नेपालमा उच्चशिक्षा हासिल गरेका युवाहरूको जमात उच्च छ । ऋणपान गरेर भए पनि उनीहरूले उच्चशिक्षा हासिल गरेका छन् । तर विडम्बना भन्नु पर्छ, उनीहरूले दुःखले हासिल गरेको शिक्षा स्वदेशमा सदुपयोग गर्न सकेका छैनन् । सरकारको लगानीमैत्री, रोजगारमैत्री शिक्षा नहुँदा तथा लगानी गर्ने पूँजी अभावले शैक्षिक प्रमाण–पत्र पोको पारेर थन्क्याई विदेशमा मजदुरी गर्न जान बाध्य छन् । यो बाध्यताले मुलुकलाई निश्चय नै समृद्ध बनाउन सकिँदैन ।
 
रोजगारमुखी प्राविधिक शिक्षा आजको आवश्यकता हो । सरकारले ती विदेशमा मजदुरी गर्न पलायन भएका बेरोजगार युवाहरूलाई स्वदेशमा आत्मनिर्भर हुने योजना ल्याउन नसक्नु विडम्बना हो । सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’ को नारा अघि सारेको छ । यो नारालाई सार्थक बनाउन दैनिकजसो पासपोर्ट बोकेर विदेशिने नेपाली जनशक्तिलाई स्वदेशमै उद्योगी, व्यवसायी बनाउने नयाँ योजना ल्याउनु पर्दछ । अब सरकारले किञ्चित ढिलाइ गर्नु हुँदैन । स्थानीय सरकारले पनि बेरोजगार युवाहरूलाई स्वदेशमै उद्यम गर्न प्रोत्साहन गर्ने कार्यक्रम ल्याउनु पर्दछ । अनुदान, सहुलियत ऋणलगायतका कार्यक्रम ल्याउनु पर्दछ ।
 
तेह्रथुमको आठराई गाउँपालिकाले व्यवसाय गर्न चाहने युवाहरूलाई तालिम र लगानी गरिदिएर स्वरोजगार बनाउने योजना ल्याएको छ । गाउँपालिकाले पाँच वर्षभित्रमा सबै युवाहरूलाई स्वरोजगार बनाउने लक्ष्य लिएर केही गर्छु भन्ने जोश र जाँगर भएका युवाहरूलाई निःशुल्क तालिम र अनुदानमा रकम उपलब्ध गराउने गाउँपालिकाको निर्णय सकारात्मक छ ।
 
यो योजना सफल बनाउन १० लाख रकम विनियोजन गरिसकेका छन् । पूर्वको विकट गाउँबाट शुरु भएको योजना देशका कुनाकाप्चासम्मका सबै जनप्रतिनिधिहरूले लागू गर्न सक्नु पर्दछ । यही योजना कार्यान्वयनबाट राज्यको नारा सार्थक बनाउन सकिन्छ । सबै स्थानीय तह सुगम, सक्षम, स्वरोजगार, आत्मनिर्भर र समृद्ध यही योजनाबाट हुने कुरा हेक्का हुनु जरुरी छ ।