राणाहरूको जहानियाँ हुकुमी शासनविरुद्ध आवाज बुलन्द गर्नेका मध्ये चार जनालाई विसं १९९७ सालमा मृत्युदण्ड दिइयो । विसं २००७ को क्रान्तिले कालो राणा शासन अन्त्य गरेको थियो । राणाहरुको हुकुमी शासनको अवसान पछि ती चार जना वीर सपुतहरूलाई ‘सहिद’का रूपमा सम्मान राज्यले ग¥यो । ती महान सहिदहरु हुन–धर्मभक्त माथेमा, गंगालाल श्रेष्ठ, दशरथचन्द ठाकुर, शुक्रराज शास्त्री । इतिहासका सच्चा सहिद यिनीहरुलाई मानिदै आएको छ । माघ १६ गते सबैले उनीहरुलाई सम्झने पनि गरेका छन् ।
विडम्बना भनौ या बाध्यता २०६२÷२०६३को लोकतान्त्रिक आन्दोलन पछि सहिद शब्द निकै सस्तीएको छ । माओवादी सशस्त्र विद्रोेह र त्यसपछिका आन्दोलनमा मरेका, मारिएका सबै ‘सहिद’ मा थपियो । अन्ततः सरकारले सशस्त्र विद्रोेहका क्रममा मारिएका २ हजार ८ सय ७ जना सुरक्षाकर्मीलाई पनि सहिद घोषणा ग¥यो । त्यस क्रममा मारिएका माओवादी लडाकुलाई त पहिले नै सहिद घोषणा गरिसकिएको छ । हुदा हुदा, दुर्घटनामा, कालगतिले मरेकासमेतलाई राज्य दवावमा परेर शहिद घोषणा गर्दै हिड्दा सहिद शब्द कै अपनाम भएको छ ।
इतिहासमा राणा शासनको अन्त्यमा लागि जीवनको आहुति दिने सहिदहरू भने नेपाली सबैका साझा भएका छन् । विगतमा सहिदको साँच्चै नै सम्मान हुन्थ्यो र तिनका सामु सबै नतमस्तक हुन्थे । तर, २०६३ पछि घोषणा गरिएको सूचीमा भएका नामहरू भने साझा र सबैको सम्मानका पात्र हुनसकेका छैनन् । कारण सबै सहिदहरु योगदानका आधारमा नभई राजनीतिक भागबण्डामा सहिद घोषणा गरिदा सच्चा सहिदको अपमान भएको छ ।
कुनै विश्वास वा सिद्धान्तका लागि जानीजानी जीवन सुम्पनेलाई सहिदको परिभाषामा पर्दछ । अर्थात देश काल परिस्थित र जनताका लागि हासी हासी जीवन आहुती दिन तयार हुने सहिद मान्न सकिन्छ । तर पछिल्लो समय कुनै मापदण्ड विना भकाभक सहिद घोषणा गरियो । भिडमा रमिता हेर्दा प्रहरीको गोलीले मरेको मानिस पनि सहिद घोषणा भए । माओवादी र सुरक्षाकर्मीविचको लडाईमा मर्ने पनि सहिद भए । उनीहरुलाई कर्तव्यपरायण वीर मान्न सकिन्थ्यो तर सहिदको संज्ञा दिनु किमार्थ उचित थिएन । तर राजनीतिक भागबण्डामा सबै सहिदका कोटामा परेका छन् । यसरी राज्यले एउटा कुनै मापदण्ड नबनाई कुनै समुहको आन्दोलनको वलमा सहिद बनाउन दवाव दिएको भरमा सहिद घोषणाले वास्तविक सहिदको अपमान भएको छ । राज्यको सञ्चालन विधि र विवेकमा नभई सनक र तजबिजमा आधारित भएको यस्ता गैरजिम्मेवार कामले देखाएको छ । अवका दिनमा सहिदको अपमान हुने कुनै किसिमको निर्णय नगर्नु नै बुद्धिमानी हुने छ ।