इतिहास खुल्ला पुस्तक मानिन्छ । इतिहास मेटिने हो भने भावी सन्ततीहरूले विगतको इतिहास हेर्न, पढ्न पाउँदैनन् । त्यसैले इतिहास र ऐतिहासिक पुरातात्विक महत्वका अवशेषहरू संरक्षण र सम्बद्र्धन गर्नुपर्छ । पुर्खाको चिनो भावी सन्ततीका लागि जोगाइराख्नु पर्दछ ।

सुनसरीको वराहक्षेत्र–१ चावाचा भन्ने स्थानमा रहेको ऐतिहासिक पुरातात्विक दरबारक्षेत्र संरक्षणमा स्थानीय तहको पुराताŒिवक विभागले बेवास्ता गर्नु विडम्बना हो । स्थानीय तहले चासो नदिँदा भग्नावशेषका बहुमूल्य पुराना सामग्रीहरू हराउन थालेका छन् ।

जङ्गलको बीचमा रहेको दरबारको भग्नावशेष कसको हो भनेर हालसम्म पहिचान हुन सकेको छैन । कम्तिमा चारसय वर्षदेखि पाँचसय वर्ष पुरानो पुरातात्विक क्षेत्र भएको स्थानीय बूढापाकाले बताएका छन् । यस्ता ऐतिहासिक क्षेत्रको सम्बन्धित विभागले अध्ययन, अनुसन्धान र उत्खनन् गर्न चासो नदेखाउनु किमार्थ राम्रो होइन ।

वराहक्षेत्र नगरपालिकाको जलकन्या सामुदायिक वन क्षेत्रभित्र रहेको भग्नावशेषमा १३ औं शताब्दीको इँटा, प्रस्तरकला, पहिचान गर्न नसकिएको तामाका सिक्का, तामा पगालेका धाउ, पर्खाल, हात्ती बाँध्ने साङ्ला, शिवका मूर्ति, प्वाँलोका माला, यत्रतत्र भेटिएका छन् । यस्ता बहुमूल्य वस्तुको संरक्षणमा स्थानीय सरकार र प्रदेश सरकारको आँखा नपुग्नु ठूलो कमजोरी हो ।

वराहक्षेत्र नगरपालिकाले पर्यटन प्रवद्र्धनका लागि करोडौं रकम खर्च गरेको छ । तर आफ्नो आँगनमा रहेको पर्यटक तान्ने सम्भावना बोकेको दरबार क्षेत्रको संरक्षणका लागि कुनै ठोस कदम नचाल्नु वराहक्षेत्र नगरपालिकाको कमजोरी हो । त्यहाँको दरबार संरक्षण गरेर वराहक्षेत्र, चतरासम्म पुग्ने धार्मिक पर्यटकहरूलाई त्यहाँसम्म पुर्याएर मुद्रा आर्जन गर्न सकिन्छ ।

यो दरबार क्षेत्रमा भएका बहुमूल्य सामग्रीको संरक्षण गरी यसलाई पुनःनिर्माण गर्न स्थानीय तहले बजेट छुट्याउनु पर्दछ । वर्तमान अवस्थामा नपाइने यहाँका बहुमूल्य सामग्रीको संरक्षण गरी आन्तरिक तथा वाह्य पर्यटकहरू भिœयाउन सकिने कुरालाई स्थानीय तथा प्रदेश सरकारले ध्यान पुर्याउनु बाञ्छनीय हुनेछ ।