विजयपुर । आन्तरिक राजस्व कार्यालय धरानले वार्षिक रूपमा गर्ने बजार अनुगमन गरिरहेको छ । कार्यालयले बिहीबार सुनसरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूकै फर्ममा अनुगमन गरेको छ । अनुगमनमा सङ्घका नेतृत्वले नै कर ऐन उल्लङ्घन गरी कर छली गरेको पाइएको कार्यालयले जनाएको छ ।

सरकारले राजस्व चुहावट नियन्त्रणका लागि आर्थिक वर्ष २०७९/८० लाई बजार अनुगमन वर्षको रूपमा मनाउन घोषणा गरे अनुरूप आन्तरिक राजस्व कार्यालय धरानले बजार अनुगमन गर्दै आएको छ । कार्यालयले साउन १ गतेदेखि नै बजार अनुगमन गर्दै आएको छ ।

बजार अनुगमनका क्रममा कर ऐन उल्लङ्घन गर्नेलाई कार्यालयले कारबाही पनि गर्दै आएको छ । राजस्व कार्यालयले अवैध व्यवसाय गर्नेहरूलाई कारबाही गर्न थालेपछि सुनसरी उद्योग वाणिज्य सङ्घका पदाधिकारीहरूले आपत्ति जनाएका थिए । कार्यालयले उद्योगी व्यापारीहरूलाई कारबाही गर्न थालेपछि उद्योग वाणिज्य सङ्घका नेतृत्व जरिबाना नगर्न दबाव स्वरूप आन्तरिक राजस्व कार्यालय पुगेको स्रोतले बताएको छ ।

स्रोतका अनुसार सङ्घका नेतृत्वहरू जरिबाना नगर्न दबाव दिन गएपछि कार्यालयले पदाधिकारीको नै अनुगमन सुरु गरेको स्रोतले बताएको छ । अनुगमनका क्रममा पदाधिकारीहरूले नै कर ऐन उल्लङ्घन गरेको पाइएको आन्तरिक रजस्व कार्यालयले जनाएको जनाएको छ ।

आन्तरिक राजस्व कार्यालय धरानका प्रमुख कर अधिकृत गोविन्दराज आचार्यका अनुसार सुनसरी उद्योग वाणिज्य सङ्घको १४ जना पदाधिकारी तथा कार्यसमिति सदस्यको फर्ममा अनुगमन गर्दा ८ जनाले कर ऐन उल्लङ्घन गरेको पाइएको हो । उनले कार्यसमिति सदस्यहरूले खातापाता अद्यावधिक नगरेको साथै बिलविजक जारी नगरी कारोबार गर्ने गरेको पाइएको बताए । उनले भने, ‘सुरुमा नवनिर्वाचित पदाधिकारीको फर्ममा अनुगमन गर्दा अन्य व्यापारीको व्यवसायमा पनि अनुगमन गर्न सघाउ पुग्छ भनेर उनीहरूकोमा अनुगमन गरेको हो ।’

तर, पदाधिकारीहरूले पनि कर ऐन उल्लङ्घन गरेको पाइएको उनले बताए । पदाधिकारी तथा कार्यसमिति सदस्यहरूलाई ऐन उल्लङ्घनको प्रकृतिअनुसार १० हजारदेखि ३० हजारसम्म जरिबाना गरेको उनले बताए । चालु आर्थिक वर्षमा कार्यालयले ४० करदाताहरूको फर्ममा अनुगमन गरेको छ । उनीहरूबाट जरिबानाबापत ४ लाख ४० हजार रुपैयाँ राजस्व सङ्कलन गरेको छ ।

४० करदातामध्ये ४० प्रतिशतले कर ऐन उल्लङ्घन गरेका छन् । ऐनविपरीत व्यापार गर्नेलाई आयकर ऐन २०५८ र मूल्य अभिवृद्धि कर ऐन २०५२ अनुसार १० देखि ३० हजारसम्म जरिबाना गरिएको छ ।

सुर्तीजन्य वस्तुको अवैध कारोबार गर्नेलाई जरिबाना
अवैध रूपमा सुर्तीजन्य वस्तुको कारोबार गर्ने ६ करदाता कारबाहीमा परेका छन् ।

करदाताले अवैधरूपमा सुर्तीजन्य सामग्री आयात गरी बिक्रीवितरण गर्नेलाई पक्राउ गरी कारबाही गरेको आन्तरिक राजस्व कार्यालय धरानले जनाएको छ ।

अवैधरूपमा कारोबार गर्नेमध्ये केहीलाई बिगो बराबरको जरिबाना गरेको कर अधिकृत आचार्यले बताए । उनका अनुसार २ लाख ९५ हजार जरिबाना गरिएको छ । केहीलाई ६ लाख धरौटीमा अनुसन्धान भइरहेको छ । उनले भने, ‘२ लाख ९५ हजार जरिबाना गरेर दाखिला गरिसक्यौं । ६ लाख बराबर धरौटीमा राखेर अनुसन्धान भइरहेको छ ।’

६ जना करदाताबाट ३ हजार ६ सय किलो अवैध सुर्तीजन्य वस्तु बरामद भएको उनले बताए । उनीहरूले ती वस्तुको अवैधरूपमा कारोबार गरेको पुष्टि भएमा लिलाम गर्ने वा नष्ट गरिनेछ । सिरहाबाट त्यस्ता वस्तु ल्याउने भएकाले उताबाट रिपोर्ट आएपछि अवैध वा वैध पुष्टि हुने उनले बताए । अवैध पुष्टि भएमा धरौटी जफत हुने र बिगो बराबरको जरिबाना हुन्छ ।