चिकित्सकहरुमाथि दुर्व्यवहारका घटना नौला होइनन्। बिरामीका आफन्तबाट चिकित्सकहरु कुन बेला कसरी हातपातको शिकार हुन्छन् टुंगो हुँदैन। हालै कान्ति बाल अस्पताल र गंगालाल अस्पतालमा ड्युटीमा रहेका डाक्टरमाथि हातपात भयो। बिरामीको सेवा गर्ने पेशाका चिकित्सकमाथि हुने यस्ता दुर्व्यवहारले सुरक्षाको वातावरण नभएको देखाउँछ।
स्वास्थ्यकर्मीलाई कहिले ज्यान मार्ने धम्की, कहिले कुटपिट, कहिले कालोमोसो त कहिले अस्पतालमै तोडफोड । हामी कुन युगमा छौँ र यस्ता घटना सधैँ सामना गरिरहनुपरेको छरु यो प्रश्नले निकै घोच्ने गर्छ। जुन पेशालाई सेवामा समर्पित पेशाका रुपमा चिनिन्छ, त्यही पेशाकर्मीलाई बिरामीका आफन्त रिस पोख्न आइपुग्छन्। दिन-रात नभनी व्यक्तिगत जीवनलाई पर राखेर बिरामीको सेवा गर्न खटिने हामी स्वास्थ्यकर्मीले आखिर कहिलेसम्म अग्निपरीक्षा दिइरहनु।
अस्पतालमा रोगले थलिएका मान्छेहरु नै आउने हो। र, अस्पतालको दायित्व हो, बिरामीलाई सकुशल घर फर्काउने। तर, उपचार सेवामा सधैँ लाभ मात्र हुन्छ भन्ने ग्यारेन्टी त हुन्न। त्यसका जोखिम पनि मान्छेले बहन गर्नैपर्छ। जति तीतो यथार्थ भए पनि सत्यलाई त स्वीकार गर्नै पर्छ। तर, आफ्नो बिरामी बाँच्न नसक्दा वा चेकचाँजमा अलिकता ढलो हुँदा किन सम्हाल्न सक्दैनन् मान्छे आफूलाई र जाइलाग्छन् चिकित्सक, नर्स र स्वास्थ्यकर्मीमाथिरु यो प्रश्नको जवाफ कहिले कुन रुपमा पाइने हो थाहा छैन। तर, आजको समय हेर्ने हो भने, स्वास्थ्यकर्मी र अस्पतालमाथिको आक्रमणले स्वास्थ्य उपचार सेवामा खट्ने पेशाकर्मीहरुले सुरक्षित महसुस गर्न सकिरहेका छैनन्।
स्वास्थ्यकर्मीको चाहना कुनै पनि बिरामी मरोस् वा झन् दुःख पाओस् भन्ने हुन्छ होला ररु डाक्टरको इच्छा हुँदो हो र बिरामीलाई जानीजानी दुःख दिन्छु भन्नेरु किन यति कुरा पनि सोच्न चाहँदैनन् मान्छेरु स्वास्थ्यकर्मीको त एउटै चाहना हुन्छ, बिरामीलाई छिटोभन्दा छिटो निको पारेर घर पठाउन सकियोस्।
मान्छेको जीवन(मरणसँग जोडिएको पेशा भएकाले यो संवेदनशीन क्षेत्र हो। त्यो संवेदनशीलता डाक्टर, नर्स लगायत स्वास्थ्यकर्मीले मात्र महसुस गरेर पनि नहुने रहेछ। हुँदो हो त, यसरी ड्युटीमा रहेका चिकित्सकमाथि हातपात पक्कै नहुनुपर्ने थियो। अस्पतालहरुमाथि तोडफोड गरेर क्षतिपूर्तीका नाममा बार्गेनिङ नहुनुपर्ने थियो।
डाक्टर, नर्स कुनै भगवान् त होइनन् अनि मेडिकल साइन्स कुनै जादुको छ्डी पनि होइन छोयो कि ठिक हुनलाई। यो कोसिस हो। अस्पतालमा आएका सबै बिरामीलाई ठीक पार्न सकिँदैन, यो सत्य हो। चिकित्सकले लाख कोसिस गर्दागर्दै पनि बिरामीको मृत्यु हुन्छ। यो उपचारको जोखिमलाई स्वीकार्न सक्नुपर्छ। बिरामी निको हुने र नहुने कुरामा रोग, उमेर, समय, प्रविधि, प्राप्त उपचार विधि जस्ता धेरै कारणले भूमिका खेलेका हुन्छन्। सबै दोष ुचिकित्सकको लापरबाहीु भन्ने एउटा बास्केटमा हालेर हेर्न हुँदैन। बिरामीले रोग पालेर गरेको लापरबाही, घरपरिवारले बेवास्ता गरेर बिरामीलाई गम्भीर बनाउँदाको लापरबाहीको अपजश समेत चिकित्सकको टाउकोमा थुपार्ने गरिन्छ। यो कहाँसम्मको न्यायसंगत कुरा भयो त ?
चिकित्सा पेशा पूर्णरुपमा निष्कलंक छ भनेर म दाबी त गर्दिनँ। तर, चिकित्सक र अस्पतालमाथि जसरी दुर्व्यवहारका घटना भइरहेका छन् त्यतिसम्म गएगुज्रिएको छैन यो पेशा भन्ने चाहिँ ठोकुवा गर्न सक्छु। बिरामी ठीक हुँदा कुनै डाक्टर, नर्स वा अस्पताललाई धन्यवाद समेत दिन आवश्यक नठान्ने तर बिरामी तलमाथि पर्नासाथ सबै दोष डाक्टर र अस्पतालको टाउकोमा हालिदिने चलन देख्दा अचम्म लाग्छ। नकारात्मक कुरा सोच्न र अरुलाई दोषारोपण गर्नमा नेपाली माहिर नै हो कि जस्तो लाग्छ कहिलेकाहीँ।
किन स्वाथ्यकर्मीमाथि विश्वास गर्दैनन् बिरामी र आफन्तलेरु उपचार सफल बनाउन विश्वासको जरुरत पर्छ। मानवीय स्वभावको दृष्टिले हेर्दा बिरामीका आफन्तलाई आफ्नो बिरामी किहले निको होला भनेर छटपटि र तनाव हुनु सामान्य हो। अझ, बिरामीको निधन हुँदा मान्छे भावविह्वल हुनु र आवेगमा आउनु सामान्य नै हो। तर, यसको मतलब सबै दोष अस्पताल र चिकित्सकको टाउकोमा हालेर दुर्व्यवहार गर्न तम्सिनु कदापी होइन। आखिर हामी कहिलेसम्म ज्यान जोखिममा राख्ने, कहिलेसम्म डराइडराई काम गर्नेरु कहिलेसम्म हामीले नगरेको गल्तीको सजाय भोग्ने ?
चिकित्सक र अस्पतालमा हुने यस्ता दुर्व्यवहार रोक्न सबै पक्ष सचेत हुनै पर्छ। आखिर भयको वातावरणमा काम गर्नुपर्यो भने त्यसले घाटा बिरामीलाई नै पुग्ने होइन ररु त्यसैले चिकित्सक वा अस्पतालमाथि आक्रमण गर्नेलाई कडाभन्दा कडा सजाय दिएर यस्ता घटना नियन्त्रण गर्नेतर्फ राज्यले सोच्नुपर्छ। यदि, कतै अस्पताल वा चिकित्सकको गम्भीर लापरबाही छ भने, त्यसको छानबिन गरौँ, दोषि पाइएमा कानुनअनुसार कारबाही गरौँ। तर डाक्टर र अस्पतालमाथि हातपात, आक्रमण गरेर आतंक फैल्याउने काम बन्द गरौँ।
(थपलिया स्टार अस्पतालमा कार्यरत नर्स हुन्)