रामकिशन मुसहर ‘कर्मचारी लापरबाही’ को शिकारमा परेका ज्वलन्त पात्र हुन् । बिहान उठ्ने । अर्काको काममा जाने । अनी साँझ फर्किने र खाना खाएर घुप्लुक्कै निदाएर बिहान मात्रै व्युझिने पात्र हो । घण्टा, दिन, महिना अनि वर्ष त्यसरी नै बित्छ रामकिशन मुसहरको । सोझो र गरिव पात्रको नाम हो रामकिशन मुसहर । राज्यको परिभाषामा उ सिमान्तकृत अनी अल्पसंख्यक जातिमा पनि पर्छ । त्यही उपेक्षित पात्रलाई राज्यले पनि उसरी नै उपेक्षित बनाएको छ । उसले सरकारी कर्मचारीको घर देखेको छैन्, कार्यालय देखेको छैन् । जतिबेला काम पर्छ त्यो बेला मात्रै सरकारी कार्यालय धाउने मुसहरलाई अन्य बेला पेटको लागि काम गर्दै ठिक्क हुन्छ । उसको बुबा सन्तलाल मुसहर पनि उसैगरी काम गरेर जीवनको इहलीला समाप्त भयो । सन्तलाललाई राज्यले कम्तीमा बंशजको आधारमा नागरिकता दिएर राज्यको नागरिक हुनुको गुण लगाएको त थियो । तर, त्यही सन्तलालको छोरा रामकिशनलाई राज्यका कर्मचारीले जन्मको आधारमा नागरिकता दिएर वर्षौसम्म अनागरिकको बिल्ला भिराइरहेको छ । जसको पीडा उनी अहिले छोराछोरीको पालामा उठाइरहेका छन् । राज्यका कर्मचारीले सन्तलाललाई लगाए जति गुण पनि लगाउन सकेन् । प्रकारान्तरमा उनी त्यसको पीडित बनेका छन् । उनको पीडाको पहाड नापेर सकिदैन् । बढेका छोराछोरीलाई नागरिकता दिलाउन सकेका छैनन् । छोराले ‘नेपाली सेनामा जागिर खाने सोच राख्यो । तर, नागरिकता बन्दैन’ उनको पीडाको पहाड यसरी फुकाउँछन् । किनकी कर्मचारीले २०६४ सालमा टोलीमा नागरिकता बनाउँदा जन्मको आधारमा नागरिकता लेखिदिएका कारणले अहिले छोराछोरीले नागरिकता पाउन सकेका छैनन् । त्यही सन्तलालको छोरा हो रामकिशन । तर, रामकिशन अव नामको रामकिशन मात्रै छन् । उनको अधिकार नेपाल र यहाँको सरकारले दिन सकेको छैन् । रामकिशन सोध्छन् ‘के बुबाको नागरिकताको आधारमा मैले बंशजको नागरिकता पाउने हैन र ?’ प्रश्न गम्भीर छ । उत्तर न त त्यो बेला नागरिकता बनाउने कर्मचारीहरुमा छ, न त राज्यसँग । राज्यले अहिलेकै अवस्थामा जन्मको आधारमा नागरिकता पाएका नेपाली नागरिकका छोराछोरीहरुलाई ‘नागरिकता दिन सक्दैनौं’ भनिरहेको छ । राज्यको तर्फबाट त्यो जायज छ । तर, २०६४ सालमा नागरिकता टोलीले गरेको गम्भीर त्रुटीको भारी के रामकिशन मुसहरहरुले बोकिरहने हो ? के त्यसको बोझ उनका छोराछोरीहरुले उठाइरहने हो ? हैन, भने सरकार सन्तलालले २०४६ साल फागुन ५ गते बंशजको आधारमा नागरिकता पाउने ? अनी उसैको एक्लो सन्तानको रामकिशनले जन्मको आधारमा पाउने । यो कसरी न्यायोचित भयो त सरकार ? प्रश्न यहाँनिर हो । उत्तर पनि यही कोणबाटै खोजिनु पर्छ । अन्यथा पेटको लागि दैनिक गुजारा गर्ने रामकिशन सदैव उपेक्षित बन्ने छ । जसरी जातिगत रुपमा सदिऔंदेखि राज्यबाट उपेक्षित भइरह्यो । त्यसरी नै नागरिकताबाट पनि उपेक्षित भइरहने हो त सरकार ? नागरिकताको लागि प्रयास छोरा नेपाल पुलिसमा भिड्ने भनेपछि रामकिशनले छोराका नागरिकताको लागि पहल गरे । पहल गरेको पहिलो गाँस मै ढुङ्गा भने झै मोरङको रमाइलोस्थित कार्यालयबाटै उनलाई फर्काउने काम भयो । गाविसले जन्मको आधारमा दिन सकिदैन भनेर फर्काएपछि गाउँका ‘ठालू भनाउँदा’ हरुलाई लगेर भनसुन गर्ने प्रयास गरे । गाविसले जाँचबुझ गरेपछि नागरिकताको लागि कागज बनायो । तर, जव मोरङको उर्लाबारीस्थित इलाका प्रशासन कार्यालय पुग्यो । त्यसपछि उनको कागज सिधै रिजेक्ट गरियो । ‘जन्मको आधारमा हुँदैन, बाहिर जानु’ भनेर कर्मचारीको कर्कश स्वर रामकिशनकी श्रीमती माया ऋषिदेवको कानमा गुञ्जियो । त्यही नजिकै उनलाई केहीले पैसा दिए काम बन्छ भनेर नभनेका पनि होइनन् । उनका अनुसार १२ हजार रुपैया दिए तुरुन्तै नागरिकता बन्ने कुरो गरे । तर, बिचरा दैनिक पेटका लागि गुजारा गर्ने रामकिशन मुसहरको परिवारले कहाँबाट ल्याउँने त्यतिका विधि पैसा । पैसा दिन सार्मथ्य नभएपछि लुरुलुरु घर फर्किनु भन्दा अर्को बिकल्प देखिनन् । घर फर्किइन् । त्यसपछि उनी फेरि फर्केर जाने प्रयत्न गरिनन् । जस्को कारण अहिले छोराको पढाईसमेत प्रभावित बनेको छ । नागरिकताको कारणले उनको परिवार धुजाधुजा बन्दै छ । एकातिर लक्का जवान छोरो देशको लागि केही गर्ने दृढइच्छा शक्ति राख्दछ । तर, राज्यको ऐन, कानुन र नियमहरुले त्यही इच्छाशक्तिहरुलाई मारिरहेको छ । र, रामकिशन मुसहरका छोराछोरीलाई भारतको कुनै कुनामा काम गर्न बाध्य पारिरहेको छ । यो सदियौंदेखि चलिरहेको थियो । र, अहिले पनि त्यो निरन्तरता हट्न सकेको छैन् । यस्ता पौरखीहरु विदेशमा पौरख बर्जान जाने बाध्यता राज्यले नै सिर्जना गरिरहेको छ । के यसमा राज्य र सरकार दोषी छैन र ! कर्मचारीको फटाई २०४६ फागुन ५ गते बनेको सन्तलालको नागरिकतामा बंशज हुने । अनी उनको छोरा रामकिशनले २०६४ साल जेठ ३० गते पाएको नागरिकतामा जन्मको आधार हुने । के त्रुटी यहाँ छैन् र ! यो त्रुटीको भागिदार कर्मचारी होइनन् र ! यस विषयमा राज्यले छानविन गर्नुपर्दैन ! कर्मचारी गल्तीले जीवनभर रामकिशन जस्ता पात्रहरुले पीडा भोग्नु परेको छ । रामकिशनले न्याय कोसँग माग्ने ? के राज्यले उसलाई न्याय दिनुपर्दैन । कानुनमा सबै बराबर भने झै आम नागरिकले पाउने सेवा सुविधा उनले नपाउने त ? यस्तो गम्भीर त्रुटी गर्दा पनि अझ कर्मचारीकै ठूलो स्वर हुने गरेको छ । त्यो बेला बुबाको नागरिकता देखाउनु पर्दैन ? जस्ता हप्काई रामकिशनले नै खानु परेको छ । तर, इलाका प्रशासन कार्यालय उर्लाबारीका प्रमुख पुरुषोत्तम घिमिरेले टोलीमा खटिएका कर्मचारीहरु मध्ये कतिपय नागरिकताको विषयमा जानकार नभएकाहरु पनि रहेका कारण समस्या सिर्जना भएको दाबी गरेका थिए । सम्बन्धित कार्यालयका कर्मचारी टोलीमा नखटाइदाको परिणाम अहिले धेरैले भोगिरहेको उनले बताएका थिए । त्यसो हो भने राज्यले गरेको कमजोरीको शिकारमा रामकिशनले किन पीडित हुनु पर्ने ? यसको न्याय पनि राज्य पक्षबाटै हुनु पर्छ । अन्यथा रामकिशनका छोराछोरीहरु राज्यबाट जसरी उपेक्षित बनेका छन् । उसरी नै नागरिक हुनुबाट पनि उपेक्षित भइरहने छन् । त्यसतर्फ राज्यले सोचोस् । र, राज्य र सरकारलाई हाम्रो प्रश्न, एउटाले गरेको गल्तीको भागिदार अर्कोलाई नबनाइयोस् । रामकिशन जस्ता सोझा सिधा जनताले नागरिकता पाओस् ।