समयको मागअनुरूप कहिलेकाहीँ कलम चलाउने प्रयास गर्दछु । मसीका थोपाले कहिलेसम्म साथ दिने हो, थाहा छैन । म अन्योलमा छु । न म कुनै प्रभावकारी लेखक हुँ, न त कुशल वक्ता नै हुँ । तर यदाकदा राजनीतिक परिस्थिति र सामाजिक सन्दर्भअनुरूप मनमा ओतप्रोत भएका भावना र विचारलाई लेखनका माध्यमबाट चित्रण गर्ने जमर्काे गर्दछु । सम्भवतः मैले जीवनमा सबैलाई खुशी पार्न नसके पनि मबाट कोही दुःखी नहोस् भन्ने मेरो चिन्तनको मार्ग हो । आज त्यही मार्गको यात्रामा समाहित हुँदै सफलताको लागि पहिलो पाइला टेक्ने कोशिस गर्दैछु ।

जन्मले पाएको मेरो राष्ट्रिय पहिचान म नेपाली । कर्मले प्रदान गरेको मेरो जातीय पहिचान म नेवारी । नेपाली र नेवारीसँग मेरो अस्तित्व र अस्मिताको प्रगाढ सम्बन्ध गाँसिएको छ । न म परम्परालाई त्याग्न सक्छु, न त म प्रकृतिको नियमअनुसार मौसमभैmँ परिवर्तन गर्न सक्छु । न म जीवनको नियतिअनुरूप मृत्युपश्चात् शून्यतामा विलीन हुनसक्छु । राष्ट्र भनेको हाम्रो मुटु हो भने हामी त्यसका स्पन्दन हौँ । राष्ट्रियता हाम्रो गर्व हो भने जातीयता हाम्रो पितृप्रसाद हो । यथार्थमा हामी एक–अर्काका परिपूरक हौँ । त्यसैले राष्ट्रको उन्नतिमा हाम्रो सहभागिता हाम्रो कर्तव्य हो भने जातीय उत्थानमा हाम्रो समर्पण नैसर्गिक अधिकार हो । तर भुल्न नहुने व्यावहारिक जीवनमा पारिवारिक जिम्मेवारी पनि हाम्रो गहन दायित्व हो । यो मुलुकमा सबै जातिमध्ये नेवार पनि भाषा, धर्म, कला, संस्कृतिबाट समृद्ध एउटा जनजाति हो । यो जातिलाई सभ्य, शालीन, सांस्कृतिक र व्यवसायी भनेर सम्बोधन गर्ने प्रचलन पनि छ । परिश्रम र कर्ममा आस्था, जातीय सद्भाव र सहिष्णुतामा विश्वास गर्ने यो जातिको मूल्य र मान्यता रहेको छ । यो जातिको सबैभन्दा ठूलो शक्ति भनेको धैर्य, इमान्दारिता र स्वाधीनता हो । सबै जातिको अस्तित्वलाई स्वीकार्ने र पहिचानलाई सम्मान गर्ने यस जातिको विशेषता छ भने सबै जातिका हक–अधिकारको संरक्षण हुनुपर्छ भन्ने यसको विशिष्टता हो । नेवार जाति सामाजिक विकृति र अराजक गतिविधिबाट सदैव टाढा रहेको छ । भनिन्छ– नेवार जाति जहाँ जान्छ, त्यहाँ नवीन समाजको उदय हुन्छ । जुन समाजमा बसोवास गर्दछ, त्यो संस्कृतिमय हुन्छ । नेवार जाति जसले निर्जीव ढुङ्गा र काठलाई जीवन्तता प्रदान गरेको छ, जसले सुनका कलात्मक गजुरद्वारा यो मुुलुकलाई सिङ्गार्दै विश्व सभ्यताको इतिहासमा सम्मान स्थापित गर्दै परिचित गराएको हामीमा सर्वविदितै छ । इतिहास साक्षी छ । हरेक जातिको केन्द्रीय निकायभैmँ नेवाः देय् दबू नेवार जातिको गरिमामय सर्वाेच्च निकाय हो । पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म, सगरमाथादेखि केचनासम्म छरिएर बसोवास गर्दै आएको नेवार समुदायलाई एकीकृत गर्ने अभियानका रूपमा स्थापित गर्ने विशुद्ध जातीय संस्था दबू हो । नेवाः जातिको संरक्षण गर्नु, भाषालाई जीवन्तता र कलालाई मूर्त रूप दिनु, परम्परालाई निरन्तरता दिँदै सभ्यता र संस्कृतिलाई स्थापित गर्नु यसको मुख्य दायित्व हो । करीब नौ वर्षको अन्तरालपश्चात् विधिको शासनलाई अनुसरण गर्दै नेवाः देय् दबू सुनसरीले अधिवेशनलाई स्वागत गर्दैछ । वास्तवमा यो अधिवेशनले निर्वाचनमार्पmत् नयाँ नेतृत्वलाई निमन्त्रणा गर्दैछ । सबै खलः पुचका सम्मानित प्रतिनिधिहरू चैत २२ गतेको प्रतीक्षामा छन् । नेतृत्वका लागि उम्मेदवारहरूमा ऊर्जा छाएको छ । विजय–पराजय त निर्वाचनको नियति नै हो, तर भुल्न नहुने के हो भने नेतृत्वमा सफल–असफल जे भए पनि हामी एउटै समुदायका सदस्य हौँ । त्यसैले यो अधिवेशन मैत्रीपूर्ण रूपले सफल बनाउनु हामी सबैको दायित्व हो । यो निर्वाचन नेवाः देय् दबूको प्रतिष्ठासँग गाँसिएको छ । यो निर्वाचन सुनसरीभरि छरिएर बसोवास गरेका नेवारहरूको कार्यगत एकताको सन्देशसँग जोडिएको छ । यो निर्वाचन नेवार जातिको अस्तित्वसँग गाँसिएको छ । यो निर्वाचन नेवाः जातिले गरेको योगदानको जीवन्ततामा आधारित छ । यो निर्वाचन हाम्रो भावी सन्ततिको उज्ज्वल भविष्यमा समाहित छ । तसर्थ यो निर्वाचनमा अब नेवाः व्यक्ति होइन, नेवाः व्यक्तित्वको चयन गरौँ । त्यसैले अब हामीले नातावाद, कृपावाद र राजनीतिक आस्थाको आधारमा होइन, निर्भीक, निडर र स्वच्छ छवि भएका सक्षम नेतृत्वलाई अवसर प्रदान गर्नु अपरिहार्य छ । जुन उम्मेदवार नेवाः देय् दबूलाई उत्कृष्ट संस्थाको रूपमा स्थापित गर्न योग्य छ, जसले सुनसरी नेवाः देय् दबूको इतिहासमा नयाँ अध्याय रच्न सक्छ, उसैलाई नेतृत्व प्रदान गरौँ । नेवार जातिको चौतर्फी विकासका लागि राजनीति गरौँ तर समुदायलाई विभाजित गर्न राजनीतिक खेल नखेलौँ । अन्यथा यो राजनीति नेवार जातिको लागि वरदान होइन, अभिशाप हुनेछ । यसले हामीबीचमा एकता होइन, विखण्डता ल्याउने छ । तसर्थ हाम्रो कार्यगत एकता र सकारात्मक सोचले मात्र हामीले गर्वका साथ भन्न सक्छौँ– हामी नेवाः, हाम्रो देय् दबू सुनसरी । यथार्थमा सुनसरी जिल्लामा समाहित भएका नेवार जातिका सम्पूर्ण सदस्यका बीचमा भावनात्मक एवम् भ्रातृत्वको सम्बन्ध अझ प्रगाढ बनाउन, उत्पीडित र उपेक्षित हुनबाट मुक्ति पाउन, सामाजिक सुरक्षाको प्रत्याभूति गर्न, आदिवासी जनजातिमा नेतृत्व गर्न, विधिको शासनमा विश्वास गर्न र न्यायिक सिद्धान्तमा आस्था राख्न सम्पूर्ण नेवारहरू कार्यगत एकतामा प्रतिबद्ध हुने समय आएको छ । कार्यगत एकता नै सकारात्मक परिवर्तनको त्यो शक्ति हो, जसले नयाँ विचार र दृष्टिकोणलाई कार्यान्वयन गर्न ऊर्जा प्रदान गर्दछ । त्यसैले सकारात्मक विचारलाई जोडौँ । राजनैतिक मतभेदलाई घटाऔँ । कार्यगत एकतालाई गुणन गरौँ । सबल र सक्षम नेतृत्वलाई अवसर प्रदान गरौँ । (लेखक नेवार एकता समाज, धरानका संस्थापक अध्यक्ष हुन्)