सुनसरीको दुहबी नगरपालिका–९ स्थित छाताबेलीमा अज्ञात समूहले गोली हानी जय बाबा इँटा उद्योगका व्यवस्थापक मोहम्मद फिदा हुसेनको बुधबार हत्या भएको छ । दिनदहाडै सामान्य नागरिकको हत्याको घटनाले आम नागरिकमा त्रास फैलिएको छ ।
दुई महिनाअघि असोज ४ गते सुनसरीकै हरिनगरा–२ भुटाहाका खुर्सिद आलमको हत्या भयो । उनका हत्यारा अहिलेसम्म प्रहरीले पत्ता लगाउन नसकिरहेको अवस्थामा अर्को हत्याको घटना दोहोरिएको छ । दुवै घटनामा मुस्लिम समुदायका नागरिकको हत्या भएको छ ।
खुर्सिदको हत्यारा पत्ता लगाउन नसकिरहेको बेला पुनः अर्को घटना दोहोरिनुले सुनसरी अशान्त बन्दै गएको आभास हुन्छ । ४ दिनअघि प्रहरीले कोशी गाउँपालिकाबाट पेस्तोलसहित ३ जनालाई पक्राउ गरेको थियो । त्यसको भोलिपल्ट धरानबाट एक जना पेस्तोलसहित पक्राउ परेका थिए ।
यी घटनाको शृङ्खलाले सुनसरीमा हतियारधारीको चलखेल बढेको सहज अनुमान गर्न सकिन्छ । यस्ता आपराधिक घटना एकपछि अर्को घट्नुले प्रहरीको कमजोरी प्रष्ट हुन्छ । निश्चय नै निहत्था नागरिकमाथि गोली प्रहार गर्नु एउटा कायरतापूर्ण घटना हो ।
सामान्य नागरिकमाथि हत्याको शृङ्खला दोहो¥याउने जुनसुकै समूह वा व्यक्तिलाई जति निन्दा गरे पनि कमी हुन्छ ।
स्वतन्त्रपूर्ण जीवनयापन गर्न पाउने नागरिकको अधिकारलाई हरण गर्ने जोसुकै भए पनि निन्दनीय छ । यस्ता आपराधिक प्रवृत्तिका व्यक्तिलाई सुरक्षाको ठेक्का लिएको प्रहरी प्रशासनले तत्काल खोजी गरी कानूनी दायरामा ल्याउन सक्नु पर्दछ । नेपाल प्रहरी विश्वमा अनुसन्धानमा अब्बल मानिन्छ तर सुनसरीमा शृङ्खलाबद्ध भएका हत्याका घटनामा अपराधी पत्ता लगाउन नसक्नु प्रहरीको कमजोरी हो
। यसले प्रहरी प्रशासनको साख मात्र गिराउँदैन, अब नेपाल प्रहरी निकम्मा बन्दै गएको जनाउ पनि दिएको छ । विगतदेखि नै सुनसरीमा हतियारधारीहरूको चलखेल बढ्दै आएको प्रहरीलाई पक्कै सूचना पुगेको हुनु पर्दछ ।
केही दिनयता पेस्तोलसहित पक्राउ परेपछि प्रहरी ‘हाईअलर्ट’ मा रहनु पर्ने हो तर प्रहरीले ती घटनालाई नजरअन्दाजमात्र गर्नु विडम्बना हो । हत्या भयो, दोषी उम्कियो । सडक आन्दोलन हुन्छ, छानविन समिति बन्छ तर कार्यान्वयन हुन्न ।
यस्तो शृङ्खलाको पीडामा नागरिक कतिञ्जेल बाँच्ने ? सरकार अब पनि गम्भीर नहुने हो भने नागरिकको ज्यानको सुरक्षा चुनौती गम्भीर बन्दै गएको छ । यी घटनामा राज्य जिम्मेवार हुनु पर्दछ । मृतकलाई शहीद घोषणा, परिवारलाई १० लाख वितरण गर्ने काम मात्र सरकारको होइन । शान्ति सुरक्षा कायम गर्दै नागरिकको भरपर्दो सुरक्षा व्यवस्था गर्नु सरकारको जिम्मेवारी हो ।
दुहबी हत्याकाण्डका दोषीलाई पक्राउ गरी कानूनी कारबाही गर्न सक्नु पर्दछ । नागरिकलाई सरकार छ, प्रहरी प्रशासन छ । हामी सुरक्षित छौं । दोषी कानूनी कठघराबाट उम्कन पाउँदैन भन्ने भरपर्दो विश्वास दिलाउन सक्नु पर्दछ ।