बलात्कार मानसिक विचलनमात्र होइन, यौनविकृति पनि हो। जसलाई मानसिक विचलनको रुपमा ब्याख्या गरिन्छ। सामाजिक, सांस्कृतिकरूपमा रहेको निम्नस्तरीय लैंगिकविभेदी जीवनशैली र पुरुषप्रधान सभ्यताले छोडेको नकारात्मक प्रभाव हो बलात्कार। यौन मनोविश्लेषक रेमी द गुमरोले आफ्नो पुस्तक 'फिजिक द लामुर' मा लेखेका छन्– प्रायः सबै मानिसमा न्यूनाधिकरूपमा अनाचारका जिवाणु विद्यमान हुन्छन्। हाम्रो समाजिक संरचना र साशनपद्धतिले त्यसमा उतारचढाव ल्याउने काम गर्छ। र, मानिस आपराधिक क्रियाकलापमा संलग्न हुन्छ।
बलात्कार गर्ने व्यक्ति स्वस्थ दिमागको भए पनि निम्न सामाजिक स्तरको हुन्छ। राम्रै शिक्षित र सामाजिक वर्गको भए पनि उसमा कुण्ठा र व्यभिचार क्रियाशील हुन्छ। जुन व्यक्तिको यौनजीवन सहज छैन र परितृप्तिका लागि उसले आफूभन्दा कमजोर मानिसलाई निसाना बनाउँछ। नेपालजस्तो मुलुकमा पितृसत्तात्मक सोच पनि जिम्मेवार छ। यहाँ लोग्नेले गर्ने जबर्जस्तीलाई कहिल्यै बलात्कार मानिँदैन। यसलाई पौरुषत्व र नैतिक अधिकारभित्र पर्ने निजी सम्पत्तिको रूपमा व्याख्या गरिन्छ। आफ्नो लोग्नेलाई खुसी पार्ननसक्ने आइमाई कस्ती भनेर स्त्री जातिमाथि नै प्रश्न गरिन्छ। दिनहुँजसो बलात्कारका घट्ना सार्वजनिक भइरहेका छन्। बाबुले छोरीलाई, काकाले भतिजीलाई, शिक्षकले विद्यार्थीलाई, मामाले भान्जीलाई, मालिकले काम गर्नेलाई, छिमेकीले छिमेकीकै छोरीचेलीलाई, शक्तले अशक्तलाई, सुरक्षाकर्मीबाटै पनि भएका बलात्कारका घट्ना प्रशस्त सार्वजनिक भैरहेका छन्। कतै जागिर लगाउने प्रोलभनमा त कतै प्रमोसनको लालसामा! महिलामाथि हुने 'सेक्सुअल हरासमेन्ट' पनि बढ्दो छ। यस्ता कुरालाई प्रश्रय दिइरहेको छ अहिलेको शासन व्यवस्थाले, भ्रष्ट र कमिसनखोर राजनीतिले। हाम्रो देशमा अदालती झञ्झट, महँगा वकिल, फैसलामा ढिलाई र सामाजिक अपमानको डरले बलात्कृत भए पनि कति घट्ना त सार्वजनिक नै हुँदैनन्। कति घट्ना पैसाका बलमा लुकाइन्छ। धम्की र आश्वासनले पनि भूमिका खेल्छ। आखिर कहिलेसम्म यो समाजमा केटी मान्छे ढुक्कले हिँड्न नपाउने? कहिलेसम्म युवतीले पूजा बोहोरा, ख्याति श्रेष्ठ र विमला परियार भएर मानसिक सन्तुलन र ज्यानै गुमाइरहने? मुलुक संविधान निर्माणको अन्तिम चरणमा पुगेको छ। यही समयमा  बलात्कारसम्बन्धी कानुन बनाउँदा हदैसम्म कडा पारिनुपर्ने माग सबैतिरबाट उठिरहेको छ। जन्मकैद भन्दा पनि कडा सजायको व्यवस्था कानुनमा हुनुपर्ने बलात्कार पीडितहरूको माग छ। यो स्वाभाविक पनि हो। जो मानिस बलात्कारको मनोदशावाट गुजि्रन्छ त्यसलाई मात्र थाहा हुन्छ, अपमानको बोझ कति गहुँ्रगो हुन्छ! बलात्कार महिलाका लागि शारीरिक भन्दा पनि मानसिक आघात हो। लोग्ने मानिसलाई प्रकृतिले खुला छोडिदिएको छ। एकातिर उनीहरूले चाहेको खण्डमा जसरी पनि यौनतृप्ति लिनसक्ने सार्मथ्य हुन्छ भने अर्कोतिर देशको कानुन यति फितलो छ कि बलात्कारीलाई सजिलै उन्मुक्ति मिल्छ। वकिल र न्यायाधीशहरू प्रमाण र बयानको नाममा बलत्कारीलाई भन्दा बलत्कार पीडितलाई जटिल प्रश्न तेर्स्याउँछन्! सोच्नुपर्ने कुरा के हो भने, बलात्कारका घटना किन बढिरहेको छ? किन मान्छेले आफ्नो यौनबासना तृप्त पार्न बलात्कारजस्तो जघन्य अपराध गर्छ? लेखक गुमरोले भनेजस्तै आजको हाम्रो समाजिक संरचना नै दोषी छ। अर्धविकसित र अन्धविश्वासले ग्रस्त मुलुकमा व्याप्त गरिबी र बेरोजगारीका कारण आज पनि संसारका आधाभन्दा बढी जनसंख्या निम्नस्तरको सामाजिक जीवन बाँच्न बाध्य छन्। यस्ता ठाउँमा यौन निकै सामान्य र सस्तो हुनेगर्दछ। अर्को कारण प्रविधि र साइबरको अतिक्रमण पनि हो। यसले रहस्य, लाज र संकोचको घेराभित्र रहेको यौनलाई एक मिनेटमै उदांगो पारिदिन सक्छ। इन्टरनेटमा सर्च गर्दा एकपलमै भेटिने यौनक्रियाकलापका भिडियोले अहिलेका शिक्षित वर्गलाई पनि चाहिनेभन्दा बढी नै उत्तेजित र आवेगको अवस्थामा पुर्यािइदिन्छ। यसले त्यस्ता मानिसको मर्यादित चेतनाको नियन्त्रण भत्काउन ठूलो भूमिका खेल्छ। परिणामतः मन र दिमागको सन्तुलन गुम्नजान्छ। हाम्रो समाजिक जीवनपद्धतिमा छोरी मान्छेलाई सधैँ संवेगरहित वस्तुजस्तो व्यवहार गरिन्छ। भरपुर बन्धनमा राखेर भावनात्मकरूपमै कमजोर बनाउने कार्य परिवारबाटै हुन्छ। पितृसत्तात्मक सभ्यताले भौतिक तथा मनोवैज्ञानिकरूपबाटै उसलाई थिचोमिचो गरिरहन्छ। केटी मान्छेमाथि बलात्कारको प्रयास सानै उमेरदेखि सुरु हुन्छ। विशेषगरी गाउँघरमा नजिकका आफन्तबाटै विभिन्न कोणबाट छुने चिमोट्ने, चुम्बन गर्ने जस्ता क्रियाकलाप हुन्छन्। यसलाई कसैले पनि अनैतिक मान्दैनन्। सामान्यतया केटाकेटीप्रतिको प्रेम गलत पनि मानिँदैन, तर यौनमनोविश्लेषक फ्रायडले लेखेका छन्– केही मानिस यस्ता हुन्छन् जसले केटाकेटीलाई गर्ने प्रेमको माध्यमबाट मानसिक बलात्कारको आनन्द भोग गरिरहेका हुन्छन्। त्यस किसिमको प्रेमले केही यस्ता मानसिक विकारहरु वृद्धी गर्छ जसले छ वर्षकी बालिकालाई समेत बलत्कारको सिकार बनाइदिन्छ। मलाई निकै पहिलेको एउटा घट्ना सम्झना आउँछ। त्यतिबेला म केटाकेटी नै थिएँ। बिदाको दिन प्रायः गाउँका केटाकेटी जम्मा भएर खेल्ने गर्थ्यौं। हाम्रो घरनजिक निकै प्रसिद्ध एक पण्डित थिए।  खेल्ने क्रममा कहिलेकाहीँ हामी उनको घरनजिक पुग्थयौँ। त्यही क्रममा एकदिन उनले म र मेरा साथीहरूलाई आफ्नो गुप्तांग निकालेर देखाइदिएका थिए। त्यो देखेपछि हामी डर, लाज र घिनले भुतुक्क भएर भागेका थियौँ। र, निकै दिनसम्म तिनको नजिक पर्न डराएका थियौँ। यस्तो घट्ना सामान्यतया प्रयोजनरहित र अर्थहीन लाग्छन्। बन्द समाजमा त्यस्तो कुरा सबैलाई बताउन पनि सकिँदैन। तर यसलाई समान्य कुरा मानेर बस्नु ठूलो भूल हो भन्छन् मनोविश्लेषक फ्रायड। अनावश्यक स्पर्श र यौनअंग प्रदर्शनलाई यौनमनोविज्ञानमा बलात्कारनजिकको प्रयास मानिन्छ। निम्नस्तरीय जीवनशैली, छोराहरूलाई दिएको विशेष छुट र यौनशिक्षाको अभावले पनि बलात्कारका घट्ना बृद्धि हुनपुगेको छ। यौन अनुशासनको पहिलो पाठशाला उसको घरपरिवार हो। परिवारले नै आफ्ना छोराछोरीलाई अपराधी बन्न र बलात्कृत हुनबाट जोगाउन सक्छन्। बलात्कार नियन्त्रणको बलियो आधार कानुन पनि हो। विशेष गरेर योजनाबद्ध बलात्कार तथा अपराधका घट्ना नियन्त्रण गर्न कडा कानुनी सजायको व्यवस्था हुनु आवश्यक छ