मुुलुक एक्काइसौँ शताब्दीमा हिंडिरहेको अवस्था छ । मुलुक वैज्ञानिक समाजवाद तर्फ उन्नुमख छ । दुई तिहाई सरकारको नेतृत्व गरेको सत्तारुढ दलको अन्तिम लक्ष्य नै वैज्ञानिक समाजवाद रहेको छ । कागजमा समाज चेतनशील बने पनि नेपाली समाजलाई विभिन्न अन्धविश्वासी घटना परिघटनाहरू दोहोरिइरहनु विडम्बना हो । विकसित मुलुकहरूको लगानीमा सामाजिक अभियानहरू चलेका छन् । समाज परिवर्तनका लागि अभियान नचलेका पनि होइनन् । तर, विडम्बना भन्नु पर्दछ, समाजमा अन्धविश्वास कुरीति, कुसंस्कारको छायाँ अझै बिलाएका छैनन्। महिला अधिकारका ठूला नारा लगाइरहँदा महिलामाथि बोक्सीको आरोपमा अमानवीय हिंसाको श्रृंखलाहरू अखबारका पानामा रङ्ंगिनु किमार्थ सुखद् सन्देश होइन ।

नेपालको संविधानले महिला अधिकारबारे स्पष्ट व्यवस्था गरेको छ । कुनै पनि महिलालाई लान्छना वा आरोप लगाउने, मानसिक शारीरिक यातना दिने विरुद्ध कारवाही गर्ने कडा कानुन पनि छ तर तिनै महिला दैनिक जसो बोक्सीको आरोपमा प्रताडित भइरहनु परेको छ । महिला बोक्सीको आरोपमा कुटिनु पर्ने, मलमुत्र खानु पर्ने, आगोमा जलिनु पर्ने श्रृङ्खला जारी छ ।पाँचथरको याङ्वरक गाउँपालिका–२ फलैंचामा एक महिलालाई बोक्सीको आरोप लगाउँदै मानसिक तथा शारीरिक यातना दिइएको घट्ना हालै सार्वजनिक भएको छ । ससुरा कान्तप्रसाद गिरी आफैले बुहारीलाई यातना दिंदै निर्घात कुटपिट गरेको घट्ना सार्वजनिक भएको छ । फलाम आगोमा तताएर डाम्न खोजेपछि फुत्किएर भागेर माइतीको शरणमा पुगेको घट्नाले जो कोहीको आङसिरिङ् हुन्छ । समाज परिवर्तनको बाटोमा गएको फलाकिरहदा झन् मानिस सम्वेदनाहीन हुँदै गएको, हत्या बलात्कारजस्ता जघन्य अपराधमा संलग्नताले समाज परिवर्तनको बाटोमा गएको मान्न सकिँदैन ।

कतिपय एकै प्रकृतिका घट्ना बारम्बार दोहोरिनुमा दोषीले सजाय पाउनपर्ने कानुन फितलो भएका कारण हो । यस्ता अमानवीय व्यवहार गर्ने जोकोहीलाई कडा कानुन बनाएर सजायको भागीदार बनाउनु पर्दछ । ता की,मान्छेका नाममा यस्ता कलङ्कहरूले समाजमा शिर ठाडो पारेर हिंड्न नसकुन् । ती महिलालाई अमानवीय व्यवहार गर्ने ससुरा कान्तप्रसाद र छिमेकी महेन्द्रप्रसाद पौडेल तथा उनका श्रीमान्लाई तत्काल कानुनी दायरामा ल्याउनु पर्दछ । समाजमा व्याप्त माहिला माथि हुने अत्याचारको पर्खाल भत्काउन कानुनको प्रभावकारी कार्यन्वयन जरुरी भएको छ ।