मानिसलाई बासस्थान दिने, व्यापार–व्यवसाय चम्काउने, सवारीसाधन चलिरहने, दिनभर व्यस्त रहने एउटा जीवित शहर कस्तो हुनुपर्छ ? कुनै योजनाविद् वा आर्किटेक्टलाई अवश्य थाहा हुनुपर्छ र आधुनिक एवम् व्यवस्थित शहर विस्तारका लागि मिसन, भिजन र गोल भएका जनप्रतिनिधिहरूलाई पनि अवश्य थाहा हुनुपर्छ । पूर्वमा पछिल्लो एकदशकयता अव्यवस्थित रूपमा उदाउँदो व्यापारिक शहरको रूपमा इटहरीलाई धेरैले चिन्न थालेका छन् । खासगरी सुरक्षित रोजगार, बासस्थान, शिक्षा, स्वास्थ्य, सूचना, यातायताजस्ता सेवा सुविधाको अवसर खोज्दै देहातबाट आएकाहरू लामो समयदेखि कर्मभूमि बनाएर बस्नेहरूले शनैः शनैः आफ्नो आर्थिक हैसियतअनुसार अग्ला–अग्ला घरहरू निर्माण गर्दै गएपछि शहर बन्ने हो ।
हामी कस्तो शहरमा बस्ने कल्पना गर्दैछौं तर कस्तो बनिरहेको छ ? त्यतातिर भने कसैले ध्यान दिन भ्याएका छैनौं । बस् जग्गा दलालको माध्यमबाट किनेको जग्गामा माटोसमेत राम्ररी परीक्षण नगरी कङ्क्रिटको अग्लो घर ठड्याउन पाए भयो । स्थानीय तहमा रहेको घरनक्सा विभागले निर्धारित शुल्क लिएर पास गरिदिएपछि बस्न पाए पुग्यो । वार्षिक हजार घर निर्माणका लागि अनुमति लिन निवेदन दर्ता गराउनेहरूको लर्कोले इटहरीको शहरी मनोदशा छर्लङ्ग पार्छ । वास्तवमा भन्ने हो भने इटहरीको माटो शहर बसाउन नभई धान, मकै, जौ, गहुँ, सनपाट, उखु, उत्पादनका लागि उर्वर थलो हो । यद्यपि पूर्व–पश्चिम राजमार्ग निर्माण भएपछि विराटनगर रानीदेखि किमाथाङ्का जोड्ने उत्तर–दक्षिण राजमार्गका लागि इटहरी चौरस्ता बन्यो । चौरस्ता सडक आएपछि त्यसैको नजिकै उपभोक्ताहरूको भीड जम्छ, उपभोक्ताको भीडमा व्यापारीहरू आउने नै भए । इटहरी यसरी नै विस्तारै शहर बनेको हो । तर साँच्चैको आधुनिक, व्यवस्थित इटहरी शहर बनाउन न स्थानीय तहले ध्यान दियो, न त त्यहाँका बासिन्दाले । अहिले बिना योजना शहरीकरणको विस्तार भइरहेको छ । पछिल्लो समयमा समावेश भएका साविक गाविसका बासिन्दाहरू पनि आफूहरू इटहरी उपमहानगरपालिका वा इटहरी शहरको बासिन्दा भनेर चिनाउन पाए गर्व गर्न पुग्छन् । यो डरलाग्दो मनोसामाजिक अवस्था हो ।
स्थानीय तहमा जनप्रतिधिहरूले पद, कुर्सी र बजेट सम्हाल्न थालेको करिब डेढ वर्ष हुनलाग्यो । स्थानीय तह आफै नै स्थानीय सरकार हो । त्यहाँ पनि बोर्डमार्फत् व्यवस्थापिका, न्यायिक समितिमार्फत् न्यायपालिका र कार्यपालिका समितिमार्फत् कार्यपालिका हुन्छन् । सरकारका तीनवटै अङ्गको साझा निर्णयले आफ्नो क्षेत्रलाई कस्तो बनाउने ? कहाँ औद्योगिक क्षेत्र बनाउने ? कहाँ व्यापारिक क्षेत्र बनाउने ? कहाँ आवासीय स्थल बनाउने ? जस्ता योजना तयार गर्न सक्छन् । कङ्क्रिटको शहर बन्दै गरेको इटहरीका जनप्रतिनिधि, सरोकारवाला, उद्योगी, व्यवसायी, राजनीतिक दल र नीति निर्माण तहका प्रबुद्धहरूले इटहरीलाई व्यवस्थित शहर बनाउन किन चिन्ता नलिने ?