एक, दुई, तीन फेरिएला ।
पक्कै हाम्रो दिन फेरिएला ।
गजलकार सुमन राईले गजलको यो शेरमा परिवर्तित राजनीतिप्रतिको आशा व्यक्त गर्दै कार्यक्रममा प्रस्तुत भए । संख्या थोरै भएपनि गुणात्मकता धेरै रहेको धेरै विधा समीश्रित अर्थात ‘मल्टिभेराइटिज’ थियो कार्यक्रम ।
कार्यक्रम हो उत्तरपूर्वी मोरङको साहित्यिक गतिविधिलाई पुनर्जागरण गर्ने अभियान । एकताका पूर्वकै साहित्यिक गतिविधिमा चिनिएको पथरीशनिश्चरे यो अवस्थामा अति सुस्त वनेको तीतो सत्यले पोल्यो र यसलाई पुनजार्गृत गराउन प्रत्येक महिनाको पहिलो शुक्रवार दिउँसो २ वजे पथरीको रत्नपार्कको मनोहर पार्कमा सर्जकहरु भेला भए । पहिलो कार्यक्रम ०७४ फागुन ४ गतेको जमघट निकै स्वादिलो भयो । उस्तै हँसिलो र रमाइलो पनि । नगरका लागि साझा सृजनशिल संस्थाका रुपमा खडा भएको एभरेष्ट आर्ट फ्यूजनको आयोजनामा हामी निरन्तर जुट्ने र साहित्यिक आकाशमा माथी उठ्ने प्रणमा थियौं ।
पहिलो श्रृंखलामा फ्यूजनको सल्लाहकार म आफैं रचना वाचनको उद्घाट्न गर्दै गजलमा उत्रिए । संस्थापक अध्यक्ष एवम् प्रसिद्ध चित्रकार सरोजा खड्गीले सुरिलो स्वरमा गीत प्रस्तुत गरेर मुग्ध पारिन् । अध्यक्ष एवम् गायक, चित्रकार, मूर्तिकार टीकाराम राईले २० वर्ष अघि लेखेको गजल गाएर सुनाए । महासचिव सुमनले अरुका पनि रचना सुनाउन भ्याए ।
सर्जक इन्दिरा नेपालले खोटो भएपनि आफ्नै तक्दिर र आफ्नो स्वाभिमानी शीर प्यारो भएको कुरा गजलमार्फत पस्किन पुगिन् । देव गुरुङ, राजेन्द्र भट्टराई, निर्मला विक, वुद्धिमान धिमाल, पिङ्की राई सहितले कविता, गजल र गीत प्रस्तुत गरेर नगरको सर्जकको प्रभावकारिता प्रस्तुत भयो । निर्मलाले कविता र ‘के को माया के को मोह झुटो संसार’ वोलको गीतलाई मर्मस्पर्शी रुपमा गाइन् । सो अवसरमा हालै नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको इटहरीको कार्यक्रमबाट सम्मानित फ्यूजनका अध्यक्ष टीकारामलाई वधाई ज्ञापन गर्न समेत छुटाएनौं ।
अवको श्रृंखलामा रचनामाथि समीक्षा समेत गरी प्रभावकारी सृजनामार्फत नगरको सृजनात्मक पहिचान वनाउने लक्ष्य राखिएको कार्यक्रम संयोजक सुमनले सुनाए । संस्थाले फागुनको अन्तिम साता माटोको सजावटका सामग्री निर्माण गर्ने सेरामिक तालिम गर्ने समेत वताए । संस्थाले सृजनाको महत्वलाई उजागर गर्न नगरमा कलात्मक ‘सृजना पार्क’ (फ्यूजन पार्क) को अवधारणा अघि सार्दै नगरपालिका कार्यालयमा विस्तृत योजना समेत पेश गरेको पनि स्मरण गराइयो ।
त्यो वसाईमा मैले सम्झिएँ, मलाई सृजनाका क्षेत्रमा लागिरहन प्रेरित गर्ने पथरीको साहित्यिक माहोलको इतिहास । त्यसबेला (०५० सालता) सोमनाथ निरौला, जीवन शर्मा (पुरुषोत्तम मिश्र), सीएम कन्दङ्वाहरुको अगुवाईमा हुने साहित्यिक गतिविधिमा भर्खर लेख्न थालेका हामी बिमला तुम्खेवा, चन्द्र खनाल, रोहित पराई, सुमन राई, कोषराज श्रेष्ठ, इश्वर आँशु मगर, भरत भट्टराई सहित सहभागि हुने गथ्र्यौं । साँझ साँझमा भेला भएर रचना सुन्ने सुनाउने कामको थालनी ०५१ मा खडा भएको ‘उद्घोष साँझ’ को छत्रछाँयामा हुन्थ्यो । उद्घोषले धेरैवटा कार्यक्रम गरेर पूर्वका सर्जकहरुको ध्यान केन्द्रीत गर्न सफल भएको थियो ।
स्व. डा. नरेन्द्र चापागाईंको प्रोत्साहन मात्र होइन प्रत्यक्ष सहभागिता हामीसँग थियो । उद्घोषको ‘साँझ’लाई हटाएर रोहित पराईलाई अगुवा मानेर ०६८ मा ‘उद्घोष साहित्य समाज’ बनाइपनि त्यसले १,२ वटा कार्यक्रम गरेपछि सेलायो । यसबेला दिवंगत भइसकेका मित्र इश्वर आँशु मगरको अगुवाईमा हामी रहेर ‘यात्रा प्रतिष्ठान’ बनायौं र त्यसैबेला त्यो मृतप्राय भयो । अशोक साम्पाङ राईको अगुवाईमा साप्ताहिक रचना वाचनको कार्यक्रम ‘कवि कुना’ अघि बढेको १ वर्ष पनि निरन्तर हुन पुगेन । ०६९ भदौ ६ गतेदेखि प्रत्येक शनिबार बेलुका ४ बजेदेखि २ घण्टा बढी समय सृजना भलाकुसारीमा वित्ने गथ्र्याे । त्यसको पनि निरन्तरा भंग भयो ।
०५० को दशकमा यस नगर क्षेत्रले पूर्वमा सक्रिय साहित्यिक गतिविधि गर्ने स्थलका रुपमा आफुलाई परिचित गरेको अवस्थामा अहिले गतिविधि नै नहुने स्थलका रुपमा परिणत हुनु दुखद कुरालाई चिर्ने अभियानमा हामी जुटेका छौं । यस क्षेत्रका नाट्यकलाका गतिविधिमा पनि उसैगरी पूर्वको ध्यानाकर्षण गराएको थियो । सगरमाथा नाट्य समूह र कंचनजंघा नाट्य समूह उ बेला निकै सक्रिय थिए । गीत संगीतको क्षेत्रमा पनि महेश बुढाथोकी, वीरध्वज शिवा, शक्तिवल राई, अमिर राई, विक्रम राई, कोषराज श्रेष्ठ, रविन कन्दङ्वाहरुको त्यो बेलाको उर्जाशिल अभियानागत इतिहाँस थियो ।
गीत संगीतको त्यो खाले अभियान नभएपनि यस क्षेत्रमा नाम कमाउन पछिल्ला पुस्ता लागिपरेकै छन् । गायन, टेलिश्रृंखला, म्यूजिक भिडियो निर्माणमा भनें यसले आफुलाई सक्रिय बनाएको छ । नाटकका गतिविधि चाँही उत्साहजनक रुपमा भएको छैन भन्न सकिन्छ । अरु ठाउँमा साहित्यिक माहौल बढाउँदै हिड्ने मान्छेकै ठाउँमा भनें साहित्यको गतिविधि मृतप्राय किन भएको होला भनेर धेरैले मलाई प्रश्न तेस्याउँदा म नाजवाफ सरह हुँदै आएको अवस्था हो ।
यस क्षेत्रमा पछिल्लो समयमा चित्रकारिताका हस्ति सरोजा खड्गी र मूर्तिकलाका टिकाराम राईहरुको अगुवाईमा स्थापित एभरेष्ट आर्ट फ्यूजनले भनें चित्रकारिता र कलाकारिताको संस्थागत सक्रियताको विंडो थामेको छ । यसलाई चित्रकारिता, कलाकारितासँगै साहित्यसँग समेत जोडेर लाने कुरा भइरहेको छ । यही संस्थाको अगुवाईमा अव पथरीशनिश्चरे क्षेत्रमा सृजनशिलताका गतिविधि अगाडि बढाउने योजना मैले पनि बनाएको छु र यही संस्थालाई सृजनाशिलताको साझा चौतारी बनाएर अगाडि बढ्नेमा अरुको पनि सल्लाह भइसकेको छ ।
‘सृजनशिल पार्क’ बनाएर चित्रकारिता, कलाकारिता र साहित्यका गतिविधि गर्ने साझास्थल खडा गर्न साझा ‘ठाउँको खोजी ’सुरु भएको छ । पथरी बहुमुखी क्याम्पस, पञ्चायत उच्चमावि सहितका विद्यालयका चेतनाका संवाहकहरुसँग विचार विमर्श अघि बढ्नेछ । नगरपालिका कार्यालय र राजनीतिक दलहरुसँग पनि छलफल गरेर नगर क्षेत्रलाई सृजनशिलताको पहिचानका रुपमा अगाडि बढाउन सृजनशिल मनहरुलाई आव्हान समेत गरेका छौं ।
समाज परिवर्तनका लागि सृजना क्षेत्रको महत्वपूर्ण भूमिका रहन्छ । उपभोक्तावादले गाँज्दै गरेको परिवेशमा यहाँ धेरै होटलहरु छन्, चिल्ला सडक छन्, चिल्ला गाडी छन्, अग्ला अग्ला घरहरु छन्, ठूला ठूला व्यापार व्यवसाय छन् । यी सवैचिज यहीँका मानिसले आफ्ना लागि बनाएका छन् । बरु सम्पन्नका घरमा विदेशी महंगा रक्सी राख्न नसक्नु चाँही समय अनुसार पछि पर्नुहो भन्ने सोचाईका महलहरु तीव्रतर रुपमा थपिइरहेका छन् । महंगा रक्सीका ‘सोकेस’ को आवश्यकता नयाँ पुस्तामा सिकाइरहेछन्, बढाइराछन् तर यही वस्तीका कोठामा धेरैको पुस्तकालयका ‘र्याक’ छैनन् ।
त्यतिमात्र होइन यौटा पुस्तकालयै छैन । एउटा नाट्यशाला छैन, साहित्यिक गतिविधिको दर्विलो साझास्थल छैन । सवैको भलोका लागि दयालु मन सृजना गर्ने अनि पैसामुखी समाजलाई चेतनामुखी समाजमा रुपान्तरण गरेर मानवीय मुल्य मान्यताको वस्ती निर्माण गर्ने सृजनशिल गतिविधिको मुल मियाँे ‘साहित्य’ हराएको छ । नजिकैका उर्लाबारी, डाँगीहाट र बेलबारीका साहित्यिक गतिविधि हेर्दा लोभलाग्छ । आउनुहोस्, हामी यो नगरलाई सृजनात्मक नगरका रुपमा परिचित बनाऔं । सृजनशिलताले मान्छे अमर हुन्छ भन्ने पाठ घोकाइरहनका लागि नगरको पहिलेको सृजनसिलताको सक्रियतालाई निरन्तरत रुपमा जोड्दै थप उर्जासिल बनाऔं । पुरानो कोट लगाउ, नयाँ पुस्तक किन भन्ने गहन चेतनाको मर्ममा पुग्न हातेमालो गरौं ।
अर्थात मान्छे भएर मान्छे बाँच्नका लागि सृजनशिल मनको चौतारी खडा गरौं । मनले यसरी धेरै सोचिरहेको अवस्थामा श्रृखलाको पहिलो वसाईको अन्त्यतिर भर्खरै राष्ट्रियसभा सदस्यमा निर्वाचित सर्जक खेम नेपालीको शव्दलाई सर्जक देव गुरुङ्ले संगीत भरेर हामीलाई सुनाए र अग्रजप्रतिको अगाध श्रद्धा झक्झक्याउँदै सृजनाको तार झंक्रित गराए । आफ्ना अगाडि सवथोक भएपनि हामीले चिन्न नसकिरहेको पथरीशनिश्चरेकै सृजनाको कुरा विम्वका रुपमा यसरी स्मरण गराए :