यता हामी नेपालीलाई भने सरकार बनाउन विधि, प्रक्रिया र समय पर्खिनु परेको छ । भविष्यको केही अनुमान र विश्वास गरिए पनि उता मोदीचाहिं तारन्तार ओलीलाई बधाइ र निम्तो दिने काम गरिरहन्छन् भने यसलाई कसरी लिनु ? तिमीहरु ओलीको विकल्प नखोज भनेर मोदीले साङ्केतिक दबाब दिए भनी काङ्ग्रेस, मधेशवादी दलहरुले सोच्न सक्दैनन् र ? अर्कोतर्फ प्रचण्डले पनि मलाई प्रधानमन्त्री रुचाइएन तर पार्टी एकीकरणचाहिँ गर भन्ने सङ्केत आएको नसोच्लान् र ।
अथवा भोलिका दिनमा ओली प्रधानमन्त्री भइसकेपछि मोदीले तिमीहरुको देशमा राजनीतिक अन्यौल हुँदा मैले दिएको सङ्केत, लाइनअनुसार प्रधानमन्त्री बन्यौ भन्ने मनोविज्ञान पारिदिन चाहेका हुन् कि !

ठीक एक महिनापछि माघ ६ गते आइतबार साँझ भारतीय प्रधानमन्त्री नरेन्द्र दामोदर दास मोदीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई दोस्रोचोटी फोन गरे । अध्यक्ष ओलीका प्रेस संयोजकका अनुसार मोदीले ओलीलाई हालै सम्पन्न निर्वाचनमा ठूलो दल हुन सफल भएको र सरकारको नेतृत्व गर्न लागेकोमा बधाइ दिँदै भारत भ्रमणमा आउन निम्तोसहित स्वागत गर्न आफू आतुर रहेको बताए ।
मोदीको फोनले एमालेवृत्त निकै खुशी भएको देखिन्छ । नत्र त्यो फोन वार्ता तत्काल प्रचारप्रसार गर्ने थिएन । हो यहीं छ दुर्भाग्य नेपाल र नेपालीको लागि । एमाले वृत्तलाई लाग्दो हो कि वामपन्थी सरकार बन्दैमा भारत तथा पश्चिमाले सहयोग गर्दैनन् भन्ने साँचो कुरा होइन । नत्र महान भारतका मोदीले दुई–दुईचोटी फोन किन गर्थे ? बधाइ दिने र स्वागत गर्न आतुर छु भनेर त्यत्रो हितैषीपन किन देखाउँथे ? अब त देख्यौ काङ्ग्रेसी, मधेशवादी दलहरु !
हो ओली नै प्रधानमन्त्री हुने देखिन्छन् । होउन् पनि, जनताले चाहेका पनि छन् । तरपनि, हालै सम्पन्न निर्वाचनपछि ओली अहिलेसम्म ठूलो दलका नेता मात्र हुन् । सन्निकट समयमा ‘जस्तोसुकै’ सरकार बन्नुअघि माओवादी र एमाले पार्टी एकीकरण भएमा एकीकृत पार्टीको एक नेता पनि हुनेछन् ओली । तर कुन पदधारी नेता हुनेछन् अहिलेसम्म निश्चित छैन । ओली पार्टी अध्यक्ष हुनेछन् कि संसदीय दलको नेता बनेर प्रधानमन्त्री हुनेछन् भन्ने अन्तिम टुङ्गो लागिसकेको छैन । अझ हुन नसक्ने काल्पनिक कुरा गर्ने हो भने एमाले र माओवादी मिलीहालेनन् भने राजनीतिक समीकरण अर्कै पनि त हुनसक्छ । काङ्ग्रेस, माओवादी र मधेशवादी दल मिलेर सरकार बनाउन पनि सक्छन् । यद्यपि यस्तो असम्भव छ ।
नेपालको नयाँ सरकार एमाले–माओवादी मिलेर नै बन्ला भनेर मोटामोटीरुपमा सबैलाई अड्कल छ, तर आवश्यक विधि, प्रक्रिया, समय गुज्रन बाँकी नै छ । विधि, प्रक्रिया, परिपक्व समय आवश्यक नपर्दो हो त निर्वाचन सम्पन्न भएको डेढ महिना बितिसक्दा पनि थप एक–डेढ महिना पर्खनु पर्ने थिएन । निर्वाचन सम्पन्न भएको डेढ महिनासम्म प्रदेशसभा सदस्यको नाम घोषणा हुन पर्खनु पर्ने थिएन । यही आवश्यक विधि, प्रक्रिया र परिपक्व समयको कुरा निर्वाचन आयोगले उठाउँदा दलहरुबीच सत्तामा टाँसिरहन खोजेको र तातै खाउँ जली मरुँ गर्न खोजेको भन्ने दोहोरी चल्ने थिएन ।
भन्न खोजिएको के हो भने नयाँ सरकारबारे अहिलेसम्म हामी नेपालीचाहिँ मोटामोटी अनुमान र यस्तै हुनेछ भन्ने विश्वासमा मात्र छौं । यो अनुमान र विश्वास नै यथार्थमा परिणत होला भन्ने लाग्छ । त्यसको लागि माथि उल्लेख गरिएको विधि, प्रक्रिया र समय परिपक्व हुन अझै समय लाग्छ । हो यही अवस्थामा भारतीय प्रधानमन्त्री मोदी भने केपी ओलीलाई प्रधानमन्त्री भइसकेझैं व्यवहार गर्छन् । बधाइ दिन्छन् । आÏनो देश आउने निम्तो दिन्छन् । अनि एमाले नेताहरु खुशीले उफ्रिँदै– आयो आयो फेरि पनि मोदीको फोन आयो भनेर प्रचारप्रसार गरिहाल्छन् ।
अतः यता हामी नेपालीलाई भने सरकार बनाउन विधि, प्रक्रिया र समय पर्खिनु परेको छ । भविष्यको केही अनुमान र विश्वास गरिए पनि उता मोदीचाहिँ तारन्तार ओलीलाई बधाइ र निम्तो दिने काम गरिरहन्छन् भने यसलाई कसरी लिनु ? तिमीहरु ओलीको विकल्प नखोज भनेर मोदीले साङ्केतिक दवाब दिए भनी काङ्ग्रेस, मधेशवादी दलहरुले सोच्न सक्दैनन् र ? अर्कोतर्फ प्रचण्डले पनि मलाई प्रधानमन्त्री रुचाइएन तर पार्टी एकीकरणचाहिँ गर भन्ने सङ्केत आएको नसोच्लान् र ।
अथवा भोलिका दिनमा ओली प्रधानमन्त्री भइसकेपछि मोदीले तिमीहरुको देशमा राजनीतिक अन्यौल हुँदा मैले दिएको सङ्केत, लाइनअनुसार प्रधानमन्त्री बन्यौ भन्ने मनोविज्ञान पारिदिन चाहेका हुन् कि !
[caption id="attachment_70357" align="alignnone" width="1011"]
स्केचः उमेशचन्द्र[/caption]
मोदीको फोनले खुशी हुने एमालेजनले दुःखी हुने पक्षहरु पनि छन् भन्ने हेक्का राख्नुपर्छ । मोदीले ओलीलाई बधाइ, निम्तो गर्दा काङ्ग्रेसी र मधेशीजनले चित्त दुखाएनन् होला ? अवश्य पनि, व्यक्त नगरेपनि कुटुकुटु चित्त दुखाएकै हुनुपर्छ । ई .. अब हामीलाई वास्ता गरेन, ओलीलाई च्याप्यो, प्रधानमन्त्री नै भन्यो ... भन्लान् । हुन त फेरि काङ्ग्रेसले बहुमत ल्याएर मोदीले शेरबहादुरलाई फोन गरेका भए वामपन्थीजनले पनि त्यसै भन्ने थिए । यस्तो सोच्ने प्रवृृत्तिको विषयमा अकै ढङ्गले बहस हुन्छ ।
हो केपी ओलीलाई बारम्बार फोन गर्नु मोदीको लागि आवश्यक छ । उनले फोन गर्न पाउँछन् । उनले फोन गर्नु नराम्रो पनि होइन । भारतीय विदेश नीतिका विषयमा विपक्षीबाट भएका आलोचनाहरु, नयाँ नयाँ राजनीतिक परिस्थिति, रणनीति, घटना–परिघटना, बदलिँदो दक्षिण एशियाली परिदृश्य र आफ्नो आवश्यकताका आधारमा मोदीले सम्भावित प्रधानमन्त्री केपी ओलीलाई फोन गर्नुलाई अन्यथा मान्न सकिँदैन । तर सम्भावित प्रधानमन्त्रीलाई फोन गर्दा प्रधानमन्त्री हुने तिमी नै हौ, अहिले नै शुभकामना छ, भोलि प्रधानमन्त्री भएलगत्तै मेरो देश आऊ भन्न के कति सुहाउँछ/सुहाउँदैन भन्ने कुरा राष्ट्रवाद र कुटनीति विषयको चर्चा गर्नेहरुले थप विवेचन गर्नुपर्छ ।
यता मोदीको फोनलाई हतार हतार प्रचारप्रसारमा ल्याउने ओलीले पनि आफू प्रधानमन्त्री हुन विश्वस्त नभएका कारण मौकामा चौका हान्दै मलाई भावी प्रधानमन्त्रीको रुपमा बधाइ दिए, निम्तो गरे भन्ने प्रचार गरेका त होइनन् ? अन्यथा होइन भने ई .. हेर त मोदी अझै नेपाली राजनीतिमा प्रभावकारी भूमिका खोज्न छोड्दैनन् । संवैधानिक विधि, प्रक्रिया, समय परिपक्व नभइ अनावश्यक चासो देखाउँछन् भनेर नेपाली जनतालाई बुझाएका त होइनन् होला ।
‘राष्ट्रवादी’ नेता ओली चुकेको अर्को पनि पक्ष छ । ओलीले मोदीको प्रस्ताव स्वीकार्दै उनलाई पनि नेपाल भ्रमणको निमन्त्रणा दिएका छन् । भलै ओली प्रधानमन्त्री हुने निश्चितप्रायः मात्र छ तर भइसकेका छैनन् । नेपाली जनताबाट अनुमोदितप्रायः भएका छन् तर संसदबाट अनुमोदित भइसकेका छैनन् । उनले आफू प्रधानमन्त्री हुने सुनिश्चिता नेपाली जनतासामु प्रष्टरुपमा भनिसकेका छैनन् भने मोदीसामु भने प्रकट गरेका छन् । आफू प्रधानमन्त्री भएपछि रामजानकी मन्दिर र मुक्तिनाथको दर्शन गर्न आउन भन्दै आग्रह पनि गरेका छन् । ‘राष्ट्रवादी’ नेता ओलीबाट पनि यस्तो व्यवहार हुँदा स्वाभिमानको कुरामा कोबाट विश्वस्त हुने ?