एक समयको कुरा हो सुमन र निरोज एकदम मिल्ने साथि थिए । दुबै जना असाध्यै बहादुर, दुःखीलाई सहयोग गर्ने र घुमफिर गर्न मन पराउँथे । एक दिन गर्मिको समयमा दुबै जना माछा खान दोलालघाट पुगे । माछा खाँदै दुबै जना सुनकोसी नदी किनारमा रमाइरहेका मानिसहरुलाई हेरिरहेका थिए ।
निरोजले अचानक सुमनलाई भन्यो ओहो यस्तो गर्मिमा पौडी खेल्नु पर्छ जाउ हिड । दुबै पौडी खेल्न थाले तर नदी दुबैजनाले अपेक्षा गरे भन्दा धेरै गहिरो थियो । यतिकैमा निरोज पौडी खेल्दै अलि पर पुगिसकेको थियो । अकस्मात उसलाई नदीले अलि तल गहिरो स्थानमा पुर्यो । निरोज अतालिसकेको थियो । सुजबुझ गुमाइ सकेको निरोज डुव्नै लागिसकेको थियो ।
आफनो साथी डुब्दै गरेको देख्ने बित्तिकै सुमन अतालिँदै बाहिर निस्कन्छ र छेवैमा रहेको सुकेको काठको मोटो हाँगो निरोज तिर तेर्साउदै धकेल्छ । दुरभाग्य निरोज काठको हाँगो समाउन सकिरहेको थिएन । सुमनले काठको हाँगो निरोज भएतिर फालिदियो ।
किनारमा रमाइरहेका सबै मानिस आइपुगे र भन्न थाले अब यो बाँच्दैन नदीले बगायो यसलाई । सुमनको मनमा पनि यस्तै भावना आइसकेको थियो कि अब निरोज बाच्दैन नदीले बगाउने भो ।
यस्तो बहाव भएको नदीमा बाच्न संम्भव छैन भन्दै सबै शोकमग्न अवस्थामा थिए । निरोजको शोकमा सबै जना किनारमा बसिरहेका थिए यतिकैमा अलि तलबाट सुनिलको साथमा कोही माथितिर आउदै गरेको देखियो । अलि नजिक आएपछि थाहा भयो सुनिलको साथमा आएको मानिस अरु कोही नभएर निरोज नै रहेछ । सबै जना खुसीले चकित हुँदै निरोजलाई प्रश्न गर्छन यसरी बगेको मानिस कसरी बाँचिस् ?
तिमीहरुको यो प्रश्नको जवाफ म दिन्छु भन्दै सुनिलले भन्यो स्- यति तेज बहाव भएको नदीले बगाउँदा पनि निरोज किन बाँच्यो भने त्यतिबेला उसलाई अब तँ बाँच्दैनस, तलाई नदीले बगायो भन्ने कोही थिएन । निराश गर्ने कोही थिएन । अत्याउँने पनि कोही थिएन । नत अब तँ मरिस भन्ने नै कोही थियो । निरोजको सामुन्ने थियो त केवल काठको हाँगो र बाँच्ने आशा । यही आशा र आत्मविश्वासले गर्दा निरोज नदीको किनार लागेर बाँच्न सक्यो ।
मित्र हाम्रो जीवनमा पनि यस्तै हुन्छ,जब अरु मानिसहरु कुनै काम असंम्भव भन्छन्, हामी हात उठाइ दिन्छौ र भन्ने गर्छौ की यो असम्भव नै छ । हामी आफ्नो क्षमताको मापन पनि अरुले भनेअनुसार नै गर्नेगर्छौ । झन् शेयर बजारमा यस्तो कुराको उदाहरण अझ देख्न पाइन्छ । बजार घट्ने भो वा बढ्ने भो भनेर कसैले भनिदियो भने हामी तत्कालै बेच्न र किन्न तयार भईदिन्छौं ।
तँपाई हामीले चिने जानेका ठूला लगानीकर्ताले शेयरमा नोक्सान व्यहोरेको देखेर त झन् हामी हत्तोत्साही हुनेगर्छौ र मनमनै भन्नेगर्छौ - ओहो ! उसलाई त नोक्सान व्यहोनु पर्यो, झन् मेरो अवस्था के होला ? बजारले उसलाई त साथ दिएन झन् मलाई के साथ देला ? ठूलाले त बेचिरहेका छन् म किन नबेच्ने ? जानकार भनाउँदाहरुले त झन् बजार नकरात्मक हुन्छ भनिरहेका छन् । बजार हामी जस्तो साना लगानीकर्ताको वसमा छैन, ब्रोकर र ठूलाले मात्र चलखेल गर्दा रहेछन् बेकारमा लगानी गरिएछ यो त मेरो क्षमताभन्दा बाहिरको विषय रहेछ आदि इत्यादि ।
यस्ता प्रकारका विचारहरु मनन् गर्दा र सुन्दैगर्दा हामी आफ्नै बुद्दी र विवेकको प्रयोग गर्न सक्दैनौं र अन्त्यमा हार स्वीकार गर्न थाल्छौ । तसर्थ अरुले भनेको भरमा आफुलाई कमजोर नठानौं । हरेक व्यक्तिको आ-आफनै क्षमता हुन्छ । जस्तो कि निरोजलाई बारम्बार अरुले अब तँ बाच्दैनस, डुविस, नदिले बगायो, तँ निस्कनै सक्दैनस् भनेर भनिरहेको भए, नत उसले आफ्नो विवेकको प्रयोग गर्नसक्थ्यो। नत उ बाँचेर आँउन नै सक्थो । तसर्थ विश्वास र विवेक कायम राखौं ।
आफ्नो लगानी र आफ्नो बजारप्रति विश्वास गरौं । मजबुद र निरन्तर प्रतिफल दिइरहेका कम्पनीहरु छनौट गरौं । आफैँलाई विश्वास गरौं, आफ्नो पसिनाको कमाई प्रति विश्वस्त होऔं , आफुले गरेको लगानीलाई पुर्ण विश्वास गरौं, बजारलाई विश्वास गरौं, सकरात्मक सोचौं । कसैलाई आरोप लगाउँदैमा आफु आरोप मुक्त भइँदैन । सुनौलो दिन आउँदै छ ।
(सिजापति नेपाल स्टक ब्रोकर एशोसिएसनका पूर्व अध्यक्ष हुन् )