२०५४ सालमा जन्मेको बालक अहिले २० वर्षे युवा बनेको छ । त्यति बेला स्थानीय निकायमा निर्वाचित जनप्रतिनिधिहरू अहिले ४५ देखि ६० वर्ष नाघेका छन् । यो उमेरको अन्तरालमा नेपाली राजनीतिमा धेरै परिवर्तन भएको छ । नेपालका हरेक राजनीतिक परिवर्तनमा बलिदानीपूर्ण सङ्घर्ष गर्ने युवाको लामो पङ्क्ति अहिले नेपालका राजनीतिक दलका सङ्गठित छन् र क्रियाशील राजनीतिमा स्थापित भएका छन् ।
राजनीतिक दललाई जनताका बीचमा स्थापित गर्ने काममा नेपाली युवाले रगत–पसिना खर्चेका छन् र नेपालका राजनीतिक दलहरूका हरेक अभियानमा पार्टीलाई स्थापित गर्न निरन्तर लागिरहेका छन् । दलहरूले आन्तरिक रूपमा उम्मेदवार खोजिरहँदा युवा पुस्ताबीच आपूmले टिकट पाउनुपर्ने बहस चल्न थालेको छ ।
नेपाली युवामा नेपालको विद्यमान् राजनीतिक अवस्थाप्रतिको चिन्ता, चासो र गुनासाहरू पर्याप्त मात्रामा विद्यमान् छन् । देशभित्रै रहेर काम गर्ने अवसरको अभावले अधिकांश युवा नेपाली राजनीतिबाट पर रोजगारका लागि विभिन्न खाडी मुलुकहरूमा गएका छन् । कतिपय युवा नेपालकै म्यानपावर कम्पनीहरूको दलालीमा परेर विदेशमा दुःख झेलिरहेका छन् । राज्यले रोजगारका अवसरहरू सृजना गर्न सकेको छेन । यसका कारण युवाले नेपाली म्यानपावर कम्पनीहरूको ठगी र जालझेलमा परेर व्यक्तिगत सम्पत्तिसमेत नष्ट गरेका छन् । यो अवस्थामा नेपालमा लामो समयपछि स्थानीय तहको निर्वाचन हुने भएको छ ।
अहिले नेपालका राजनीतिक दलहरूलाई नेपालमा युवा नेतृत्व स्थापित गर्ने र आधुनिक शिक्षा, सूचना प्रविधि र बौद्धिक युवा जमात्लाई नेपाली राजनीतिमा स्थापित गर्ने सुनौलो अवसर प्राप्त भएको छ । स्थानीय ज्ञान, सीप र क्षमतासँगै आधुनिक विकास प्रणालीबारे ज्ञानको सम्मिश्रणले नेपालको विकास आयामलाई अझ सुदृढ पार्ने जिम्मा युवालाई दिनु आवश्यक छ ।
यसले एकातिर नेपाली युवाले आफ्नो ज्ञान, सीप र क्षमताको प्रदर्शन गर्ने अवसर प्राप्त गर्नेछन् भने अर्कोतिर कामको खोजीमा विदेश पलायन भइरहेको युवा जनशक्तिलाई नेपालमै उपपयोग गर्न सकिन्छ भन्ने मान्यता व्यवहारबाट स्थापित गरेर युवा श्रम र सीपलाई देश विकासको अभियानमा फर्काउन सक्ने पर्याप्त सम्भावनाहरू जीवित छन् ।
स्थानीय तहको निर्वाचनमा विजयी युवाले आफ्नो पूरै जोश र जाँगरका साथ नेपालको विकास प्रयासमा सहभागी हुनेछन् भने पराजित युवाहरू अर्को पाँच वर्षपछिको स्थानीय तहको निर्वाचन वा प्रदेश तथा सङ्घीय संसद्को सदस्यका लागि आफ्नो नेतृत्व क्षमताको विकास गर्नेछन् । यसर्थ पनि अहिले नेपालका राजनीतिक दलहरूले उदारतापूर्वक युवालाई स्थानीय तहको निर्वाचनमा उम्मेदवारी दिने अभियानलाई तीव्र बनाउनु आवश्यक छ । स्थानीय तहको निर्वाचनमा देशभरिमा आउने युवा नेतृत्वले नेपालको भावी राजनीतिलाई ठीक बाटोमा अघि बढाउनका लागि महŒवपूर्ण योगदान दिनेछन् ।
वर्षौंदेखि नेपालका राजनीतिक दलहरूले युवालाई राजनीतिमा प्रयोग मात्रै गरे भन्ने दावीलाई खण्डित गर्नेछ र नेपालको राजनीतिक भविष्यको गुरुयोजना निर्माण गर्दै रणनीतिक रूपमा नेपाली युवालाई नेपाली राजनीतिप्रतिको विश्वास र भरोसा प्रदान गर्नेछ जुन नेपालको भावी राजनीतिका लागि अत्यावश्यक भइसकेको छ । नेपाली राजनीतिमा देखिएका विभिन्न खालका विकृति तथा विसङ्गति अन्त्यका लागि युवा नेतृत्वले योजनाबद्ध कामको थालनी गर्ने र जनताका शासक होइन, जनताको सेवकका रूपमा नेपालको कर्मचारीतन्त्रलाई स्थापित गर्नका लागि पनि युवा नेतृत्व आवश्यक छ ।
नेपाली राजनीतिमा युवाले जहाँ–जहाँ नेतृत्वको अवसर पाएका छन, त्यहाँ–त्यहाँ उनीहरूले आफ्नो कार्यशैली र व्यवहारमा परिवर्तन गरेका छन् । यही अनुभव र भोगाइमा आधारित भएर नेपालका राजनीतिक दलहरूले स्थानीय तहको निर्वाचनमा युवालाई उम्मेदवारीको अवसर सृजना गर्नु आवश्यक छ । युवाहरूको काँधमा आउने जिम्मेवारीलाई कुशलतापूर्वक सम्पन्न गर्ने सीप र क्षमता नेपाली युवामा विद्यमान् छ भन्ने विश्वास नेपालका राजनीतिक दलहरूमा आउनु जरुरी छ ।
निकै लामो समयदेखि रिक्त रहेको स्थानीय निकायको निर्वाचन को घोषणाले यति बेला राजनीतिक दल, राष्ट्रिय तथा स्थानीय सञ्चारमाध्यमहरू, नागरिक समाज, सङ्घ–संस्थाहरू, चोक–चौतारी, चिया पसल सबैतिर आशाको त्यान्द्रोसहितको रापले छोएको छ । यसै पनि १९ वर्षसम्म स्थानीय निकाय नहँुदा आफ्ना समस्याहरू आपूmले छानेका जनप्रतिनिधिसमक्ष राख्न नपाएका जनाता, व्यवस्थासमेत परिवर्तन भइसकेको र संवैधानिक रूपमा समेत अधिकार सम्पन्न स्थानीय निकायको सञ्चालनमा बाजी मार्न दलहरू रस्साकस्सीमा लागेको पाइन्छ ।
यसरी स्थानीय तहको निर्वाचन र त्यसको नेतृत्व हत्याउन केन्द्रित रहेका दलका स्थानीय कमिटी र त्यसअन्तर्गतका नेता–कार्यकर्ता पङ्क्तिले अबको स्थानीय तहमा कस्तो खालको नेतृत्व स्थापित गर्ने भन्ने विषयमा छलफल नचलाउनु दुःखलाग्दो विषय बनेको छ । १९ वर्षसम्म निर्वाचन नहुँदा भएको धेरै स्थापित भइसक्नुपर्ने नेतृत्वको जाम सहजै हल हुने सम्भावना त छैन तर पनि बूढापाकाहरूलाई सम्मान र युवालाई प्रोत्साहनको आधारमा नेतृत्वको छलफल चलाउनु जरुरी भइसकेको छ ।
राजनीतिक आन्दोलनमा सफल भएको पाको नेतृत्वले अबको समृद्धिको कार्यक्रम निष्कर्षमा पु¥याउने अवस्था देखिँदैन । छिमेकीको आर्थिक वृद्धिदर, विज्ञान प्रविधिसँग जानकार, दिगो लक्ष्य बनाउन सक्ने, विश्व परिवेश बुझेको, युवा पुस्ताबाट यस विषयमा आशा राख्ने स्थिति छ । हुन त राजनीति गर्ने व्यक्तिले आफ्नो योग्यता र क्षमता प्रदर्शन गर्ने परीक्षा भनेको निर्वाचन हो । त्यसैले परीक्षामा सहभागी हुने चाहना गर्नुलाई अनुचित त मान्नुभएन तर पनि समयको मागलाई बुझ्ने कोशिस पाका पुस्ताले गर्नुपर्छ र राजनीतिक कोर्स उल्ट्याउन सक्नु नै आफ्नो पुस्ताको उपलब्धि ठान्दै त्यो स्तरको सदाशयता प्रस्तुत गर्नु अर्को ठूलो उपलब्धि भएको महसुस गर्नुपर्छ । त्यसैले अहिले नै नयाँ सोच, नयाँ भिजन र नवीनतम कार्यक्रम दिन सक्ने नेतृत्व हामीले दिन सक्यौँ भने मात्र नयाँ नेपालको सपना साकार हुने कुरामा जनतालाई आश्वस्त पार्न सकिने कुरामा कुनै द्विविधा छैन ।
त्यसैगरी महिला सशक्तीकरण र अधिकारको कुरा गरिरहँदा हामीले बुहारीसहित छोरीहरूलाई समेत स्थानीय तहको नेतृत्वमा स्थापित गर्न सक्यौँ भने सामाजिक रूपमा महिलालाई पनि अधिकार प्राप्तिको महसुस हुने पक्का छ । समाजमा विद्यमान् नेतृत्वको प्रभावकै कारण मानिसहरू हेपिने, उनीहरूमा हीन भावना पलाउने हुन्छ भने नेतृत्व शैली तथा नेतृत्वको प्रभावका कारणले सदियौँदेखि हेपिएका र छेउ लगाइएका मानिसहरूमा शक्तिबोध हुने र उनीहरू सशक्त हुँदै जाने अवसर मिल्दछ ।
यो काम युवाले गर्न सक्छन् । त्यसकारण नेपाली राजनीतिमा युवा नेतृत्व स्थापित गर्ने र युवालाई नेपाली राजनीतिप्रति सकारात्मक र उत्साही बनाउनका लागि दलहरूका सामु महत्वपूर्ण अवसरका रूपमा स्थानीय तह निर्वाचन उपस्थित भएको छ । यो अवसरलाई नेपालका राजनीतिक दलहरूले रणनीतिक रूपमा स्थापित गर्दै नेपालको विकास प्रयासमा युवा नेतृत्वलाई स्थापित गर्नु जरुरी छ । जिम्मेवारी र अवसरले नै नेतृत्व स्थापित हुने हो । युवाप्रतिको विश्वास र भरोसा गरेर स्थानीय तहको निर्वाचनमा कम्तीमा ७० प्रतिशत युवालाई स्थापित गर्नु आजको आवश्यकता हो । (पौडेल नेपाली काङ्ग्रेस इटहरी उपमहानगरपालिकाका सभापति हुन् ।)