राष्ट्रिय गौरवको आयोजना भनिएको निर्माणाधीन विराटनगर–किमाथाङ्का जोड्ने ६ लेन सडक पछिल्लो समयमा मानिसको काल बनेर लम्पसार परेको भान भइरहेको छ । निर्माणाधीन सडककै कारण केही महिनायता २ जनाको मृत्यु भइसकेको छ । १० जना बढी घाइते भएका छन् । ठेकेदार कम्पनी र आयोजनाका पदाधिकारीको चरम लापरवाहीले यस्ता मृत्युका घट्ना दोहोरिने गरेका छन् ।
ठेकेदार कम्पनीले सडक निर्माण गर्ने सिलसिलामा जता ततै खन्ने, गहिरो खाडल त्यतिकै छाढ्ने, ड्रेन तयार गर्ने तर त्यसमाथि स्लाव नराख्ने, विद्युत्का पोलहरू नसारेर बीचमै राख्ने जस्ता लापरवाहीले अकालमा ज्यान गुमाउनेहरूको सङ्ख्या थपिदै गएपछि स्थानीय बासिन्दामा चिन्ता थपिएको छ । सडकबीचमै अपूरो निर्माण गरी छाडिएका स्थानहरू पैदलयात्रु, साइकल यात्री, मोटरसाइकल चालकका लागि अहिले धराप बनिरहेका छन् । आयोजना कार्यालयको लापरबाही, निर्माण कम्पनीको ढिलासुस्ती र गैह्रजिम्मेवारीका कारण ६ लेन सडक ज्यानमारा बन्दै गएको छ । एसियाली विकास बैङ्क (एडिबी) को ऋण सहयोगमा सरकारले विराटनगरदेखि सुनसरीको धरानसम्मको कुल ४९ किलोमिटर सडक ६ लेनको विस्तारका लागि कुल १० अर्ब ५८ करोड रुपैयाँ लागतमा काम शुरु गरेको थियो । ठेकेदार कम्पनी आयोजना बीच ड्रेन भित्री पर्खाल प्लास्टर गरेपछि मात्रै ढलान गर्नुपर्ने सम्झौता भए पनि त्यसो नगरेको विषयमा सरकारी निकायले भने अनुगमन नगर्दा मानवीय दुर्घटना बढ्न थालेको मान्न सकिन्छ । सुनसरीको खनार क्षेत्रको ड्रेनमा आवत–जावत गर्ने क्रममा १० जनाभन्दा बढी खसेर घाइते भएका छन् । निर्माणाधीन सडकको खनारस्थित डू«ेनमा खसेर पूर्वराष्ट्रिय खेलाडी शम्भु बास्तोलाको मृत्यु भएपछि खनार क्षेत्रमा स्थानीयले आपत्ति जनाइसकेका छन् । उनीहरूको आपत्ति पछि ड्रेनमा तत्काल स्ल्याव लाउने सहमति भए पनि अहिलेसम्म राम्ररी स्ल्याव नलगाएको खनारका स्थानीयबासीन्दाले गुनासो सुनाउन थालेका छन् ।
आयोजना र ठेकेदार कम्पनीको चरम लापरवाहीले स्थानीय झपडबहादुर बस्नेतको पनि अकालमा मृत्यु भयो । तरहराकै स्थानीय भीषण खड्का सडककै नालामा मोटरसाइकलसहित डुबेर घाइते भए । अहिले उनको कुमको नै नचल्ने भएको छ । बास्तोला र बस्नेतको अकाल मृत्युको कारण अरू केही नभएर निर्माणाधीन ६ लेन सडक हो, जहाँ दैनिक हजारौं पैदलयात्री, सैयौं सवारी साधन ओहोर दोहोर गरिरहेका हुन्छन् । कुनबेला कुन खाल्डोमा झरिने पत्तै पाउँदैनन् । आयोजना र ठेकेदार कम्पनीकै लापरवाहीले अपुरो सडककै कारण अकालमा मृत्यु भएकालाई ठेकेदार कम्पनीले क्षतिपूर्ति दिनुपर्छ कि पर्दैन ? घाइतेहरूको उपचारको व्यवस्था गर्ने दायित्व पूरा गर्नुपर्छ कि पर्दैन ? सडक निर्माण गर्दा खाल्डो भए सर्वसाधारण यात्रुलाई सचेत गराउने ट्राफिक सङ्केत वा सूचना राख्नु, पैदल यात्रीका लागि सुरक्षा अपनाउनु ठेकेदार कम्पनीको दायित्व हुँदाहुँदै पनि बेवास्ता गर्दा सर्वसाधारण अनाहकमा मृत्युको मुखमा परेका छन् । कतिपय मुलुकमा निर्माणाधीन अवस्थामा ठेकेदार कम्पनीको लापरवाहीले सर्वसाधारण पैदल यात्रुको मृत्यु भए त्यसको जिम्मा कम्पनीले लिने र उसलाई कारवाहीको भागिदार बनाइन्छ । सडक निर्माणको ठेक्का लिएर अपुरो अवस्थामा छाड्ने र ढिलासुस्ती गर्ने चलनले निर्माणाधीन विराटनगर–किमाथाङ्का ६ लेन सडक सर्वसाधारण पैदल यात्रुका लागि एम्बुस बनेको विषयमा राज्य बेखबर हुनु दुर्भाग्यपूर्ण भएको छ । विराटनगर–किमाथाङ्का ६ लेन सडक जस्तो गौरवको योजनालाई एम्बुस बन्न नदिन सरकारले आयोजनाका पदाधिकारी र ठेकेदार कम्पनीलाई सावधानी अपनाउन लगाउनु र काम चाँडो सक्न दबाव दिनुको विकल्प छैन ।