टिभी हेर्न छिमेकीको घर गएकी विराटनगरकी बालिका रूपमती दास कहिल्यै नफर्किने गरी अलबिदा भइन् । मनोरञ्जनको प्यास मेट्न पुगेकी उनको मृत्युको कारण नै टिभी बनिदियो ।

खोला किनारमा उनको शव भेटिनु त्यसमा पनि बलात्कारको आशङ्का हुनुले हाम्रो समाजमाथि गम्भीर प्रश्न उठेको छ । केही महिनाअघि कञ्चनपुरको निर्मला पन्त बलात्कारपछि हत्याको घटनामा पनि यसै गरी प्रश्न उठेको थियो । त्यो घटना अझै सेलाउन पाएको छैन । त्यस्तै प्रकृतिको घटना पुनः हुनुले हाम्रो समाज कति असुरक्षित बन्दै छ भन्ने चित्रण गर्दछ ।

मनोरञ्जन गर्न पाउने अधिकार पनि मौलिक अधिकारभित्रको एउटा अङ्ग हो । १० वर्षीया बच्ची रूपमतीले मनोरञ्जन गर्न पाउने अधिकार राख्दिनन् त ? पक्कै पनि राख्छिन् । अभावका कारण उनको घरमा टिभी थिएन । अभावले मनोरञ्जन गर्न पाउने हक खोस्न पाउँछ त ? पाउँदैन । तर, यहाँ घटनाको प्रकृति हेर्दा त्यस्तै भएको छ ।

टिभीमार्फत् मनोरञ्जन लिन पुगेकी उनको ज्यान गएको छ । हेर्दा सामान्य लाग्छ । तर, यो घटनाले हाम्रो समाजप्रति थुप्रै प्रश्न तेस्र्याएको छ । हरेक घरका बालिकाहरू असुरक्षित बन्न थालेको सङ्केत यो घटनाले गरेको छ ।

समाज बनाउने हाम्रा अग्रजहरू, राजनीतिज्ञहरू, विद्वानहरू हामी कस्तो समाजको परिकल्पना गर्दै छौं यो कलियुगमा ? प्रविधिले विश्व एक गाउँ बनाएनको सन्दर्भमा हाम्रो समाज हरेक दिन भ्रष्ट र पतित हुँदै छ । हाम्रा समाजका संरचनाहरू भत्किदै छन् । एकले अर्कोलाई सहयोग गर्ने र दुःख पर्दा हेर्ने हाम्रो समाज एकपछि अर्को गरी तोडिदै छ । यो हुनुमा दोष कसको हो ? हामी हरेक दिन अपराधरहित समाजको परिकल्पना गर्दै छौं ।

तर, दिनदिनै अपराधका खाडलहरू बढ्दै छन् । हाम्रो समाजमा छोरीहरू गर्भमै मारिएको घटना नौलो छैन । तर, त्यही गर्भबाट जन्मिएका छोरीहरू अहिले विभिन्न कारणले हत्या गरिदै छन् ।

यो मनोदशाबाट हाम्रो समाज गुज्रिदै गर्दा पक्कै पनि केही अपराधको प्रकृति हेरी फाष्ट ट्रयाकमार्फत् टुङ्ग्याउने गरी कानून ल्याइनु पर्छ । भर्खरै संविधान जारी भएकाले त्यस संविधानले प्रद्दत गरेको अधिकारलाई थप बलियो बनाउनका लागि कार्यान्वयन तहमा पनि संसद्बाट केही अपराधमा फाष्ट ट्रयाक विधेयक पारित गर्नुपर्ने देखिएको छ ।

जस्तोः बलात्कार । देशमा बढ्दै गएको बलात्कार अन्त्यका लागि पनि फाष्ट ट्रयाकमार्फत् टुङ्ग्याउने कानून ल्याइनु पर्छ । र, दण्डको व्यवस्था पनि केही थप गरिनुपर्छ । चौतर्फी रूपमा आवाज उठिरहेका बेला यसतर्फ ध्यान दिने हो भने पक्कै पनि बलात्कार जस्तो जघन्य अपराध न्यूनीकरण हुन्थ्यो कि ?

यसका लागि राजनीतिज्ञ, नेता, तथा मन्त्रीहरूले बढीभन्दा बढी सोच्नु आवश्यक छ । अहिले धमाधम ऐन, कानूनहरू बनिरहेको सन्दर्भमा यतातिर पनि बहस चलाउन जरुरी भइसकेको छ । नत्र, कलिलैमा रूपमतीजस्ता बालिकाहरूको हत्या हुँदै जाने छ ।

र समाजको संरचना थप भत्कदै जाने छ । एउटा बालिका जन्माउनका लागि हरेक आमाबुबाले एक पटक सोच्नु पर्ने अवस्था आउने छ । त्यो अवस्था आउन नदिनका लागि पनि ऐन, कानून बनिरहेको सन्दर्भमै अगाडि बढाउनु पर्छ । किनकी फलाम तात्तिएको बेलामै पिट्दा आकार लिन्छ ।