । भारतले लैजाँदैछ भनेर हल्ला चलाउँदा अन्जानमै धेरैको सहानुभूति पाइनसक्छ । अनि तराईलाई सधैं आफ्नो मुठ्ठीमा राख्न पाइन्छ । तराईले वर्षौंदेखि बाढी, औलो, आगजनी र गर्मीबाट बचाएर राखेका आफ्ना सन्तानहरू अघि सर्छन् देश जोगाउन । उनीहरू भन्छन्, ‘हामीले हाम्रो मातृभूमिलाई भारतले टपक्कै टिपेर लैजानबाट जोगाउन सक्छौं । वर्षौंसम्म तिमीहरूले तराईलाई मुठ्ठीमा राखेर शोषण मात्र ग–यौ ।’ उनीहरूले यति भन्न नपाउँदै यताबाट झन् ठूलो आवाज आउँछ, ‘तराईलाई भारतले जसरी पनि लैजान्छ ।’ यताको स्वाभिमान बारम्बार गर्जिन्छ, ‘तराई कसैले दाइजोमा ल्याएको होइन, त्यहाँ हाम्रोबाहेक कसैको हैकम चल्दैन ।’ तब तराईवासीहरू मुसुमुसु हाँसेर भन्दा हुन्, ‘गण्डकी, कोशी, कर्णाली र महाकाली बेचिसकेपछि अब कुन चाहिँ दाइजो बेच्न बाँकी होला र ?’ तराईको जनसंख्या मिश्रित छ । त्यहाँ गोरा र काला दुवै छाला भएका मिलेर बसेका छन् । धोती र टोपी लगाउने दुवै मिलेर बसेका छन् । तब त तिलाठीमा रामनारायण यादवले विदेशीको लाठी खान्छन् भने कञ्चनपुरमा गोविन्द गौतमले गोली खान्छन् । सीमा सुरक्षा गर्न बसेका स्वचालित सीमास्तम्भहरूमा एकखालको सम्झौता जस्तै छ, एउटाले लाठी खाए अर्कोले गोली खाने, तर स्वाभिमानलाई झुक्न नदिने । तराईलाई एउटै मात्र खतरा छ जसलाई पहाडे या नश्लीय अतिवाद भन्न सकिन्छ । सूचना प्रविधिसँग नजिक भएको यो अतिवादी समूहका नाइकेहरूले निरन्तर भ्रम फैलाएका छन् । तराईलाई भारतले लैजान्छ भन्ने भ्रम फैलाएर वर्षौंसम्म उत्पीडनमा परेका समुदायका मान्छेलाई राज्यको नीतिनिर्माण तहमा पुग्न दिँदैनन् । यसरी हल्ला गर्नेहरूले गोली, गाली र लट्ठी खाएर स्वाभिमानलाई झुक्न नदिनेहरूको अपमान गरेका छन् । आफ्नो छाती इँटाले बनेको जस्तो गरेर स्वाभिमानको राग अलाप्दै गर्जिनेहरूबाट तराईले सर्वथा असुरक्षित महसूस गरिरहेको छ । वर्षौंदेखि भारतीय हस्तक्षेपबाट आक्रान्त बनेको तराई र यसका भूमिपुत्रहरूले आफ्नो वास्तविक दुश्मनसँग लड्ने क्षमता विकास गरिसकेका छन् तर मित्रहरूसँग लड्न सकिरहेका छैनन् । लड्न पनि कसरी सकून्, मित्र भनाउँदाहरूले पछाडिबाट लात हान्छन् र भन्छन्, ‘सम्म जमीन चाहिएको भए विहार जाऊ ।’ तराईलाई भारतले खर्लप्पै निल्ने भो भनेर हल्ला गर्नेहरू जब जब तराई झर्छन्, तराईवासीले केही लाशहरू उनीहरूको स्वागतमा सजाइदिनुपर्दछ । यो अहिलेको मात्र होइन, वर्षौंदेखिको रीत बनेको छ । तराईमा रातो कार्पेट ओछ्याउनुको साटो, रातो रगतले लिपेर राख्दिनुपर्छ । तब स्वाभिमानका हिमायतीहरूले माइकमा गड्गडाउँदै भाषण गर्छन्, ‘तराई कसैको बिर्ता होइन, कसैको दाइजो होइन ।’ विडम्बना ताली पनि उनैले बजाइदिनुपर्छ । अनुहार कालो हुनुको सजाय मात्र यो पक्कै होइन । धेरैथरी अभीष्ट लुकेको छ र घामले तुवाँलो हटाएझैं चेतनाको वृद्धिले राष्ट्रवादी आवरण बिस्तारै हटाउँदै जानेछ । तर तराई भारतको गुलाम या नयाँ प्रान्त बन्न कहिल्यै तयार छैन । क्षणिक राजनीतिक स्वार्थमा पिल्सिएको मात्र हो । तराईमा जब यो स्वार्थको घाम हटेर चाँदीको घेरासहितको बादल लाग्छ, तब धेरै स्पष्ट हुनेछन्, त्यतिबेला सद्भावको वर्षा हुनेछ र नेपालभरिको मैलो पखालिएर जानेछ । तब घोलमा मुर्रा भैंसी आहाल खेलाउँदै गरेको एउटा कालो किशोरले थाहा पाउने छ, यो देशमा ‘जसको लट्ठी उसको भैंसी’ चल्दैन, ‘जसको कर्म उसको स्वाभिमान’ चल्छ । आखिर अकर्मण्यहरूको कुनै राष्ट्रियता र स्वाभिमान हुँदैन । याे लेख लाेकान्तरबाट साभार गरिएकाे हाे ।