बाङ्गो बोली-चुनावी गणित
- असार ११, २०७४
- ब्लाष्ट खबर
२० वर्षपछि लागेको चुनावको पारो ‘अरब’ भन्दा तातेको छ । नगरवासीलाई आफ्नो जनप्रतिनिधि जिताउने भोक छ । अहिले भात, पानी माया मारेर भोट माग्नदेखि घरदैलो, कोणसभामा पुगेर आफ्नो प्रतिनिधिलाई ‘सुके मुख’ लगाएर पनि सहयोग गरिरहेका छन् ।
२०५४ पछि आएको चुनाव पनि झण्डै सरकारले सार्दासार्दै उम्मेद्वारहरुको कोटको खल्ती नै सार्न लागेका थिए । बैसाख ३१ मा चुनाव हुन्छ भनेर तोकेपछि त्यही रफ्तारमा नेताहरुले खल्ती खन्याएका थिए चुनावका लागि । तर, एक महिना पर स¥यो । धन्न छिट्टै सारिदिएकाले झण्डा बनाउने र फ्लेक्स प्रिन्टको सामान्य काम भन्दा अर्को भएको थिएन् । त्यसमा चानचुने रकम मात्रै खर्च भएको थियो ।
जेठ ३१ पनि सर्यो । मधेशवादी दलको नेतालाई मनाउन सरकारले असार ९ मा गर्ने मुड बनायो । तर, फेरि के भयो कुन्नी मधेशवादीलाई ‘ललीपप’ खुवाउनको लागि १४ को अन्तिम सुनुवाई ग¥यो ।
त्यति हुँदा पनि मधेशी नेता मान्नेवाला भए पो । २ नम्बर प्रदेशको चुनाव त असोज २ मै पु¥याइ छाड्यो । मधेशवादी दलले आफूले चुनाव जित्ने नदेखेपछि ‘सरकारसँग निहुँ खोज्यो बस्यो’ त्यही फाइदा देखे उनीहरुले । यता चुनाव हुने ३५ जिल्लाको ३३४ स्थानीय तहमा भने अचाक्ली नै गर्मी बढेको छ । कार्यकर्ताको पसिना चुहिएको छ । चुनावी रन्कोले कतिपय नेता, कार्यकर्ताको बास अहिले प्रचार प्रसारको लागि खोलिएको कार्यालय मै हुने गरेको छ । अहिले ती कार्यकर्ताहरु ‘अङ्क गणित, विज गणित र जोमेट्री गणित’ को जोडघटाउमा लागेका छन् ।
पहिलो चरणको स्थानीय तहको चुनावमा पहिलो बनेको दल एमालेको आफ्नै गणित प्रयोग गरिरहेको छ । उसको गणित परम्परागत नै छ । संगठनको दम्भ एमालेको रोग नै हो । उसले संगठन दर्बिलो छ भनेर फाइफुट्टी लगाउन छाड्दैन । फेरि यो वर्ष एमाले अध्यक्ष केपी ओलीको राष्ट्रवादले काम गरेकै छ जनतामा । त्यसमा पनि धरान त कम्युनिष्टको गढ नै हो । उसको राष्ट्रवादलाई त त्यसै चिर्छ । २०१५ देखि यता कुनै माइकलालले जितोस् त के, जित्छ कम्युनिष्टहरुले नै ।
२०६४ सालको पहिलो संविधान सभाको चुनाव बाहेक सबै स्थानीय, संसदीय, मध्यावदी सबै एमालेको पोल्टामा छ । त्यसैले उसको दम्भ पनि ठिकै छ । यता १० वर्षे सशस्त्र द्धन्द्ध गरेर आएको पार्टी जो पहिचान बोकेर ब्युझिएको छ । उसको पनि ‘गणित’ कम छैन् । सुकुम्बासीको भोट आफ्नो पोल्टामा आउँछ भनेर खोकेकै छ । मानौं, सुकुम्बासी माओवादीले नै उत्पादन गरेको कुनै जण्ड जिच हो । अझ उसको गणितमा संघीय समाजवादीलगायतका ८ वटा दलहरुले दलीय गठबन्धन गरेकाले पनि उनीहरुले आफ्नो दम्भलाई थप ‘रसमलाई’ बनाएका छन् । किनकी २०६४ को धङधङगी उसमा पनि हराएको छैन् ।
पालो आयो कांग्रेसको । किशोर राईको उम्मेदवारी लगभग निश्चित भएपछि रातारात राजधानी नापेर ‘राजिनामाको घुर्की’ ले नगर सभापति तिलक राई मेयरमा विराजमान हुन खोज्दैछन् । कांग्रेसको ‘गणित’ जहिले पनि एउटै छ । ऊँ जनताको पार्टी । जनताको विश्वासले अडेको पार्टी । संगठन भन्दा पनि जनतामा आशावादी भएर बाँच्दै आएको छ । तर, अहिलेसम्म जनताले उसलाई निराशामात्रै चखाउँदै आएको छ धरानमा । यो पल्ट कांग्रेस गणितले नगरमा जित्छौं भन्दै छन् । यो अड्कलमा झड्का लाग्ला कि पड्का लाग्ला असार १४ पछि नै हेर्नुपर्ला ।
अन्य साना पार्टीहरुले जित्ने होइनन् । तर, हराउनमा भूमिका खेलेकै छन् । त्यही खेलमा यो पटक पनि लाग्छन् नै । किनकी बानी जो परेका छन् । ‘जित्न सकिदैन्’ भने कम्तीमा आफ्नो फेभरलाई त जिताउ भन्दै अरुकै छातामुनी भोट मागेकै छन् । स्वतन्त्र उम्मेदवारहरुको गणित उस्तै छ । जित्छौं भन्न छाड्दैनन् । तर, जित्ने त्यस्तो आधार पनि पेश गर्दैनन् । चुनावको यो गणितमा ‘फेल र पास’ को स्पर्धा चलेकै छ । पास हुनेहरु विजयको टीका लगाउछन् । फेल हुनेहरु फेरि अर्कोपल्टको लागि चुनावी गणितको जोडघटाउमा लाग्छन् । यस्तै जोडघटाउ चलिरहन्छ । तर, जनताले विकास र अग्रगमनको स्वाद भने खासै पाएका छैनन् । कहिले पाउने हुन्, कि उही प्रजातान्त्रिक प्रणाली भनेको ‘बोकाको टाउको झुण्डाएर, कुकुरको मासु बेच्ने प्रणाली’ हो भनेर बुझिराख्ने हुन् । चेतना भयाँ ।