भारतको प्रशासकीय राजधानी शहर दिल्लीको यात्रा मेरोलागि नौलो थिएन । तर हवाईमार्गबाट जानु र जाँदा पनि व्यक्तिगत भ्रमण नभएर सार्क साहित्य महोत्सवमा उपस्थिति जनाएर अङ्ग्रेजीमा अनुवाद गरिएका दुईवटा कविता पढ्नु भने यसपटकको दिल्ली यात्राका नौला पाटा थिए ।
फागुन १२ को साँझमा दिल्लीको राजीव गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा झमक्क साँझ परिसकेको थियो । झिलिमिली बत्तीले दिउँसो जस्तै दिल्लीका सडक र बजारहरू देख्दा प्रिपेड ट्याक्सीमा सँगै बसेका धनकुटाका कवि केजी सुब्बाले भनिहाले, ‘दिल्लीमा पनि कुलमान रैछ ।’ ‘तपाईं अफगानिस्तानबाट हो ?’ कुलमान प्रसङ्गको सफ्ट कमेडीसँगै हामी आठ सदस्य नेपाली पुग्यौं दिल्लीको महिपालपुरस्थित होटल एयरपोर्ट इन । त्यहाँ पुगेर कोठाको थान्कोमुन्को सकेर खाना खान पस्दा भेटिए सार्क देशका कवि, लेखक, प्रोफेसर, साहित्यकार तथा पत्रकारहरू । एकै देशबाट आएकाहरू आफ्नो भाषामा बोल्थे तर अन्य देशबाट आएकासँग भने अङ्ग्रेजीमै कुराकानी हुन्थ्यो । मैले शुरुमै श्रीलङ्का र बङ्गलादेशका प्रतिनिधिहरूसँग बोल्नुपर्यो ।
खानाको लाइनमा बस्दा भएको हाइहेल्लोसँगै यो संवाद जुरेको थियो । एक श्रीलङ्कालीले सोधिहाले– ‘आर यु फ्रम अफगानिस्तान ?’ नेपाली ठिटोलाई अफगानिस्तानबाट हो भन्ने सोधेपछि म अक्क न बक्क भए । सोधिहालें, ‘हाउ डिड यु गेस द्याट आइ एम फ्रम अफगानिस्तान ?’ कसरी मलाई अफगानी ठानेको भन्ने प्रश्नको जवाफमा ती अधबैंसे श्रीलङ्कालीले मेरो उँचाइ र अनुहारको आधारमा मलाई अफगानी भनेर अनुमान लाएको बताए ।
मैले म अफगानिस्तानी हैन नेपाली हो भनेपछि उनी छक्क परेर फेरि सोधिहाले, ‘डु यु नो आभि सुवेडि एण्ड सुमन पोखरेल ?’ मैले अभि सुवेदी र मेरो जिल्ला एउटै रहेको र सुमन पोखरेलको घर पनि मेरो घरबाट आधा घण्टा मात्रै टाढा छ भनेर भन्दा उनी भन्दैथिए, ‘ओ ग्रेट ग्रेट ।’ अभि सुवेदी सर जन्मघर र मेरो पहाडको घर तेह्रथुमै भएकोले मैलै हामी एउटै जिल्लाको हो भनें । इटहरीको मेरो घरबाट विराटनगर घर भएका कवि सुमन पोखरेलको घर पुग्न गाडीमा आधा घण्टामा नै पुग्न सकिने अर्थमा मैले उत्तर दिएको थिएँ ।
जे होस्, मलाई हेर्दा नेपाली भनेर नचिनेपनि त्यी श्रीलङ्कालीले नेपालका साहित्यकार अभि सुवेदी र कवि सुमन पोखरेलाईचाहिँ चिने । श्रीलङ्काली जस्तै अन्य चार/पाँच प्रतिनिधिहरूले पनि नेपालबाट भन्दा अभि सुवेदी र सुमन पोखरेलको नाम लिनु र उहाँहरूलाई चिन्छु भन्दा ठूलै मान्छे भएजस्तो गरेको अनुभव मेरो सार्क साहित्य महोत्सवका नौला र प्रिय अनुभव रहे । गैर–नेपालीभाषी भुटानीको आग्रह– ‘नेपाली बुझ्छ त नेपालीमै बोल्नु न’ अन्य मुलुकका प्रतिनिधिहरूसँग बोल्दा अङ्ग्रेजीमै बोल्ने सामान्य चलनअनुसारै म भुटानका प्रतिनिधिहरूसँग फेब्रुअरी २४ को बिहानीको नास्ताको टेबलमा बोल्दै थिएँ । इन्डिया इन्टरनेसनल सेन्टरमा हुने दक्षिण एशियाली साहित्य उत्सवमा गाडीबाट जानुअगाडि हामी तयार हुँदै थियौं । भुटानका पूर्व सांसदसमेत रहेका रिन्झिन रिन्झिन, भुटान प्रजातान्त्रिक पार्टीकी सभापतिसमेत रहेकी लिली वाङ्चुक र भुटानी कवि छादोर वाङ्मोसँगै म गफिइरहेको थिएँ । गफकै क्रममा वाङ्मोले सोधिन्, ‘आर यु बङ्गलादेशी ?’ मैले आपूm बङ्गलादेशी नभएर नेपाली हुँ भन्दा छादोरले शेर्पा लवजमा भनिहालिन्, ‘नेपाली बुझ्छ त नेपालीमै बोल्नु न ।’ भुटानका अधिकांश नेपालीभाषीहरूलाई खेदेको इतिहास पढेको र मुलुकविहीन भएर भुटानीले नेपालका शरणार्थी शिविरमा बसेर तेस्रो मुलुकमा पुनर्वास गरेको देखेको मलाई गैर–नेपाली भाषी भुटानीले नेपाली बोल्न सक्ने कुराको पत्यार पनि थिएन । छादोर वाङ्मोले भनेपछि पो थाहा भयो, बढीजसो दक्षिण भुटानमा बस्ने कुल जनसङ्ख्याको २० प्रतिशत भुटानीहरू नेपालीभाषी छन् । मिलनसार नेपालीभाषीहरूको सङ्गतमा आएका अन्य भाषाका भुटानीहरूले पनि नेपाली भाषा सिक्ने कुरा पनि छादोरले नै बताइन् । दक्षिण भुटानका त सबै भाषीले नेपाली भाषा मज्जाले बुझ्ने उनले जानकारी दिइन् । भुटानीहरूले नेपाली बोलेको सुन्दा अचम्म लागेको प्रसङ्ग सार्क साहित्य उत्सवमा थुप्रैपटक आएका कवि सुमन पोखरेललाई सुनाए । भुटानीले नेपाली बुझ्ने कुरामा अचम्म लागेको मलाई झनै अचम्मको कुरा कवि पोखरेलले सुनाए । भएछ के भने विगतको एउटा सार्क साहित्य महोत्सवमा भारतमा रहेका कवि पोखरेलले भुटानबाट आएका एक प्रतिनिधिलाई अङ्ग्रेजी भाषामै सोधेछन्, ‘तपाईं नेपाली भाषा बुझ्नुहुन्छ ?’ भुटानीले अङ्ग्रेजीमै बोल्दै आपूmले नेपाली भाषा नबुझ्ने बताएछन् । खाजा खाने लाइनमा बसेर खाजा खाँदै गर्दा तिनै भुटानीले प्रतिक्रिया दिइहालेछन्, ‘के सारो पिरो’ । सँगै लाइनमा बसेका पोखरेल नेपाली नआउने भुटानीलाइ पिरो भन्न चैं नेपालीमै आउने कुराले जिल्ल भएछन् । नेपाली जानीजानी जान्दिनँ भन्ने कुरा पोखरेलले थाहा पाएपछि ती भुटानी लाजले भुतुक्कै भएछन् । अभि सुवेदीको ब्राण्ड र सुमन पोखरेलको ‘सेन्टिमेन्ट’ सार्क साहित्य उत्सवका एकखाले ब्राण्ड नै लागे अभि सुवेदी । सुवेदी बसेको आसपास मान्छे झुम्मिनु, भुटानदेखि अफगानिस्तानसम्मकाले बोल्न खोज्नु अनि नेपालबाट आएको भन्दा ‘अभि सुवेदी चिन्छौ’ भन्नुले उहाँको ब्राण्ड चिन्ने मौका पाइयो । भारतकी चिनिएकी कवि नन्दिनी साहुले त आफ्ना कविताहरू अभि सुवेदीको नाममा डेडिकेट गरेरै सुनाइन् । विदेशी कविहरूमाझ लोकप्रिय भएर मात्रै हैन, नेपाली युवा कविहरूलाई सुवेदीले दर्शाएको माया र साथले अन्य देशका प्रतिनिधिहरू पनि आश्चर्यमा परे । बङ्गलादेशबाट आएकी कवि स्याफिनुर स्याफिनले त नेपाली अग्रजहरू अभि सुवेदी र सुमन पोखरेलले नयाँ पुस्तालाई गरेको प्रेमको म र विराटनगरका कवि धीरज राईसँगै पटकपटक तारिफ गरिन् । नेपालबाहेकका देशका प्रतिनिधिहरूमा आ–आफ्नो उमेर समूहका सँग मात्रै बस्ने चलन देखिनेगरी महसूस थियो । तर नेपालीहरूमा त्यो थिएन । प्राध्यापक डाक्टर अभि सुवेदी, कविहरू हरि अधिकारी, सुमन पोखरेल, रमेश क्षितिज, कथाकार राजेन्द्र पराजुली, एलबी क्षेत्री, कवि केशव सिग्देल तथा सविता गौतम दाहालहरू नयाँ पुस्तालाई दर्शाएको देखिने प्रेमको बङ्गलादेशी कवि स्याफिन मात्रै हैन, भुटानका एकमात्रै नेपालीभाषी प्रतिनिधि मोनु तामाङले समेत खुलेर तारिफ गरे । स्याफिनले त बङ्गलादेश फर्केपछिको आफ्नो सार्क साहित्य सम्मेलनको अनुभवबारेको लामो स्टाटसमा पनि नेपाली अग्रजहरूले नयाँ पुस्तालाई गर्ने प्रेमको लामो तारिफ गरिन् । अभि सुवेदीपछि मैले भेटेर बोलेका धेरै सार्क देशका प्रतिनिधिहरुले कवि सुमन पोखरेललाई राम्रो चिनेको पाएँ । त्यहाँ आएका भारतीय अखबार, काव्य ब्लग लेख्नेहरूले पनि सुमन पोखरेलको चासो र खोजी गरे । भुटानका कवि मोनु तामाङले त पोखरेललाई भीडबाट तानेर फोटो खिच्न लगे । ‘भुटानमा त सुमन पोखरेललाई धेरैले चिन्छ’, कान्तिपुर मिडिया ग्रुपका दिल्ली ब्युरो प्रमुख कमलदेव भट्टराई र अन्नपूर्ण पोष्टकी दिल्ली रिपोर्टर आशा थपलिया लगायतको सामूहिक साइड गफमा तामाङले भने, ‘अङ्ग्रेजी भाषाका कविता पढ्नेहरू धेरैले भुुटानमा सुमन पोखरेलका कविता पढेका छन् ।’ सार्क साहित्यमा आउने पुराना पुस्ताले त चिन्ने नै भए, नयाँ पुस्ताका भुटानी कवि मोनु तामाङ जस्तै पोखरेललाई कविता पढेरै चिन्नेहरू थुप्रै थिए । बङ्गलादेशकी युवा कवि स्याफिनुर स्याफिनले त कवि पोखरेललाई झनै आदर भाव प्रस्तुत गरिन् । फागुन १५ गते सकिएको साहित्य महोत्सवको भोलिपल्ट महिपालपुरबाट विमानस्थल जानलाई छुट्नुअघि पोखरेलको खुट्टामै ढोगेकी स्याफिनको त्यो स्तरको उच्च सेन्टिमेन्टल सम्मान अन्य बङ्गलादेशकै अग्रज साहित्यकारहरूमा पनि देखिएन । आँखैअगाडि बङ्गलादेशकी तन्नेरी कविले कवि पोखरेललाई ढोगेपछि मैले रोएको अभिनय गर्दै कविहरू सविता गौतम दाहाल र शुभलक्ष्मी लम्साल अगाडि जिस्किँदै थिए । उता, जानेखेर स्याफिनले त आँखा पनि भिजाइछन् । विराटनगरका कवि धीरज राईले देखेपछि त्यो कुरा थाहा भयो । त्यो दृश्य हेर्न मैले टाउको फर्काउँदा स्याफिन चढेको ट्याक्सी हामीबाट बिदा भएर विमानस्थलको बाटो लागिरहेको थियो । कवि रमेश क्षितिजको छ मिनेटको ‘कवितामै कार्यपत्र’ सार्क साहित्य उत्सवमा औपचारिक कार्यक्रमहरूपछि मूलतः कविता र कार्यपत्रहरू प्रस्तुत हँुदा रहेछन् । कवितावाचनमा उत्साहप्रद दर्शकहरू भएपनि कार्यपत्रहरू पट्यारलाग्दा हुन्थे । उपस्थितहरूको अनुहार र सङ्ख्याको आधारमा जो कोहीले त्यो अनुमान लगाउन सक्थ्यो । नेपालमा जस्तो लामालामा कार्यपत्रहरू एक घण्टा लगाएर प्रस्तुत गर्ने नियमविपरीत सार्क साहित्य उत्सवमा भने जम्मा दश मिनेटमै आफ्नो कार्यपत्र प्रस्तुत गर्नुपर्ने नियम थियो । दश मिनेटमै प्रस्तुत नगर्दा घण्टी बज्थ्यो र प्रस्तुतकर्ताले चुपचाप आफ्नो आसनमा आएर बस्नुपथ्¥यो । एकपटक त समय अभावमा छ मिनेटमै कार्यपत्र सक्ने नियम बस्यो । पोडियम अगाडिको दर्शकदीर्घाको दोस्रो लहरमा मसँगै बसेका चर्चित कवि रमेश क्षितिजले भने, ‘हैन, यो छ मिनेटमा कार्यपत्र प्रस्तुत गर्नुभन्दा बरू छ मिनेटमा कवितामै कार्यपत्र प्रस्तुत गर भन्नू नि ।’ कवि क्षितिजको यो जोकमा नेपाली र विदेशी सबै हाँसे । सुरजित पतार र ‘ग्रामर अफ लभ’ सार्क साहित्य उत्सवमा जसको कविता भन्ने सेसन छ त्यहाँको अध्यक्षता पनि एकजना कविले गर्ने चलन रैछ । अरू सबैलाई छ मिनेटको समयमा कविता भन्न लगाउने, समयभन्दा बढी भएमा जनाउ घण्टी दिएर रोक्ने अनि अरूको सकिएपछि आफ्नो कविता भन्ने त्यहाँको नयाँ नियम रैछ । फेब्रुअरी २५ को दिन मेरो कविता सेसन परेको थियो । मेरो कविता सेसनको अध्यक्षता भारतका चर्चित कवि सुरजित पतारले गरेका थिए । कविता वाचन सेसनमा पनि सबै कविहरूले स्टेजमै बसेर वाचन गर्ने सेसन अध्यक्षको काम रैछ । नेपालमा जस्तो कार्यक्रमको अतिथि, प्रमुख अतिथि लगायतका अनावश्यक मान्छे राखेर भीडभाड नगरी जुन सेसन हो त्यही सेसनमा सहभागीलाई ड्यासमा राख्ने त्यहाँको चलन रैछ । कवि पतार र म लगभग कुम जोडेर बसेका थियौं । सुरजित पतार जोडेर आएको जोकभन्दा मलाई मेरो कविताकै बारेको प्रतिक्रियाले मनमनै हँसाइसकेको थियो । कवि सुमन पोखरेलले अनुवाद गरेका दुई कविताहरूमा मलाई ‘म सानुमा’ भन्ने कविता चाहिँ अर्को मेरो कविता ‘प्रेमको व्याकरण’ भन्दा बढी राम्रो होला भन्ने लागेको थियो । कविता हेरेका प्राध्यापक डाक्टर अभि सुवेदी र कवि सुमन पोखरेलको प्रतिक्रिया तथा मेरो व्यक्तिगत मतले ‘प्रेमको व्याकरण’ शीर्षक कविताभन्दा ‘म सानुमा’ शीर्षक कविता औसतमाथिको भएकोले चल्छ जस्तो लागेको थियो । कविता वाचनपछि आउने ताली र बाहिर आउने व्यक्तिगत प्रतिक्रियाले भने मेरो अनुमान गलत भयो । ‘प्रेमको व्याकरण’ को अङ्ग्रेजी अनुवाद ‘ग्रामर अफ लभ’ सुनाएको मलाई धेरै युवा कविहरूले त नामै राखिदिए– ‘ग्रामर अफ लभ’ । कविता सेसनपछि फेसबुकमा आएका फ्रेन्ड रिक्वेस्ट र चिया, खाना र नास्ताको लाइनमा उभिँदा आएका संवादमा पनि मेरो ग्रामर अफ लभको कुरा भएपछि सार्क साहित्य उत्सवमा पहिलोपल्ट आएको म मख्ख नपर्ने कुरै भएन । झनै मख्ख त्यो दिन भए जब तीन दिने कार्यक्रम सकिएर छुट्टिने दिन फोस्वालकी प्रमुख, चर्चित लेखिका तथा सार्क साहित्यकी अभियन्ता अजित कौरले पनि चुम्बन गर्दै ग्रामर अफ लभको नाम लिएरै भनिन्– कम इन नेक्स्ट इयर अल्सो माई डियर ‘ग्रामर अफ लभ’ । दिल्लीबाट छुट्दा ‘ग्रामर अफ लभ’ को कुराले भन्दा पनि मेरो मनमा दक्षिण एशिया थप जोडिनुपर्छ तर किन जोडिएन भन्ने लागिरहेको थियो । दक्षिण एशियाली बीचमा सामूहिक र उस्तै पहिचान भएपनि किन राजनीतिकै कारणले दक्षिण एशिया जोडिन सकेन भन्ने सोचिरहेको थिएँ । किन नेपालबाट थिम्पूभन्दा थाइल्याण्ड जान सजिलो भएको भन्ने सोचिरहें । नेपालबाट काबुल र कोलम्बोभन्दा क्वालालम्पुर किन नजिक जस्तो हुन्छ भन्ने बारेमा कल्पिरहें । तर सोचें, राजनीति मिलेको खण्डमा दक्षिण एशियालीहरू मिल्न समस्या छैन, किनभने हामी हाम्रो उस्तै लवज र शारीरिक बनोटले आपैmंमा को कुन देशको भन्ने चिन्दैनौं । उदाहरण म आपैmं हुँ किनकि मलाई दिल्ली प्रवेशकै दिन सोधिएको थियो– तपाईं अफगानिस्तानबाट हो ?