धनकुटा ।  भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनकुटाले अघिल्लो आर्थिक वर्षमा सञ्चालन भएका कार्यक्रमहरूको प्रगति समीक्षा तथा चालु आ.व.०७९/८० मा सञ्चालन हुने बजेट, नीति तथा कार्यक्रमहरू बुधबार धनकुटामा सार्वजनिक गरेको छ । 

धनकुटा र तेह्रथुम जिल्ला कार्यक्षेत्र रहेको भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र धनकुटाले चालु आ.व.मा ८ करोड, ४९ लाख, ६१ हजार बराबरको ३५ वटा बजेट, नीति तथा कार्यक्रमहरू सञ्चालन गर्ने गरी बजेट, नीति तथा कार्यक्रमहरू सार्वजनिक गरेको हो । जिल्ला समन्वय समिति धनकुटाको समन्वयमा जिल्लाको ७ स्थानीय तहका प्रमुख, उपप्रमुख तथा सरोकारवाला र स्थानीय सञ्चारकर्मीहरूको उपस्थितिमा भेटेरिनरी अस्पताल तथा पशुसेवाविज्ञ केन्द्र धनकुटाका प्रमुख लोकनाथ ढुङ्गानाले बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा केन्द्र प्रमुख ढुङ्गानाले पीपीआर रोग नियन्त्रण, खोरेत रोग नियन्त्रण, द्वन्द्व पीडित पशुपन्छी पालन कार्यक्रम, युवालक्षित पशुविकास कार्यक्रम, दूध उत्पादनका आधारमा अनुदान कार्यक्रम, पशु बिमासम्बन्धी कार्यक्रमलगायतका गरी ३५ वटा शीर्षकमा कार्यक्रम गरिने जानकारी दिए । केन्द्रले आ.व.०७८/७९ मा सञ्चालन गरेको बजेट तथा कार्यक्रमहरूको प्रगति विवरणसमेत सो अवसरमा सार्वजनिक गरिएको थियो ।     

कार्यक्रम सफलताको लागि शुभकामना मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि प्रदेश नं. १ प्रदेशसभाका न्याय, प्रशासन तथा विधायन समितिका सभापति इन्द्रमणि पराजुलीले देशमा अझै पनि ठूलो मात्रामा दैनिक उपभोग्य वस्तुहरू आयात हुने गरेको बताउँदै त्यसको विस्थापनका लागि उत्पादनमा जोड दिनुपर्ने बताए । पराजुलीले काम गर्नेलाई अनुुदान र सहयोग गर्नुपर्ने र कागजीरूपमा मात्र काम गर्ने प्रवृत्तिका व्यक्ति वा सङ्घ–संस्थाहरूलाई निरुत्साहित गर्नुपर्नेमा जोड दिए ।

त्यसैगरी कार्यक्रमका सभापति तथा जिल्ला समन्वय समिति धनकुटाका प्रमुख निरेन तामाङले उत्पादनको क्षेत्रमा आधुनिक प्रविधिको प्रयोगलाई बढाउँदै लैजानु पर्नेमा जोड दिए । नयाँ–नयाँ सीप र प्रविधिको प्रयोग गरेर दैनिक उपभोग्य वस्तुहरूको उत्पादन गर्नसके आर्थिक रूपमा जो कसैलाई पनि बलियो हुन मद्दत पुग्ने समन्वय प्रमुख तामाङको भनाइ थियो ।

कार्यक्रममा जिल्ला सहकारी सङ्घ धनकुटाका अध्यक्ष खगेन्द्रप्रसाद सुवेदी, नेपाल पत्रकार महासङ्घ धनकुटा शाखाका अध्यक्ष नगेन्द्र राई, चौबिसे गाउँपालिकाका अध्यक्ष राजकुमार चेम्जोङ्गले कृषि पेशालाई अब निर्वाहमुखी पेशाबाट व्यावसायिक बनाउन आवश्यक रहेको औंल्याएका थिए । उनीहरूले कार्यक्रमलाई व्यवस्थित र व्यावसायिक बनाउन सुझाव दिएका थिए ।

कार्यक्रममा प्रदेशसभा सांसद् निरन राई, लीला सुब्बा, बिनादेवी राई, कुसुम श्रेष्ठ, हिमादेवी बस्नेत, धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङ, पाख्रीबास नगरपालिकाका मेयर ज्ञानबहादुर गुरुङ, महालक्ष्मी नगरपलिकाकी उपमेयर मञ्जु अधिकारी, छथरजोरपाटी गाउँपालिकाकी उपाध्यक्ष गीता गुरुङ खेवासहित विभिन्न सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरू, सहकारी सङ्घ–संस्थाका प्रमुख तथा प्रतिनिधि, कृषकसँग सम्बन्धित सङ्घ–संस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

त्यसैगरी भेटेरिनरी अस्पताल तथा पशु सेवाविज्ञ केन्द्र धनकुटा तथा सम्पर्क कार्यालय तेह्रथुमको आयोजनामा बिहीबार तेह्रथुमको म्याङ्लुङ बजारमा आ.व.०७९/८० को वार्षिक बजेट, नीति तथा कार्यक्रम सार्वजनिक भएको छ ।

केन्द्रका प्रमुख लोकनाथ ढुङ्गानाले सरोकारवाला निकायका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थितिमा अघिल्लो वर्षको प्रगति प्रतिवेदन सार्वजनिक गर्दै चालु आ.व.को बजेट नीति तथा कार्यक्रम सार्वजनिक गरेका हुन् । सो अवसरमा धनकुटा केन्द्रले तेह्रथुमको म्याङ्लुङमा रहेको सेवा केन्द्रका ५ जना  प्राविधिक जेटी र जेटिएलाई सामग्री तथा उपकरणहरूसमेत वितरण गरिएको पशु विकास अधिकृत नवीन वैद्य तामाङले ब्लाष्टलाई जानकारी दिए ।