नेपालमा एउटा चर्चित उखान छ, ‘सानालाई ऐन, ठूलालाई चैन’। साना अर्थात् आर्थिक, सामाजिक रूपमा पछि परेकाहरूले जान, अनजानमा गरेका गल्तीमा ऐन, कानून लगाएर कडा कारबाही गरिन्छ तर ठूला अर्थात् आर्थिक, सामाजिक हैसियतमा माथि रहेकाहरूले जघन्य अपराध गरे पनि उनीहरूले उन्मुक्ति पाउँछन् भन्ने यसको तात्पर्य हो । उखानहरू समाजले स्विकार गरेका कथन हुन् । जुन लामो कालखण्डदेखि चलिआएका हुन्छन् । नेपालमा लामो समयदेखि पहुँचवालाहरूले अपराधबाट उन्मुक्ति पाउँदै आएका छन् । यसका उदाहरण खोज्ने हो भने अहिले पनि प्रसस्त भेटिन्छन् ।

अहिले नेपालमा पद, पैसा र प्रतिष्ठाका हिसाबले ‘ठूला’ अर्थात् पहुँचवालाहरू विभिन्न अपराधमा धमाधम पक्राउ परिरहेका छन् । पक्राउ परेका मध्ये पदका हिसाबले सबैभन्दा पहुँचवाला कृष्णबहादुर महरा हुन् । उनी सभामुख पदमा रहँदै पक्राउ परेका हुन् । देशको नीति नियम बनाउने संसदका सांसदहरूलाई समेत नैतिकता, नियम, कानूनमा राख्ने सभामुख महरा आफ्नै कार्यालयमा कार्यरत स्वास्थ्यकर्मी महिलालाई बलात्कार प्रयास गरेको अभियोगमा पक्राउ परेपछि उनी पहुँचका आधारमा सजिलै उम्किन्छन् भन्ने चर्चा पनि चलेको थियो । तर, बिहीबार काठमाडौं जिल्ला अदालतमा उनी विरुद्धको मुद्धा दर्ता भएको छ । महरालाई पाँच वर्षको सजाय माग दाबीसहित मुद्दा दर्ता गरिएको छ । यसबाट ठूलालाई पनि ऐन लाग्छ कि ? भन्ने आम जनमानसमा आशा पलाएको छ । तर, महराले आरोपबाट उन्मुक्ति पाउन विभिन्न प्रयास भने गरिरहेका छन् । महराले डीएनए परीक्षण गर्न अहिलेसम्म मानेका छैनन् । अदालतको आदेशसमेत अवज्ञा गरेर डिएनएका लागि रगत दिन इन्कार गरेका छन् । प्रहरीले अनुसन्धानका लागि महरालाई पोलिग्राफ टेस्ट गर्न खोजेपनि महराले त्यो पनि मानेका छैनन् भने महराले घटनाका बेला बोकेको मोबाइल फोन पनि लुकाएका छन् । यसरी उनी अहिले पनि उन्मुक्तिका लागि अनेक प्रयास गरिरहेका छन् । त्यसैले महरा विरुद्धको अभियोगमा राम्रोसँग अनुसन्धान हुनु जरुरी छ ।

यसपटक महरा मात्र होइन अन्य सांसदहरू पनि पक्राउ परेका छन् । कोही जिउँदै मान्छेलाई इटा भट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका छन् त कोही अन्य यस्तै आपराधिक क्रियाकलापमा संलग्न भएको अभियोगमा । यसपटक पहँुचवालाहरू नै पक्राउ परेको र कारबाही प्रक्रिया अघि बढेको देख्दा, सुन्दा आम नागरिकले शान्तिको सास फेर्न थालेका छन् । यसले गुम्दै गएको सरकारप्रतिको विश्वास पक्कै बढाएको छ । पक्राउ परेका पहुँचवालाहरूलाई गहिरो र आवश्यक अनुसन्धान गरी कारबाहीको दायरामा ल्याउनैपर्छ । त्यति गर्न नसके, देशको प्रहरी प्रशासन, न्यायालय र समग्र सरकारप्रति नागरिकको भरोसा टुट्न सक्छ । विभिन्न अभियोग लागेका नेता, ठूलाठालुलाई अनुसन्धान गर्न र दोषी भेटिए नलुकाई कडा कारबाही गर्न प्रहरी, न्यायालय र सरकार कतै चुक्नुहुन्न । अब ‘सानालाई ऐन, ठूलालाई चैन’ भन्ने उखान परिवर्तन गर्नु आवश्यक छ । त्यसका लागि राज्यको भूमिका प्रमुख हुन्छ । यसमा राज्य नचुकोस् । अपराधीले उन्मुक्ति नपाऊन् । साना, ठूला सबैलाई ऐन, कानून बराबरी लागू होस् ।